इजरायल–हमास द्वन्द्वले रुस–युक्रेन युद्धबाट विश्वको ध्यान हटेको जेलेन्स्कीको गुनासो
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गाजामा इजरायल र हमासबीचको द्वन्द्वले रुस–युक्रेन युद्धबाट विश्वको ध्यान हटेको बताएका छन् ।
उनले भने – यो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘एक लक्ष्य’ हो। पुटिनले सन् २०२२ मा युक्रेनविरुद्ध ठूलो युद्ध सुरु गरेका थिए ।
युक्रेनका शीर्ष जनरलहरूको मूल्याङ्कनका बाबजुद, जेलेन्स्कीले रुस-युक्रेन युद्ध रोकिएको कुरालाई अस्वीकार गरेका छन्।
युक्रेनले रुससँगको युद्धको क्रममा दक्षिणमा गरेको प्रतिआक्रमणले खासै नतिजा ल्याउन सकेको छैन। जसका कारण युक्रेनका सहयोगी पश्चिमी देशहरूमा एक प्रकारको थकान र उदासीनता देखिएको छ ।
यसैबीच, शनिबार अर्को घटनाक्रममा युक्रेनका रक्षामन्त्रीले माउन्ट असल्ट ब्रिगेडका सैनिकहरू मारिएको पुष्टि गरेका छन्। यद्यपी उनले कति सैनिक मारिएका छन् भन्ने खुलाएका छैनन् ।
युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले यो दुःखद घटना भएको र यसबारे राम्ररी अनुसन्धान गरिने बताएका छन् । युक्रेनी मिडिया रिपोर्टका अनुसार फ्रन्टलाइन नजिकैको एउटा गाउँमा अभिनन्दन कार्यक्रमको क्रममा २० सैनिकको मृत्यु भएको थियो।
यद्यपि यस घटनाको बारेमा धेरै जानकारी प्राप्त भएको छैन। युक्रेनी सेनाले यसका लागि रुसको मिसाइल आक्रमणलाई दोष दिएको छ ।
अर्कोतर्फ रुसले पनि युद्धको वर्तमान अवस्थालाई स्थिरता भन्न नसकिने विश्वास गरेको छ । बिहीबार पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युद्धका लागि जुनसुकै लक्ष्य राखिएको छ, त्यो हासिल गर्नुपर्ने बताएका थिए।
“युद्धको मैदानमा युक्रेनी विजयको बारेमा सोच्नु पनि बेकार हो,” उनले भने।
Facebook Comment