गाजाको अस्पतालको संकटको मुद्दा ‘दुष्प्रचार’का लागि उठाइएको इजरायलको आरोप
काठमाडौं । गाजामा नागरिक अधिकारका सम्बन्धमा अमेरिका र बेलायतले दिएको सुझावका बीच इजरायलले हमासले ‘प्रचारका लागि अल शिफा अस्पतालको संकट सिर्जना गरेको’ दाबी गरेको छ ।
अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि अमेरिका र अन्य पश्चिमी देशहरूले इजरायललाई समर्थन गर्ने घोषणा गरेका थिए ।
गाजामा इजरायलको प्रतिकारात्मक कारबाहीका बेला पनि यी देशहरूले आफ्नो समर्थन कायम राखेका थिए।
तर हालै अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री ऋषि सुनकले प्यालेस्टिनी अस्पताल र सर्वसाधारणको सुरक्षाका लागि आवाज उठाएका छन् ।
अमेरिकामा राष्ट्रपति बाइडेनले मिडियालाई भनेअनुसार उनले अल-शिफा अस्पताल नजिकै यस्तो आक्रमणको अपेक्षा गरेका थिएनन् । अल-शिफा गाजा शहरको सबैभन्दा ठूलो अस्पताल हो।
उनले अस्पताल भित्र फसेका मानिसहरु बाहिर निस्कनका लागि मानवीय आधारमा यो द्वन्द्व अस्थायी रुपमा रोक्न अपिल गरेका छन् ।
अर्कोतर्फ, इजरायली सरकारले प्रचारका लागि अल-सिफा अस्पतालसँग सम्बन्धित संकट हमासले सिर्जना गरेको दाबी गरेको छ। अन्तर्राष्ट्रिय मिडियाले यो दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेका छैनन्।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले पनि हिजो राति यसबारे कुरा गर्दै गाजामा धेरै मानिस मरिरहेको बताएका छन् । उनले यो संघर्ष अन्त्य गर्न पनि आग्रह गरेका छन् ।
यद्यपि, अमेरिका र बेलायतले पूर्ण युद्धविरामको लागि अपील गरेका छैनन्, जबकि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यस सम्बन्धमा दबाब दिइरहेका छन्।
Facebook Comment