अमेरिकी विदेशमन्त्री ब्लिन्केनको प्रश्न, ‘जबसम्म बन्धकहरू हमासको कब्जामा छन्, युद्धविराम कसरी हुन्छ ?’
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिका र इजरायलले अक्टोबर ६ को अवस्था फर्काउन नसकिने बताएका छन् ।
उनले हमासले इजरायलमा आक्रमण गरेको मितिलाई संकेत गरिरहेका थिए। यो हमला अक्टोबर ७ मा भएको थियो । आक्रमणमा १४०० जनाको मृत्यु भएको थियो र हमास लडाकुहरूले धेरै मानिसहरूलाई बन्धक बनाएका थिए।
इजरायली सेनाले बन्धकहरूको संख्या २ सय ४० जना बताएको छ । त्यसयता इजरायलले गाजामा हमासविरुद्ध अभियान चलाइरहेको छ।
अमेरिकी विदेशमन्त्रीले भने, “हामी सबै यो द्वन्द्व जतिसक्दो चाँडो अन्त्य होस् भन्ने चाहन्छौं ताकि नागरिकको पीडा कम होस्।”
तर तत्काल युद्धविरामको लागि आह्वान गर्नेहरूले यसपछि आउने ‘अस्वीकार्य नतिजाहरू’ कसरी सामना गर्ने भनेर पनि व्याख्या गर्नुपर्ने उनले बताए ।
उनले भने ‘हमासले २०० भन्दा बढी बन्धकहरूलाई कब्जामा लिएको छ र अक्टोबर ७ जस्ता आक्रमणहरू दोहोर्याउने योजना बनाएको सम्भाव्यता प्रकट भएको छ।’
ब्लिन्केनले भने, ‘यस्तो संकट कहिल्यै नआओस् भन्ने सुनिश्चित गर्ने एउटै उपाय भनेको दिगो शान्ति र सुरक्षाको अवस्था सिर्जना गर्नु हो।’
एन्टोनी ब्लिन्केन टोकियोमा भएको जी–७ बैठकपछि पत्रकारहरुलाई सम्बोधन गर्दै थिए ।
जापानको टोकियोमा जारी जी–७ देशको बैठकमा गाजामा देखिएको मानवीय संकटबारे तत्काल कदम चाल्न जोड दिइएको छ ।
Facebook Comment