इरानले भन्यो, ‘अमेरिकाले हामीलाई धम्की दिँदैन, बिन्ती गर्छ’

डिसी नेपाल
२८ कार्तिक २०८० १०:१५

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का एक शीर्ष कमाण्डरले इरान कुनै पनि परिस्थितिको लागि तयार रहेको बताएका छन् ।

इरानको सरकार समर्थित समाचार सेवा इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (इर्ना) का अनुसार आइआरजीसी कमाण्डर ब्रिगेडियर जनरल अमीर अली हाजिजादेहले सोमबार भने – ‘इरान अहिले आफ्नो शक्तिको चरम सीमामा छ र इरान कुनै पनि परिस्थितिको लागि तयार छ।’

ब्रिगेडियर हाजिजादेह आईआरजीसीको एयरोस्पेस फोर्सका प्रमुख हुन्। सोमबार तेहरानमा पत्रकारहरूसँग कुरा गर्दै हाजिजादेहले अमेरिकासँग इरानलाई धम्की दिने साहस नभएको बताए।

उनले भने, “अमेरिकीहरूले इरानलाई धम्की दिँदैनन् … उनीहरूले एक रातमा तीन पटक सन्देशहरू पठाए र ती सन्देशहरूमा अनुरोध र बिन्ती जस्ता शब्दहरू छन्।”

हाजिजादेहले हालैका हप्ताहरूमा अमेरिकाले इरानलाई शान्तिपूर्ण व्यवहार गर्न बारम्बार आग्रह गरेको बताए। उनले इरानलाई कुनै पनि शत्रु देशले धम्की दिन सक्ने अवस्थामा नरहेको बताए ।

हाजिजादेहले भने, “हामी हाम्रो शक्तिको शिखरमा छौं र हामीले आफूलाई हरेक परिस्थितिको लागि तयार गरेका छौं।”

इजरायल–हमास युद्धको बीचमा अमेरिकाले मध्यपूर्वतर्फ आफ्ना युद्धपोत पठाएको छ । इरान र उसको सहयोगी सेनालाई इजरायल युद्धबाट टाढा रहन सन्देश दिन अमेरिकाले यस्तो गरेको मानिन्छ ।

इरानी कमाण्डरको यो टिप्पणी यस्तो समयमा आएको हो जब इजरायल–हमास युद्ध मध्यपूर्वका अन्य क्षेत्रमा फैलिने खतरा छ । इजरायलले हाल गाजामा लगातार हवाई हमला र हिंस्रक जमिन अभियान सञ्चालन गरिरहेको छ।

गाजामा हालसम्म ११ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसमध्ये साढे चार हजारभन्दा बढी बालबालिका छन्।

यसैबीच, इजरायल-लेबनान सीमामा झडप जारी छ। इरान समर्थित शिया चरमपन्थी समुह हिजबुल्लाहले इजरायलमा लगातार आक्रमण गरिरहेको छ । जवाफमा, इजरायली सेनाले लेबनानमा हवाई आक्रमण गरिरहेको छ र हिजबुल्लाह स्थानहरूलाई निशाना बनाउँदैछ।

आइआरजीसी कमाण्डरले भनेका छन् कि झडप लेबनान पुगेको छ। उनले यो द्वन्द्व अझै चर्किएमा इरान जुनसुकै परिस्थितिका लागि तयार रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *