लप्सीफेदी सबस्टेशन विवाद : प्रहरी र स्थानीयबीच झडप हुँदा दर्जनौं घाइते

डिसी नेपाल
१ मंसिर २०८० २१:४०

काठमाडौं। काठमाडौंको लप्सीफेदीनजिक प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा दर्जनौं व्यक्ति घाईते भएका छन्।

एशियाली विकास बैँकको ऋण सहयोगमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने लप्सीफेदी सबस्टेशन स्थानान्तरणको माग गर्दे आएका स्थानीयहरुले त्यहाँ सशस्त्रको प्रहरी क्याम्प निर्माण गर्न आएका सशस्त्रका प्रहरीलाई बीच बाटोमा अवरोध गर्दा झडप भएको हो।

सवस्टेशन निर्माणस्थल बोझेनीमा सशस्त्र प्रहरीको अस्थायी क्याम्प निर्माण गर्न सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनासहितको टुकडी शुक्रबार बेलुका त्यहाँ पुगेका थियो।

तर स्थानीयले सशस्त्र क्याम्प स्थापना गर्न नदिने भन्दै विरोधमा उत्रिएपछि झडप भएको थियो। सो झडपमा परी दर्जनौ स्थानीय घाईते भएको काठमाडौं प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीहरुका अनुसार अवरोध हटाउने क्रममा सशस्त्र प्रहरीका प्रहरी निरीक्षकले एक जना आन्दोलनकारी वृद्ध महिलालाई मरणासन्न हुने गरी पिटेका छन्। समान नेपालका प्रवक्ता आरके तामाङका अनुसार केही आन्दोलनकारीहरुलाई पक्राउ गरी अज्ञातस्थल तर्फ लगिएको छ।

सशस्त्र प्रहरीको क्याम्प बनाउन नदिने पक्षले राति अबेरसम्म फेसबुक लाइभ गरेका थिए। लाइभमा देखाइए अनुसार आन्दोलनकारीहरुले राति प्रहरीको क्याम्प व्यवस्थापन गर्न आग्रह गरिरहेका थिए।

उनीहरुले प्रहरीलाई रातीको खाना र बस्ने व्यवस्था बाटोमा गर्न आग्रह गरिरहेका थिए। तर सशस्त्र प्रहरीको तर्फबाट गन्तव्यस्थलमा पुगेर मात्र आफनो यात्रा टुंगिने बताइरहेका थिए।

प्रहरी र आन्दोलनकारीबीचको झडपस्थल सबस्टेशन निर्माणस्थलको आधा किलोमिटर दूरीमा मात्र पर्दछ।  काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३ लप्सीफेदीमा सिन्धुपाल्चोक, दोलखा र रामेछाप बेसिन तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं लगायतमा वितरणका लागि त्यहाँ ४००, २२० र १३२ केभीका सबस्टेशन बन्ने योजना बनेको छ।

तर स्थानीयवासीहरु सबस्टेशन निर्माणले आफनो थातवास उठ्नसक्ने भन्दै प्रस्तावित सबस्टेशन अन्यत्र स्थानान्तरण गर्नू पर्ने भन्दै ३२२ दिन देखि लगातार आन्दोलनमा छन्। सबस्टेशनका लागि बोझेनी भनिने लप्सीफेदीमा पटकपटकको अधिग्रहणबाट ७० जना जग्गाधनीको एक सय ७० रोपनी जग्गा प्राधिकरणले लिइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *