साउदीले बोलायो इस्लामिक देशहरूको संगठनको ‘असाधारण’ बैठक
काठमाडौं । गाजामा जारी इजरायली बमबारीका बीच साउदी अरबले इस्लामिक देशहरूको संगठन ओआईसीको ‘असाधारण बैठक’ बोलाएको छ ।
ओआईसीले दिएको जानकारी अनुसार यो बैठक नोभेम्बर ११ मा रियादमा हुने भएको छ ।
ओआईसीले आफ्नो विज्ञप्तिमा भन्यो, “प्यालेस्टिनी जनतामाथि इजरायलको बढ्दो आक्रमणलाई ध्यानमा राख्दै, इस्लामिक सहयोग संगठन (ओआईसी) ले साउदी अरेबियाको निमन्त्रणामा नोभेम्बर ११, २०२३ मा रियादमा असाधारण इस्लामिक शिखर सम्मेलन गर्दैछ। ।”
अक्टोबर ७ मा प्यालेस्टिनी चरमपन्थी संगठन हमासले इजरायलमा आक्रमण गरेको थियो । जसमा १४ सयभन्दा बढीको मृत्यु भएको थियो । हमासका लडाकुहरूले करिब २०० जनालाई बन्धक बनाएका थिए ।
यसको जवाफमा इजरायलले गाजामा एक महिनाभन्दा बढी समयदेखि हवाई हमला गर्दै आएको छ । यी आक्रमणमा हालसम्म १० हजार ५०० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । जसमध्ये करिब साढे चार हजार बालबालिका छन् ।
साउदी अरेबियाको निमन्त्रणामा गत आइतबार पनि ओआईसीले असाधारण बैठक बोलाएको थियो ।
ओआईसीको विज्ञप्ति अनुसार यस बैठकमा प्यालेस्टाइनी जनतामाथि इजरायलको क्रूरतामाथि छलफल भएको थियो ।
Facebook Comment