मृत्यु भइसकेका मुशर्रफको मृत्युदण्डबारे पाकिस्तानको सर्वोच्च अदालतमा सुनुवाइ हुने

डिसी नेपाल
२६ कार्तिक २०८० १३:०७

काठमाडौं । पाकिस्तानका पूर्व सैनिक शासक तथा राष्ट्रपति परवेज मुशर्रफको फेब्रुअरीमा निधन भएको थियो । अब ९ महिनापछि सर्वोच्च अदालतको विशेष बेन्चले मुसर्रफले दायर गरेका धेरै याचिकाहरूको सुनुवाइ गर्नेछ । यो जानकारी पाकिस्तानको अखबार ‘द डन न्यूज’ ले दिएको हो।

यी सबै याचिकाहरू १७ डिसेम्बर २०१९ मा पूर्व राष्ट्रपतिलाई सुनाइएको मृत्युदण्डको सजाय विरुद्ध दायर गरिएको थियो। पाकिस्तानको दुई अदालतले मुशर्रफलाई देशद्रोहको आरोपमा यो सजाय सुनाएको थियो । उनीमाथि लोकतान्त्रिक ढंगले निर्वाचित सरकार ढालेको आरोप लागेको थियो ।

यस मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतमा चार न्यायाधीशको विशेष इजलास गठन गरिएको छ । जसको नेतृत्व प्रधानन्यायाधीश काजी फैज इसाले गर्नेछन्। उनी बाहेक यस इजलासमा न्यायाधीश सैयद मन्सुर अली शाह, न्यायाधीश अमिन उद्दिन खान र न्यायाधीश अतहर मिनाल्लाह रहेका छन् ।

मुशर्रफका तर्फबाट उनका वकिल सलमान सफदरले बहस गर्नेछन् । हालै सुप्रिम कोर्टमा अपील गर्दै सलमानले भनेका थिए- मेरो दिवंगत क्लाइन्टलाई जसरी सजाय सुनाइयो त्यो पाकिस्तानको संविधान र कोड अफ क्रिमिनल प्रोसिजर १८९८ को उल्लङ्घन हो।

यसअघि पनि मुशर्रफका तर्फबाट उनका वकिलले केही निवेदन दिएका थिए । त्यसमा मुसर्रफको सजाय स्थगन गर्न माग गरिएको थियो । पूर्वराष्ट्रपति चार तारे जनरल भए पनि न्याय नपाएको समेत भनिएको छ । मुशर्रफको सैन्य करियरलाई उद्धृत गर्दै याचिकाहरूमा भनिएको थियो- पूर्व राष्ट्रपतिलाई सजाय दिनु वास्तवमा संवैधानिक अपराध हो र यसका लागि असंवैधानिक विधि अपनाइयो।

गत हप्ता, पाकिस्तानको निर्वाचन आयोगले मुशर्रफको राजनीतिक दल अल पाकिस्तान मुस्लिम लिग (एपीएमएल) को मान्यता पनि खोसेको थियो। मुसर्रफले पाकिस्तान छोडेर यो पार्टी बनाएका थिए र दुबईमा बसेर चलाउने गरेका थिए ।

यस पार्टीलाई बलियो बनाउन पूर्व राष्ट्रपति दुई पटक पाकिस्तान फर्किए तर राजनीतिक मुद्दाका कारण उनी कहिल्यै सफल हुन सकेनन् । पछि यो पार्टीका अधिकांश नेताहरु अन्य पार्टीमा प्रवेश गरेपछि एपीएमएल कागजी पार्टी मात्र सावित हुँदै गयो ।

परवेज मुशर्रफको ५ फेब्रुअरी २०२३ मा दुबईको एक अस्पतालमा मृत्यु भयो। उनी लामो समयदेखि बिरामी थिए । उनको दुबईमा बहुमूल्य सम्पत्ति छ। जुन २०२२ मा उनको परिवारले सामाजिक सञ्जालमा उनी एमाइलोइडोसिस नामक रोगबाट पीडित भएको बताएका थिए। जसका कारण उनको सबै अंगले काम गर्न छाड्यो ।

एमाइलोइडोसिसमा, मानव शरीरमा एमाइलोइड नामक असामान्य प्रोटिन बन्न थाल्छ। यो मुटु, मिर्गौला, कलेजो, स्नायु प्रणाली, मस्तिष्क आदि अंगहरूमा जम्मा हुन थाल्छ, जसका कारण यी अंगका तन्तुहरूले राम्रोसँग काम गर्न सक्दैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *