विश्वकपमा पाकिस्तानका हरिश रउफले बनाए लाजमर्दो विश्वरेकर्ड

डिसी नेपाल
२६ कार्तिक २०८० १०:५५

काठमाडौं । विश्वकपको अन्तिम लिग खेलमा इङ्ल्यान्डसँग पराजित भएर सेमिफाइनलको दौडबाट बाहिरिएको पाकिस्तानका बलर हरिश रउफले लाजमर्दो विश्वरेकर्ड बनाएका छन् । उनले कुनै पनि विश्वकपमा सबैभन्दा धेरै रन दिने बलरको रूपमा नयाँ रेकर्ड बनाएका छन् ।

वास्तवमा हालको विश्वकपमा हरिस रउफको बलमा सर्वाधिक रन बनाइएको छ । क्रिकबजका अनुसार हरिस रउफले खेलेका कुल ९ खेलमा ७९ ओभर बलिङ गरे जसमा ५३३ रन दिएका थिए ।

उनले २०१९ विश्वकपमा इङ्ल्यान्डका आदिल राशिदको कीर्तिमान तोडेका छन्, जसले ११ खेलमा ५२६ रन दिएका थिए।

यो विश्वकपमा अहिलेसम्म कुनै बलरले उनीभन्दा बढी रन दिएका छैनन् । तर, १६ विकेट लिएर उनी यो विश्वकपका १० सफल बलरको सूचीमा छन् ।

रउफपछि सबैभन्दा धेरै रन दिने बलरमा श्रीलंकाका दिलशान मदुशंका छन्, जसले ५२५ रन दिएका छन् । मदुशंकाले २१ विकेट लिए ।

रन दिने मामिलामा शाहिन अफ्रिदी तेस्रो स्थानमा छन्, जसले १८ विकेटका लागि ४८१ रन खर्चेका छन् ।

विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी फास्ट बलर विशेषगरी हरिस रउफको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

जनताले भनिरहेका छन् हाम्रा कुनै पनि ब्याट्सम्यानले जम्मा ९ खेलमा ४०० रन पनि बनाउन सकेनन् तर दुई बलरले ४०० भन्दा बढी रन दिए । हरिस रउफले ५३३ रन दिएर कीर्तिमान बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *