सवारी कानूनमा मनपरी हुँदा

अधिवक्ता सुधिज्ञ पन्त
२५ कार्तिक २०८० ७:१७

सवारीसम्बन्धी ऐन कानूनका अरु ठूला ठूला कुरा अहिले नगरौं। सामान्य हेलमेटसम्बन्धी व्यवस्थालाई मात्र हेरौं र दुर्घटनमा मरेका व्यक्तिहरुको तथ्यांक हेर्‍याैं भने लापरवाहीले सयौंको जीवन अकालमा गइरहेको देखिन्छ।

मोटरसाइकलमा चालकले मात्र हेलमेट लगाएको तर सवारीमा बस्ने अन्य मानिस चाहे त्यो बच्चा नै किन नहोस् कसैले पनि हेलमेट लगाएको हुँदैनन्। एउटै सवारीमा बस्ने चालकले हेलमेट लगाउनु पर्ने र अन्य मानिसले नगलाउनु पर्ने भन्ने तर्कपूर्ण अर्थ लगाउन सकिने अवस्था छैन।

चालक बढी जोखिममा हुने र उक्त सवारीमा सवार अन्य मानिस कम जोखिममा हुने भन्ने तर्क समेत कतै गर्न मिल्दैन। हिजो आज चाडबाडको मौसममा त झन पुरै परिवार, बुबा, आमा, छोरा, छोरी नै मोटरसाइकलमा सवार गरेको तर चालकले मात्र हेलमेट लगाएको प्रसस्त देख्न सकिन्छ।

मोटरसाइकल चालकलाई सवारी कुन गतिमा चल्दैछ, कस्तो समस्या आइपर्न सक्छ भन्ने उक्त सवारीमा सवार अन्य मानिस भन्दा केही हदसम्म बढी जानकारी हुने भए पनि दुर्घटना हुँदा सवारी चालकले ज्यान गुमाउनु वा अंगभंग हुने गरेको तथ्य हामी सामु छ।

सवारी कुन गतिमा चलेको छ, सवारी चालकको नियन्त्रणमा छ, छैन र कस्तो परिस्थिति आउन सक्छ भन्ने कुनै अनुमान नै गर्न नसक्ने उक्त मोटरसाइकलमा सवार अन्य मानिस दुर्घटना हुँदा ज्यान गुमाउने वा अंगभंग हुने जोखिम सवारी चाककको भन्दा बढी रहँदा समेत सम्बन्धित जिम्मेवार निकायले हेलमेटको प्रयोग गर्ने व्यवस्था कार्यान्वयन गर्न सकेको छैन भने जनमानसमा समेत हेलमेट प्रयोग गर्ने संस्कृति छैन।

हेलमेटको प्रयोग अनिवार्य हो? मेरो ज्यान मेरो मर्जी। मैले हेलमेट नलगाएमा त्यसबाट उत्पन्न हुन सक्ने जोखिम पनि मैले नै बोक्ने हो भन्ने स्तन्त्रताको भावना समेत जनमानसमा हुन सक्छ तर राज्यले आफ्नो नागरिको सुक्षाको लागि भनेर हेलमेट प्रयोग गर्नु पर्ने कानून र उक्त कानूनलाई कार्यान्वयन गर्न नीति नियम लागू गर्न सक्दछ।

आम नागरिककको सुरक्षालाई चासो दिई मोटरसाइकलमा सवार हुनेहरुको जोखिमलाई मूल्यांकन गरी विधायिकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३० (२) मा निम्न बमोजिमको व्यवस्था गरेको पाइन्छः

“ मोटर साइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालकलको तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेलमेट) लगानु पर्छ”।

उक्त व्यस्थाको भाषाबाट समेत हेलमेट लगाउनु पर्छ यानी विकल्प नभै बाध्यकारी व्यस्था रहेकोमा दुई मत हुन सक्दैन। ऐनको दफा १६० दण्ड सजाय को उपदफा ३ मा हेलमेट नलगाई मोटरसाइकल चलाएमा वा मोटरसाइकलमा सवार गरेमा रु २०० देखि रु १००० सम्म जरिवाना गर्न सक्नेछ भन्ने व्यवस्था प्रष्ट हुँदा समेत सम्बन्धित निकाय (ट्राफिक प्रहरी) ले हेलमेट नलगाउनेलाई कार्वाही को दायरामा ल्याउन सकेको छैन।

कानूनलाई किताबको पानामा मात्र सीमित राख्नलाई विधायिकाले कानूनको मस्यौदा गरेको हैन÷छैन। उचित निगरानीका साथ कानूनलाई सही रुपमा कार्यान्वयन गरेको खण्डमा मात्र समाज उन्मुख्ताको क्षितिजतर्फ लम्कन सक्छ।

तर यहाँ प्रष्ट कानून हुँदा समेत उक्त कानूनको कार्यान्वयनमा कमि रहेको हुँदा हरेक दिन जसो नागरिकले ज्यान गुमाउनु परेको छ। यसमा नागरिक स्वयम् को पनि लापरवाही रहेको छ।

आफूले हाँक्ने मोटरसाइकल लडेमा सबैभन्दा पहिले उक्त मोटरसाइकलमा सवार मानिस उछिट्टिने वा मोटरसाइकल सँगै लड्ने सम्भावना प्रवल हुँदा समेत आफूले चलाएको मोटरसाइकलमा मानिस राख्दा हेलमेट नलगाइ राख्नु र हेलमेट नलगाई बस्नु भनेको लापरवारीको चरम उदाहरण हो।

सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तहरुबाट समेत कसैले ज्यान मर्न सक्ने भन्ने पूर्वअनुमान गर्न सक्छ तर पनि सतर्कता नअपनाएको कारणले दुर्घटना हुँदा मानिसको ज्यान मरेको खण्डमा लापरवारी रुपमा सवारी चलाएको भनी मान्नु पर्छ भनेर लापरवाही को व्याख्या गरेको छ।

त्यस्तै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) मा, “कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतकर्ता नअपनाई कसैले लापरवाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काइस दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ”, भन्ने व्यवस्था रहेको छ।

उक्त व्यवस्था बमोजिम र सर्वोच्च अदालतले गरेको व्याख्या बमोजिम पनि कुनै मोटरसाइकल चालकले आफूले चलाउन लागेको मोटरसाइकलमा कुनै मानिसलाई राख्दा कुनै कारणवस दुर्घटना भएको खण्डमा चालकभन्दा बढी जोखिममा पछाडि बस्ने मानिस हुने र त्यसमा पनि बालबालिका तथा साडी लगाएको तेर्सो परेर बसेको मानिस झन् असुरक्षित हुने र दुर्घटना भएमा सबैभन्दा पहिले पछाडि सवारहरुको टाउको ठोकिने सम्भावना उच्च रहेको हुन्छ।

यो कुराको जानकारी भई भई पनि हेलमेट बिना कसैलाई मोटरसाइकलमा पछाडि राखेको बेला दुर्घटना भई उक्त पछाडि सवार मानिसको ज्यान मरेमा सवारी चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) बमोजिम लापरवाही रुपमा सवारी चलाएको भनी तीन वर्ष देखि १० वर्ष सम्म कैद गर्न सक्ने प्रष्ट देखिन्छ।

यस्तो अवस्थामा हेलमेट लगाएर मात्र मोटरसाइकल चलाउनु पर्ने र पछाडि बस्ने मानिसले समेत हेलटमेटको प्रयोग गर्नु पर्ने भन्ने व्यवस्था ऐनमा समेत समावेश गरिएको हो।

आजकाल मोटरसाइकल समेतले ट्याक्सीको सेवा दिने जमानामा उक्त मोटरसाइकल चालकहरुले समेत पछाडि बस्ने मानिसको लागि हेलमेटको बन्दोबस्त गर्नु पर्ने हुन्छ।

दुर्घटनाको तथ्यांक हेरेमा समेत मोटरसाइकल दुर्घटनामा पछाडि सवार यात्रीको ज्यान गएको तथ्यांक बढी रहेको र यसको बारेमा सबैभन्दा जानिफकार ट्राफिक प्रहरी रहेकोमा पनि कुनै विवाद छैन। यस्तो अवस्थामा समेत ऐन मा प्रष्ट व्यवस्था भए बमोजिम हेलमेट प्रयोग नगर्नेलाई कार्वाहीको दायरामा ल्याउ सकिरहेको छैन।

ऐनमा मोटरसाइकलमा सवारले हेलमेट लगाउनु पर्छ अन्यथा कार्वाही हुन्छ भन्ने प्रष्ट व्यवस्था रहेको र मोटरसाइकलमा हेलमेट नलगाई कसैले कुनै मानिसरलाई पछाडि राखेर चलाउँदा दुर्घटना भएमा लापरवाहीको परिभाषाभित्र पर्ने र चालकले तीन वर्षदेखि १० वर्षसम्मको सजाय भोग्नु पर्ने व्यवस्था छ।

यो कुरा जनसमक्ष पुग्नु र सचेत हुनु पनि उत्तिकै जरुरी छ। घटना भइसकेपछि कसैको ज्यान ज्याने, अंगभंग हुने र कानून पनि लाग्ने अवस्थामा दशालाई दोष दिनुभन्दा समयमै सचेत हुनु राम्रो हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *