जाजरकोटको भूकम्प

कपिल लोहनी
२५ कार्तिक २०८० ७:४४

गत कार्तिक १७ गते शुक्रबारको मध्यराती जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको ६.४ म्याग्नीच्युडको भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित करिव १५९ जनाको मृत्यु भयो भने ३३७ जना घाइते हुन पुगे।

यस भूकम्पको धक्का काठमाडौँदेखि भारतको राजधानी दिल्लीसम्म नै महसुस गरिएको थियो। त्यस्तै यो भूकम्पबाट सो क्षेत्रका ३५ हजार परिवार बासस्थानविहीन भएका छन्। मर्नेहरूमध्ये ८३ जना बालबालिकाहरू थिए भने ती मध्ये स्कूले विद्यार्थी ३९ जना र २ शिक्षिकासमेत थिए।

यो भूकम्पको कारण त्यहाँ करिव १७,८०० घरहरू पूर्ण रूपमा ध्वस्त भए भने करिव १७,६०० घरमा आंशिक क्षति पुग्न गयो। हाल हजारौँ मानिसहरू घर बाहिरको खुला क्षेत्रमा कामचलाउ पाल टाँगेर रात काट्न वाध्य भएका छन्।

हिमालको चिसो सिरेटोका साथै राति बाक्लो शीत पर्ने भएता पनि एकसरो लुगामा रहेका तथा पराले विछौनामा बस्न वाध्य त्यहाँका बासिन्दा, बालबच्चा, नवजात शिशु, सुत्केरी, महिला तथा वृद्ध-वृद्धा चिसोले गर्दा बिरामी नै पर्न थालेका छन्।

खानपान र औषधीमुलोको पनि खासै बन्दोबस्ती भएको छैन। आफन्त तथा छरछिमेकका मृत व्यक्तिहरूको दाहसंस्कारमा जुटेका मानिसहरूले काठ–दाउरा बोकेर घाटतिर गएका दृश्य निकै हृदयविदारक थिए।

नेपालमा प्रथम पटक फ्रान्सको सहयोगमा वि.सं. २०३५ सालमा भूकम्प मापन यन्त्र जडान गरिएको थियो। २०३७ सालमा पनि रातीकै समयमा बझाङमा ६.६ म्याग्नीच्युटको भूकम्प गएको थियो र निकै धनजनको क्षतिसमेत भएको थियो। त्यतिबेला मर्नेहरूको संख्या १०० भन्दा बढी थियो भने हजारौँ परिवार प्रभावित भएका थिए।

हुन त उत्तरी र दक्षिणी दुवै छिमेकी राष्ट्रहरूबाट विमानमा पटक पटक थुप्रै भौतिक सहयोग प्राप्त भइसकेको छ र अन्य कैयौँ विदेशी तथा स्वदेशी संघ-संस्थाहरूबाट पनि करोडौँको सहयोगको प्रतिबद्धता आइसकेको छ, तर हामीले विगतका महाभूकम्पबाट खासै पाठ नसिकेकोले हाल भूकम्प पीडितलाई राहत सामग्री वितरण गर्ने तथा अस्थायी बासस्थानको प्रवन्ध मिलाउने कार्य पनि व्यवस्थित हुन सकेको छैन।

झनै केही राजनीतिज्ञले त राहत सामग्री बाटैमा खोसेर आफ्नो इलाकामा बाँड्न लगेको पनि खवर प्राप्त भएको छ। प्रधानमन्त्री तथा उच्च पदस्थ अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रको अवलोकन भ्रमण गरेर निर्देशन दिन थालेपछि भने उद्धार कार्यमा तदारुकता आएको भान भएको छ।

सेना र प्रहरी तथा अन्य सामाजिक संस्थाहरूले भने सदाझैं आफ्नो तर्फबाट हुन सक्ने उद्धार र राहत वितरण कार्यको थालनी गरिसकेका छन्। सुन्नमा आए अनुसार सरकारले भूकम्प पीडितहरूलाई केही नगद सहयोग पनि गर्ने कि भन्ने सोच राखेको छ अरे।

गगन थापा, रवि लामिछाने, पूर्णबहादुर खड्का आदि नेताहरू उद्धार र राहत वितरण कार्यमा पनि खटिइरहेका छन् भने नेतृ तोशिमा कार्की र गोविन्द थापा जस्ता समाजसेवी चिकित्सकहरू घाइतेको उपचारमा लागेका छन्।

केही महिना अघि सिरिया र टर्कीको सिमानामा गएको ७.८ र त्यसको लगत्तै गएको ७.७ म्याग्नीच्युडको महाभूकम्पले यी दुई देशहरूमा करिव ५९,३०० मानिसहरूले ज्यान गुमाउनुका साथै भौतिक रूपले ठूलो हानि-नोक्सानी भएको थियो।

त्यसपछिका तीन महिनामा ३०,००० पटक पराकम्पन भएको थियो। टर्की एक समृद्ध मुलुक भएकोले र त्यहाँ अन्तर्राष्ट्रिय सहयोग समेत प्रसस्त प्राप्त भएकोले तथा उसले नियमित रूपमा भूकम्पीय जोखिमको तयारीको लागि पूर्वाभ्यास गर्ने गरेकोले उसको पुनर्निर्माण जोडतोडका भइरहेको छ।

उता राजनीतिक द्वन्द्वग्रस्त सिरियालाई भने अन्तर्राष्ट्रिय सहयोग समेत निकै कम प्राप्त भएको तथा उ आपैm युद्धको कारण एक रुग्ण मुलुक बन्दै गएकोले उसलाई यो परिस्थितिको सामना गर्न निकै गाह्रो परेको थियो।

गत अक्टोबर महिनामा पश्चिमी अफगानिस्तानको हेरत प्रान्तमा गएको ६.३ म्याग्नीच्युडको भूकम्पमा परेर करिव १,५०० जनाको मृत्यु हुन गयो। यो मुलुक पनि राजनीतिक द्वन्द्वबाट गुज्रिरहेको र अमेरिका तथा पश्चिमा मुलुकहरूको आँखाबाट गिरिरहेकोले त्यस्तो विषम् परिस्थितिमा पनि त्यहाँ खासै कुनै प्रकारको राहतकारी सहयोग जुट्न सकेन।

हिन्दूकुश पर्वतमालामा अवस्थित अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, भुटान जस्ता मुलुकहरूका खासगरी गाउँघरमा प्रायजसो कच्ची घर हुने भएकाले पनि ७ रेक्टर स्केलभन्दा कम म्याग्नीच्युडका भूकम्पमा समेत निकै धेरै क्षति हुने गरेको छ।

२०४५ साल भाद्रमा गएको ६.६ रेक्टर स्केलको भूकम्पले पनि भक्तपुर र धरानजस्ता शहरहरूका कच्ची घरहरू भत्किएर धनजनको ठूलै नोक्सानी गरायो भने २०६८ आश्विनको ६.९ रेक्टर स्केलको भूकम्पले भने खासै नोक्सानी नगरे पनि महाभूकम्प जान लागेको जनाउ दिएर गएको रहेछ, तर कसरी बुझ्नू र उसको जनाउलाई।

यस्तो अवस्थामा अधिक क्षति हुनुका मुख्य कारणहरूमा भूकम्पीय क्षेत्रमा अवस्थित घरहरू कच्ची हुनु र भूकम्प र दैवी प्रकोपबारे जनचेतनामूलक कार्यक्रमहरू नियमित रूपले नचलाउनु, सम्वेदनशील सार्वजनिक तथा निजी घर-टहराहरूको साधारण प्रवलीकरण पनि नगरिनु, दैवीप्रकोपको कुनै प्रकारको तयारी नगर्नु र चरम भ्रष्टाचार आदि हुन्।

भूकम्प प्रभावित क्षेत्रमा भएका घर भत्किएर यत्रतत्र पैmलिएका निर्माण सामग्रीको अवशेष र नयाँ छाना छाउने सामग्रीहरूको मात्र प्रयोग गरेर पनि अस्थायी रूपमा काम चलाउ टहराहरूको निर्माण तत्काल गरिन सकिन्छ यदि अन्य ठाउँबाट केही स्वयम्सेवक र कालिगढ तथा सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुर्‍याउन सकियो भने।

त्यस्तै सफा पानी र आधारभुत खाद्य वस्तु तथा औषधी र लत्ताकपडा तथा प्राथमिक उपचारको व्यवस्था गर्न सकेमा प्रभावित क्षेत्रका जनताले निकै ठूलो राहत पाउने छन्। तर उद्धारका यस्ता प्रारम्भिक उपाय अवलम्बन गर्नमा पनि अल्प विकसित र कैयन् विकासशील राष्टहरू चुक्छन्।

नेपालमा उद्धार कार्यमा सेना, प्रहरी र विभिन्न संघ-संस्थाका स्वयम्सेवक मात्र प्रायः जस्तो खटिने गरेकोमा लाखौँ लाख सदस्य भएका राजनीतिक पार्टीहरूले आफ्ना कार्यकर्ता परिचालन गरेको खासै देख्न पाइएको छैन।

एक थरी दैवीप्रकोप वर्षा र सुख्खाका कारण वर्षेनी आउने बाढी, पहिरो, डढेलो, हावा–हुरी आदिबाट हुने गरेको छ भने अर्को थरी चाहिँ जलवायु परिवर्तनका कारण अप्रत्याशित रूपमा हिमताल फुटेर वा भयंकर वर्षा भएर बाढी-पहिरो र डुबानको कारण हुने गरेको छ।

त्यस्तै भूकम्पको कारण हुने प्रकोपले निम्त्याउने आकस्मिक विपत्तिको आफ्नै व्यथा छ। यसरी विभिन्न समयमा परिरहने प्राकृतिक प्रकोपको सामना गर्न न हामी कहाँ कुनै विशेष संयन्त्र नै बनेको छ, न नै हामी यस्तो कामको लागि तयारी अवस्थामा बसेका हुन्छौँ।

८ वर्ष अघि मात्र गएको त्यति ठूलो भूकम्पको कटु अनुभवबाट पनि हामीले खासै केही सिके जस्तो लागेको छैन भने हाम्रो छिटो बिर्सने प्रवृत्ति पनि त्यति नै प्रवल छ।

सो भूकम्प पश्चात मुलुकभरका विद्यालय, अस्पताल, सरकारी कार्यालय तथा सुरक्षा निकायका भवनहरू र कमजोर नीजि भवनहरूको समेत क्रमशः प्रवलीकरणमा विशेष चासो राखेर काम गरेको भए मात्र पनि हालको भूकम्पबाट यति धेरै धनजनको क्षति हुने थिएन र तत्पश्चात अस्थायी रूपमा प्रभावित मानिसहरूलाई आश्रय दिन समेत सहज हुने थियो।

जाजरकोट र रुकुममा हालै गएको भूकम्पबाट करिव १०० विद्यालयहरू पुरै क्षतिग्रस्त भएका छन् भने ४१५ विद्यालयमा ठूलै क्षति पुगेको छ। सरकारी कार्यालयहरूको समेत त्यस्तै हाल भएको छ।

दैवीप्रकोपको बेला सार्वजनिक भवन तथा स्कूल-कलेजका भवनले आमजनतालाई निकै भरपर्दो आश्रय दिने भए तापनि यी भवनहरू आफैं भत्कन जाँदा प्रभावित जनताले निकै धेरै दुख तथा कष्ट सहनु पर्ने हुन्छ। यसै त गुणस्तरिय शिक्षाबाट वञ्चित विद्यार्थीहरू अब कैयौँ महिनासम्म विद्यालयको भवन नै नहुँदा कहाँ र कसरी पढ्लान्?

नेपालको पश्चिमी भागमा विगत ५१८ वर्ष यता महाभुकम्प गएकै छैन भने पनि हुन्छ। हालैका वा विगत ३०–३५ वर्ष यता गएका ७ रेक्टर स्केलभन्दा कम म्याग्नीच्युडका भूकम्प तथा तिनका पराकम्पहरूले ठूलो भूकम्प जान सक्ने संकेत दिइरहेका छन्। त्यसैले पनि राज्य तथा जनता आफैंले पनि त्यस्तो परिस्थितिको सामना गर्न तयारी अवस्थामा रहनु जरुरी छ।

लाखौँ वर्ष अघिदेखि पृथ्वीका विभिन्न भाग तथा क्षेत्रहरू एकापसमा धसिने र मिल्ने क्रम आजसम्म जारी छ। भुगर्भशास्त्रीहरूले यिनै क्षेत्रहरूको घर्षणबाट हुने साधारणदेखि विशाल भूकम्पनको आधारमा पृथ्वीलाई विभिन्न प्लेटहरूमा विभाजन गरेका छन्।

यसरी मुख्य प्लेटहरूमा युरेशियन प्लेट, इन्डियन प्लेट, अरेवियन प्लेट, अफ्रिकन प्लेट, उत्तरी र दक्षिणी अमेरिकन प्लेट, अष्ट्रलियन प्लेट, फिलिपाइन प्लेट आदि पर्दछन् भने समुद्र मुनिको जमिनमासमेत प्यासिफिक प्लेट, नाज्का प्लेट, एन्टाक्र्टिक प्लेट, स्कटिया, क्यारिवियन, कोकश आदि प्लेटहरू छन्।

हिन्दूकुश पर्वतमाला भित्र पर्ने हिमालय क्षेत्र अफगानिस्तानदेखि पाकिस्तान हुँदै भारत, नेपाल र भुटानसम्म पैmलिएको छ र भूकम्पीय हिसाबले यो इन्डियन प्लेटको उत्तरी किनारामा पर्ने भएकोले इन्डियन प्लेट र युरेसियन प्लेट बीचको भयंकर घर्षणको सबैभन्दा बढी प्रभाव यही क्षेत्रमा पर्ने गर्दछ।

इन्डियन प्लेट धसिएर युरेसियन प्लेटभित्र घुस्दै जाने र युरेसियन प्लेट माथितिर धकेलिनेक्रममा जम्मा भएर बसेको प्रचुरमात्राको ऊर्जा यदि बिस्तारै बिस्तारै विभिन्न समयमा निस्कन पायो भने स-साना भूकम्पसँगै धसिनेक्रम मिल्दै जाने हो।

तर पुरै हिन्दूकुश क्षेत्रमा हुने यस्तो भयानक घर्षण ठूलै भूकम्प र त्यसपछि हुने पराकम्पनविना कम हुनै सक्दैन किनकि यो धसिनेक्रम लाखौँ वर्षदेखि जारी छ र यसैगरी प्रत्येक शताब्दीमा कैयन् ठूला-साना भूकम्पको तरङ्गसँगै केही सेन्टिमिटर धसिने र बढ्नेक्रम जारी छ।

योक्रममा युरेसियन प्लेट माथितिर उठ्ने र इन्डियन प्लेट भित्रतिर धसिने भएकोले हिमालको उचाइ पनि थोरै बढ्दै गएको हुन्छ। भूगर्भशास्त्रीहरूको भनाइअनुसार वि.सं. २०७२ को ३० सेकेण्ड लामो भूकम्पमा काठमाडौँ करिव ३ मिटर दक्षिणतिर धकेलियो।

नेपाल र चीनले हालै गरेका छुट्टा छुट्टै नापी तथा सर्वेक्षण अनुसार सगरमाथाको अहिलेको उचाई ८,८४८.८६ मिटर छ भने महाभूकम्प भन्दा पहिले यसको उचाई ८,८४८ मिटर थियो।

गोरखालाई केन्द्र विन्दु बनाएर गएको महाभूकम्प ७ दशमलव ८ रिक्टर स्केलको थियो। यो महाभूकम्पमा ८,९८९ जनाले ज्यान गुमाए भने करिव २२,३०९ जना घायल भए, अनि करिव ३५ लाख घरवारविहीन भए।

भूकम्पमा करिव ८९ विदेशीले पनि ज्यान गुमाए। शनिवारको बिदाको दिन परेकाले धेरैजना खासगरी स्कुले नानीहरू यो भयानक भूकम्पबाट बचे। गाउँघरमा पनि मध्यदिनमा घरबाहिर र खेतबारीमा काम गरिरहेकाले पनि धेरैको ज्यान बच्यो।

हिमालय क्षेत्रमा महाभूकम्पहरू निकै पटक गइसकेका छन्। नजिकको कुरा गर्दा सन् १८९७ मा भारतको सिलङमा ८ दशमलव ७, १९०५ मा भारतकै काँगडामा ८, १९३४ मा नेपालको काठमाडौँ क्षेत्रमा ८ दशमलव ४, १९५० मा भारतको असममा ८ दशमलव ६, र सन् २००५ मा पाकिस्तानको हिमाली क्षेत्रमा ७ दशमलव ४ रेक्टर स्केलका महाभूकम्पहरू गए अनि यी सबै भूकम्पमा परेर हजारौँ मानिस र चौपायाको मृत्यु पनि भयो।

भूगर्भविद्हरू जो भूकम्पको अनुसन्धानमा रातौँदिन खटिइरहेका छन्, उनीहरूको भनाइअनुसार भूकम्पले बनाएका दरार भएका ठाउँहरूको उत्खनन गरेर हेर्दा धेरै महत्वपूर्ण तथ्य फेला परेका छन्।

हिमालयका विभिन्न ठाउँमा भूकम्प सम्बन्धी गरिएका भौगर्भिक अध्ययनहरूबाट निकै पहिले यानी सन् १०३१, ११००, १२५५, १२९४, १३२१, १४१३, १४२३, १५०५ मा पनि महाभूकम्पहरू गएका थिए भन्ने निक्र्योल गरिएको छ।

विगत ८०० वर्षअघिदेखिको भूकम्पको फेहरिस्त हेर्ने हो भने विक्रम सम्वत् १३१२ साल आषाढमा पनि २०७२ सालको जस्तै ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको रहेछ। सो भूकम्पमा परेर कान्तिपुरका तत्कालीन राजा अभय मल्ल र करिव एकतिहाइ जनताले ज्यान गुमाएका रहेछन्।

विक्रम सम्वत् १३१२ देखिको भूकम्पको विश्लेषण गर्दा नेपालमा औसतन प्रत्येक १०० वर्षमा एउटा महाभूकम्प जाने गरेको देखिन्छ।

महाभूकम्पको शक्तिका अन्य जे अन्तर्राष्ट्रिय मापदण्ड र परिभाषा भए पनि हाम्रो मुलुकको भौगर्भिक बनौट र संरचनाहरूको लेखाजोखा गर्दा ७ रेक्टर स्केल वा सोभन्दामाथिका भूकम्पलाई महाभूकम्पको वर्गमा राख्न सकिन्छ, किनकि त्यति मापन-वर्गका भूकम्प नै धेरै विनाशकारी सावित भएका छन्। भूकम्पन जमिनको सतहबाट कतिमुनि सुरु भएको छ, त्यो जमिनभित्रको बनोट कस्तो प्रकारको माटो, बालुवा, चट्टान वा पानीबाट भएको छ, त्यसबाट पनि यसको शक्ति आँक्न सकिन्छ।

विक्रम सम्वत् १३१२ देखि २०७२ सम्म ७ रेक्टर स्केलभन्दा माथिका १२ वटा महाभूकम्प गएछन्। यीमध्येको सबैभन्दा शक्तिशाली र डरलाग्दो भूकम्प भने १५६२ आषाढमा कर्णालीमा केन्द्रविन्दु बनाएर ८.८ रेक्टर स्केलको गएको रहेछ।

त्यसपछिको सबैभन्दा भयानक भूकम्पचाहिँ १९९० सालको ८ दशमलव ४ रेक्टर स्केलको नै हो। यस्तै १७३७ पौष र १८९० भाद्रमा ८ रेक्टर स्केलका भूकम्पहरू गएका थिए भने १४६५ भाद्रमा ८ दशमलव २ रेक्टर स्केलको। ७ देखि ८ रेक्टर स्केलका भूकम्पहरूको कुरा गर्दा १३१२ असारमा ७ दशमलव ८, १३१७ मा ७ दशमलव १, १४०१ मा ७ दशमलव ८, १८२४ श्रावणमा ७ दशमलव ९, १९७३ भाद्रमा ७ दशमलव ७, २०७२ वैशाखमा ७ दशमलव ८ र ७ दशमलव ३ रेक्टर स्केलका भूकम्पहरू गए।

माथि उल्लेख भए जस्तै वि.सं १५६२ मा कर्णाली क्षेत्रमा गएको ८.८ म्याग्नीच्युडको महाभूकम्प पश्चात विगत ५१८ वर्षमा सो क्षेत्रमा महाभूकम्प गएको छैन र ७ रेक्टर स्केलभन्दा कमका कैयौँ भूकम्पले नै पनि यस क्षेत्रमा निकै धनजनको क्षति पुर्‍याउन मद्दत गरेका छन्।

लामो समयसम्म महाभूकम्प नगएको हिन्दूकुश पर्वतमालाको यस क्षेत्र-अझै भन्नै पर्दा देहरादुनबाट पूर्व र गोर्खाबाट पश्चिममा कुनै पनि बेला महाभूकम्प जान सक्ने कुरालाई नकार्न सकिँदैन।

यदि त्यसो भएमा यसको असर नेपालका अन्य भागमा समेत पर्नुका साथै भारतको राजधानी र अन्य क्षेत्र तथा चीनको तिब्बतमा पनि पर्न सक्ने छ। त्यसैले भूकम्पलाई रोक्ने प्रविधि हालसम्म नभएको भएता पनि यसबाट हुने क्षतिलाई न्युन बनाउन भने हामीले सक्दो तयारी गर्नै पर्ने हुन्छ

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *