इजरायलले पहिलो पटक बमबारी रोक्यो, उत्तरी गाजा खाली गर्न म्याद थप्यो

डिसी नेपाल
२३ कार्तिक २०८० ११:००

काठमाडौं । उत्तरी गाजा छोडेर दक्षिणतर्फ जान इजरायली सेनाले चार घण्टाको लागि राजमार्गमा बमबारी बन्द गरेकोमा यो अवधि एक घण्टा बढाएको छ ।

बुधवार, इजरायली सेनाले पहिलो पटक बम विष्फोटमा छोटो विराम (पज) लगाएको थियो ताकि मानिसहरूलाई इलाका छोड्न सुरक्षित बाटो दिन सकियोस्।

इजरायलको रक्षा मन्त्रालयले भन्यो ‘आइडीएफले आज धेरै मानिसहरू दक्षिणमा जान सक्ने गरी खाली गर्ने समय एक घण्टा बढाएको छ।’

गाजामा उपस्थित बीबीसी संवाददाता रुश्दी अबु अलुफका अनुसार इजरायली बमबारीको एक महिनामा आज सबैभन्दा कम बमबारी भएको पहिलो पटक हो।

गाजा सहरको मध्य गाजाका तीनवटा ठूला क्षेत्रहरूमा यो विश्राम दिइएको थियो।

हजारौं मानिसहरू सालाह अल-दिन राजमार्ग हुँदै पैदल दक्षिणतर्फ लागिरहेका छन्। यसलाई मानवीय विराम भनिएको छ, जसको बारेमा अमेरिकाले विगत केही दिनदेखि कुरा गरिरहेको थियो।

आज कति मानिसले उत्तरी गाजा छाडेका छन् भन्ने तथ्याङ्क भने फेला परेको छैन तर संयुक्त राष्ट्रसंघले मंगलबार यो संख्या १५ हजार रहेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघले भनेअनुसार पैदल हिँडेका मानिसहरू इजरायली चेक प्वाइन्टबाट जानुपरेको थियो जहाँ केहीलाई पक्राउ गरिएको थियो।

केही व्यक्तिहरूले एपी समाचार एजेन्सीलाई भनेअनुसार उनीहरू सेतो झण्डा बोकेर इजरायली ट्याङ्कहरूको अगाडिबाट गुज्रनुपरेको थियो।

गाजा पट्टीको उत्तरी क्षेत्रमा अझै पनि लाखौं मानिस उपस्थित रहेको विश्वास गरिन्छ।

अधिकारीहरुका अनुसार इजरायली बमबारीमा मृत्यु हुनेको संख्या १० हजार ५६९ पुगेको छ । मृत्यु हुनेमा ४३२४ बालबालिका रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *