विश्वमा जारी दुई द्वन्द्व र शीतयुद्धको जोखिमका बीच आज दुई शक्तिशाली नेताबीच भेट हुँदै

काठमाडौं । अहिले विश्वमा युद्धको माहौल छ । इजरायल-हमास युद्ध जारी छ। शीतयुद्धको जोखिम बढिरहेको छ र यसैबीच नोभेम्बर १४ गते ठूलो घटनाको साक्षी बन्न लागेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङ आज एपेक शिखर सम्मेलनका क्रममा आमनेसामने हुने बताइएको छ । यो भेटले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा के र कत्तिको प्रभाव पार्छ र त्यसबाट के निष्कर्ष निस्कन्छ भन्नेमा विज्ञहरूको चासो छ ।
ह्वाइट हाउसले सोमबार भनेअनुसार राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै हप्ता एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनको क्रममा भेट्ने छन्।
सञ्चार र प्रतिस्पर्धालाई बलियो बनाउने विषयमा छलफल हुनेछ। बुधबार सान फ्रान्सिस्कोको खाडी क्षेत्रमा हुने दुई राष्ट्रपतिको यो भेट इन्डोनेसियामा भएको भेटघाटको ठीक एक वर्षपछि हुन लागेको हो ।
पछिल्ला वर्षहरूमा अमेरिका र चीनबीचको सम्बन्ध केही हदसम्म चिसिएको छ । बैठकमा दुई महाशक्तिबीचको तनाव कम गर्ने उद्देश्यले उच्चस्तरीय कूटनीतिक वार्ता हुनेछ । बाइडेनले जनवरी २०२१ मा पदभार ग्रहण गरेपछि दुई नेताबीचको यो दोस्रो व्यक्तिगत भेट हुनेछ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले पत्रकारहरूलाई भनेअनुसार बाइडेनले जटिल सम्बन्धहरू व्यवस्थापन गर्न फेस टु फेस कूटनीतिको विकल्प छैन भन्ने विश्वास गर्छन्।
सुलिभानले भने, “हामी नेताहरूले अमेरिका चीन द्विपक्षीय सम्बन्धका केही आधारभूत तत्वहरूमा छलफल गर्ने अपेक्षा गर्दछौं, जसमा सञ्चारको खुला लाइनहरू सुदृढ गर्ने र प्रतिस्पर्धालाई जिम्मेवार रूपमा व्यवस्थापन गर्ने विषय समावेश छ ताकि यो द्वन्द्वको रूपमा अगाडि नबढोस्।”
गत वर्ष अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले अमेरिकासँग सैन्य–सैनिक सम्पर्क बन्द गरेको थियो । प्रजातान्त्रिक रूपमा शासित टापु भए पनि चीनले ताइवानलाई आफ्नो भएको दाबी गर्छ। त्यसपछि फेब्रुअरीमा अमेरिकामाथि उडिरहेको एक संदिग्ध चिनियाँ जासूस बेलुनलाई गोली हानेपछि यो तनावपूर्ण सम्बन्धमा चिसोपन आएको थियो ।
बाइडेन–सी जिनपिङको भेटमा इजरायल–हमास युद्धदेखि युक्रेनमा रुसको आक्रमण, रुससँगको उत्तर कोरियाको सम्बन्ध, ताइवान, इन्डो–प्यासिफिक, मानवअधिकार, विश्वव्यापी मुद्दालगायतका विषयमा पनि छलफल हुने अमेरिकी वरिष्ठ अधिकारीले बताएका छन् । फेन्टानिल उत्पादन, आर्टिफिसियल इन्टेलिजेन्सका साथै व्यापार र आर्थिक सम्बन्धका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।
Facebook Comment