तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतम गमय
संसार असत्य छ, अन्धकारमय छ र त्यस्तै मृत्युमय छ। त्यसै कारणले त आजभन्दा हजारौं बर्ष अगाडि नै हाम्रा बेद उपनिषदका ज्ञाता ऋषि मुनिहरुले यो भनाइहरुलाई संस्कृत भाषामा ‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतम गमय’ भनेर संसारमा आउने-जाने मानिसहरुलाई दीब्य सन्देस दियिएको हामि पाउँदछौं।
यो भनाइ अनुसार सधैं असत्य माथि विजय प्राप्त गरी सत्यको खोजमा लाग र त्यही अनुसार अनुसरण पनि गर्दै जाउ। अज्ञानता वा अन्धकार माथि विजय प्राप्तगरी उज्यालो वा ज्ञान र प्रज्ञाको खोजमा लाग र उन्नतिको शिखरमा पुग र त्यस्तै मृत्यु माथि पनि सकिन्छ भने विजय प्राप्त गरी दीर्घ जीवन आर्जन गर्ने काममा लाग भनी तीनै वेद उपनिषद् र पुराणादिले बारम्बार दोहोर्याई रहेको कुरालाई आजसम्मको बैज्ञानिक प्रयोशालाले अमान्य ठहर्याउन सकेको छैन र यो एक देववाणी नै भएकोले कसैको सामर्थ छैन यसलाई आलोचना र अमान्य ठहर्याउन।
वास्तवमा संसार असत्य नै छ। यो काम, क्रोध, लोभ, मोह र मद जस्ता कुपोषणकारी असत्य चीज र बस्तुहरु बन्दागोगीको पात झैं एकले अर्कोलाई छोपी लुकी छिपी बसेको छ जुन सबै एउटा एउटा परिस्थितिमा मानिसका मन र मश्तिषकबाट पैदा भै यस्ता तरंगहरुले मानिसलाई डसिरहेको हुन्छ।
यो समुद्री छाल झैं कुन्नि कुन दूर दिशाबाट आबेगमा आउँछ र कालान्तरमा एउटा किनारामा आइ पुनः बिश्राम लिन जान्छ। फेरि त्यही क्रम सुरु हुन्छ। यी पाँच तत्वहरुले वेस्ठित यो जगतको संसार छिनमा ताजा र छिनमा बासी हुने अनि छिनमा राम्रो र समयक्रम अनुसार पुरानो तथा कुरूप भइ कालान्तरमा हरेक चीज नासिएर जाने प्रकृतिको स्वाभाव छ।
त्यस्तै काम कोध लोभ मोह र मद्मात्सर्य बेला बेलामा उर्लेर आउने र केही क्षण पश्चात आफूमै विलीन हुने। यसै भित्र हामी हाम्रा सुख, दुख र माया र मोहमा परी जीवन एक किसिमको भ्रमित र बेठेगान हुने अनि बृद्ध उमेरमा सारा चीजबाट टाढा रही केवल बैराग्यले आश्रय पाउने यो असत्य जीवनमा केवल सत्यको खोजी गर्न पट्टि सबै लाग्दछन्।
किनकि जेजस्तो भएपनि सत्य अकाट्य छ। यी सबै मनरुपी विकार पक्षको अनुभव हो। पाँचौं मद र मात्सर्य घमण्डको एक मेरुदण्ड हो, जुन आउने जाने निरन्तर यसको पनि क्रम छ।
यस्ता चीजलाई उचाल्ने पछार्ने नगरी पाँचवटै विकार तत्वलाई बुद्धको ‘सम्यकदर्शन’ अनुसार हरेक पाँच विकार तत्वलाई सीमिततामा राखी यस्ता चीजहरु सत्ता आफ्नो वशमा लिइ असत्य सांसारिक भोग चलनबाट बिस्तारे सत्यको खोजमा गमन गर्नुलाई नै ‘असतो मा सदगमय’ भनिएको हो। यसैबाट नै सम्पूर्ण मानव जीवनको सुख र आनन्दमय जीवन अवश्यमभावी छ।
दोश्रो ‘तमसोमा ज्योतिर्गमय’ भनिएको छ। अर्थात् संसार अज्ञान र अन्धकारले छोपिएको छ। सत्य संसारबाट धेरै धेरै टाढा छ। जे देखिन्छ ती सब नाशवान छन्। ज्ञानले थोरै उचाई लिए तापनि प्रज्ञा खुलेको छैन। त्यसै कारणले त मनपरी चाहिने पनि र बिल्कुल न चाहिने चीज बनाएर संसारलाई आज सधैं त्रासमा राखिरहेका छन्।
सारा संसारको महासागरको एक थोपा पानीको थोपा जस्तो भै एक कुरा केही जान्नासाथ, सिक्नासाथ, पढ्नासाथ, केही देश परदेश घुम्नासाथ, देख्नासाथ मैले संसार बुझेको छु, देखेको छु र हेरेको छु भन्ने लाल बुजक्कडहरु अध्यारो मै जन्मन्छन्, हुर्कन्छन्, अध्ययन गर्छन्, सिक्छन् सिकाउँदछन् र आखिर अध्यारोमै आफूले गरेका सारा काम, क्रियाकलाप यहीँ छोडी आफ्नो जीवन इहलीला समाप्त गर्दछन्। ज्ञानले सदुपयोग भन्दा दुरुपयोग बढी गर्न सिकाएको छ।
खै त्यो ज्ञान जसले संसारलाई एकै दृष्टिले हेर्न सकोस्। जहाँ सबै खुसी रहुन्। भोका नांगा कोही नरहून्। कोही तल र माथि नरहून्। सबै इमान र नैतिकतामा अढेका होउन्।
ज्ञान लिन्छु भनी विज्ञानको चास्नीमा डुब्न जाने मतवाली ज्ञानका मसिहाहरु त्यसैमा रमाई आनन्दित र बेहोस हुन्छन् र अन्त्यमा सारा संसारलाई क्षणभरमा ध्वस्त पार्ने बिभिन्न बम बारुद, एटम्बम, हाइड्रोजनबम र बिभिन्न क्षेप्यास्त्र र सयौं प्रकारका निर्मित मिशाइलहरुदेखि गर्व गर्दछन्।
तर सारा संसारलाई क्षण भरमै खरानीको भुंग्रोमा परिणत गर्ने यी आबिष्कारबाट थाहा छैन संसारलाई भोलि नै यी नै हतियारहरुले जलाई खरानी बनाइ दिन्छ भन्ने कुराको भने ज्ञान कसैमा पनि छैन। यही हो अज्ञान र अन्धकार भनेको।
खास ज्ञानको त ढोका खुलेकै छैन। खास ज्ञानको पर्दा खोलिए पछिमात्र प्रज्ञाको उदय हुन्छ जहाँ ‘बुद्ध बिचार र ज्ञानको’ थालनी हुन्छ जहाँ यस्ता बिध्वंसकारी बिषय बस्तुको निर्माण हुँदैन र राम्रा र सकारात्मक चीजको मात्र निर्माण हुन्छ।
बस् यही हो ‘तमसोमा ज्योर्तिगमयः’ विज्ञानको शासन सत्तामा ज्ञान र प्रज्ञाको आवागमन हुन सक्तैन जसरी प्रदुषित मनमा ईश्वरको बास हुँदैन। विज्ञान चमत्कारमय भएर के गर्ने? संसार त फेरि आँसुमा डुबेको छ। करोडौं रोगले मरेकै छन्।
करोडौं भोकले छटपटाएकै छन्। करोडौं शोकले छटपटाएकै छन्। करोडौं मागेरै खाएका छन्। कहीं कतै वितरण प्रणाली समान छैन र अरबौं घरबार बिहिन रहेकै छन्। अनि खोइ त ज्ञानको उपलब्धि?
आलेसान महलमा बसेर चौरासी व्यञ्जन खानामा डुबेर, हवाई जहाज, रेल मोटर सडक, रकेट चन्द्रलोकसम्म पुग्ने तर भोका र नांगा सधैं उस्तै रहने कुरालाई अज्ञान र अन्धकार भनिन्छ। यो अन्धकारबाट उज्यालोतर्फ लाग्न ज्ञान भन्दा माथि प्रज्ञाको तहमा पुग्नु आवश्यक हुन्छ। यसैलाई ‘तमसो मा ज्योर्तिगमय’ भनिन्छ।
जसरी भौतिक सुख सुबिधा र वादको उन्नति भयो, त्यसरी नै अध्यात्मवादको र सकारात्मक ज्ञान र प्रज्ञाको उन्नति भइदिएको भए आज सारा मनुष्यहरू कति खुशीले रहने थिए होला।
कहिलेकाहीँ त संसारको कोलाहल, लडाईं झगडा, भोकमरी र घरबारविहीन मनुष्य देख्दा र नेपाल जस्तो प्रकृतिले बासको गरेको भूमिमा नेताहरुले देशलाई हरेक पक्षहरुमा गरेको बेथिति र लथालिंग देख्दा झनझन् हराउँदो सकारात्मक ज्ञानको कारण सबै जीउँदै मरेको जस्तो लाग्छ। रोगले नछोपेको मानिस सायद संसारमा छैनन् होला।
हजारौं रोगका औषधि बने होलान्। तर मानिसहरु रोग ब्याधीहरुले ग्रस्त बनिरहेका छन्। आखिर उपलब्धि के भयो त? केवल २/४ वर्ष जेनतेन उमेर लम्ब्याउने मात्र न हो। मानिस आफ्नै आहार बिहार, कुविचार र कुसंस्कारले बाहिर हृष्टपुष्ट देखिए पनि भित्र रोगले ग्रसित भइरहेका छन्।
आखिर जीवनको अन्तिम क्षणमा कुनै एक रोग बलबान भइ त्यही रोगले जीवनको अन्त्य हुन्छ। आज संसारमा मदिरा, धुम्रपान, व्यभिचार, यौनप्यास र ठूलाठूला हातहतियारको निर्माणमा बर्सेनि खरबौं सम्पत्ति खरानी भएर गएका छन्।
यो कस्तो ज्ञान हो र कस्तो बिबेक हो? यसबाट संसारका मानिसले के पाउने? यो सबै आजका संसारका नेताहरु तथा राष्ट्र हाक्ने राष्ट्र प्रमुखले मनन गर्नु पर्ने विषय हो।
यसरी अज्ञानको अन्धकारमा स्वयंमलाई धकेली तत्कालको परिणामलाई मात्र मूल्य देख्ने विज्ञानवेत्ताहरुको फुलो परेको आँखाले देखेको पाउने यस्तै उपलब्धि हो। तर यो पनि याद राख्नु कि यस्ता फुलो परेको आँखाले पनि कति कुराहरु भने आश्चर्य लाग्दा कामहरु पनि नगरेका होइनन्।
जस्तै कम्प्युटरको बिकास, ठूला गगनचुम्बी भवन, रेलमार्ग, ब्रोडवे, हवाइजहाज जस्ता कुराको आविष्कार र प्रयोगले जीवन सरल र सुविधाजनक बन्न गएको छ।
तर जे भएपनि ज्ञानलाई जवसम्म ठिक ठाउँमा प्रयोग गर्न नसकेसम्म भोलिको जीवन अन्धकारमय र त्रासदीपूर्ण नै हुन्छ। प्रत्येक मानिस इमान्दार र नैतिकवान बनुन्। एकले अर्कोलाई दया, माया, प्रेम र स्नेह गर्न सिकुन्। यो आध्यात्म ज्ञानलेमात्र सम्भव छ।
विज्ञानको उन्नति भएपनि सम्पूर्ण चीजहरु नासवान छ। आखिर तारकाक्ष दैत्यले हीरा सुन, चाँदी र फलामक महल खडा गरी आखिरमा दहन भए जस्तै एकदिन यो संसार पनि आफैंले बनाएका बम बारुद, एटम बम, हाइड्रोजन बम र विभिन्न अत्याधुनिक मिसाइलको प्रयोगबाट सर्बनाश हुने प्राय निश्चित छ।
यो निर्माणबाट मानिसलाई सुख सुबिधा त होला तर कालान्तरमा यसको बिस्फोटबाट संसार र संसारमा रहने मानिसको के हालत होला? कल्पना पनि गर्न सकिँदैन। सबै कुराको प्रगति भए पनि गोला, बमबारुदको निर्माणले भित्र भित्र हृदय काँपिरहेको छ।
तसर्थ भित्र ईश्वर छमछम न नाचेसम्म शान्ति र परमानन्दको कल्पना गर्न सकिँदैन, जुन मनिसको लागि शाश्वत चीज हो। विश्वका कतिपय देशहरु बिकसित त छन् तर त्यही बिकसित देशमा पनि कैयौं मानिसहरु रोइरोइ बसेका छन्। सयौं असाध्यै रोगले ग्रसित छन्।
लाखौं मानिस डिप्रेशनका शिकार बनेका छन्। मनमा शान्ति छैन। भौतिक सुविधाहरुले सम्पन्न भएपनि एक्लो जीवन बिताउन बाध्य छन्। तमाम कुराले पिरोलिरहेको छ। जीवनलाई अझ संघर्षमय बनाइएको छ।
दुःखी र गरीब नै हेर्ने हो भने पनि विश्वको ८ अर्ब जनसंख्यामा ७ अर्ब त गरीब दुःखी र घरबारविहीन छन्। यसको मूल कारण अज्ञानी प्रतिष्पर्धा नै हो। एकले अर्कोलाई सानो देख्ने, दबाउने र उठ्नै नदिने प्रबृत्ति नै हो। संसारमा थोरैले धेरैलाई अझै दबाएर राखिएको पाइन्छ।
१ अर्बले ७ अर्बलाई शासित गरिरहेका छन् नैतिकताहीन बनेका छन्। किनकि अध्यात्म ज्ञान र प्रज्ञाका अनुपम दर्शन नैतिकता, अनुशाशन, दया, माया करुणा र समभावले ठाउँ छोडी लोभ, घमण्ड, यौनप्यास, मदिरा सेवन धुम्रपान जस्ता कु-अभ्यासलाई प्राथमिकता दिइ सदियौंदेखि संसार यसैमा अड्यो।
आज यसैको फलस्वरुप बिदेसिको जीवन ‘ब्रेड एण्ड सेक्स’ मा नै जाक्किइन पुग्यो। आज उनीहरुको जीवन काम, रोटी र यौन तृप्तिमा नै अल्झेको हामी पाउँदछौं। यही अज्ञानरुपी ज्ञान र अन्धकारमा आज संसार भड्की रहेको छ।
जहाँ धर्म नाश हुन्छ, त्यहाँ अन्याय, अत्याचार, ठगी र दलाल प्रवृत्तिले आश्रय पाउँछ र अन्त्यमा भगवान श्री कृष्ण जस्ता महामानको पदार्पण भई यी सब कुराको नाश गर्ने कुरा निश्चित छ र धर्मलाई आफ्नो कर्म अनुसार चल्न दिने निश्चित छ।
तसर्थ संसारका ज्ञानी र ज्ञातालाई यो कुराको बिचार आओस् कि अब केवल दश बर्षमात्र संसारका समस्त मानिसलाई गास, बास र लत्ता कपडाले सुशोभित गरी सबैलाई दस बर्षसम्म नैतिकता र इमान्दारिताको पाठ सिकाऔं।
निष्ठा र अनुशासनको ज्ञान फैलाउँ र सकिन्छ भने राम, कृष्ण, बुद्ध, क्राइष्ट, पेगम्बर, जैन्मुनी, गुरुनानक, लाओत्से, कन्फुसियस, साइबाबा, शिवपुरी बाबा, स्वामी बिबेकानन्द, ओशो रजनीश, विश्वका प्रसिद्ध बैज्ञानिक जस्ता मानिसको निर्माण गरौँ र विश्वलाई ज्ञान र प्रज्ञाको शिखरमा पुर्याउने कमसेकम प्रयत्न त गरौं। अनि मात्र ‘तमसोमा ज्योर्तिगमय’ को उदय हुन्छ।
किनकि संसार त ज्ञानी र प्राज्ञिकले मात्र चलाउने हो न कि दुष्ट, लोभी र घमण्डीले। अविवेकी मानिसहरुले संसार चलाएको हुनाले संसमारमा ब्यभिचारीको संख्या बढेको छ। यसलाई रोकौं र सद्बिचारका शासकलाई देश चलाउन दिउँ, सच्चा ज्ञान र प्रज्ञालाई अघि बढाऔं।
‘तमसो मा ज्योर्तिगमय’ भनेको यही हो। ज्ञान र प्रज्ञा जस्तो विज्ञान बन्न सक्तैन। त्यसैले त भनिन्छ ‘ज्ञान र प्रज्ञा मर्दछ हाँसेर, रोइ बिज्ञान मर्दछ’। ज्ञान एक ठाउँमा आएर तृप्त हुन्छ भने बिज्ञान सधैं अतृप्त रहन्छ। तसर्थ यदि जीवन झलमल्ल र ज्योर्तिमय बनाउनु छ भने परमात्मा र प्रकृतिसँग जोडी हेरौं जीवन कति धन्य बन्नेछ भन्ने कुरा आफसेआफ महसुश हुनेछ।
तेश्रो त्यस्तै संसार मृत्युमय छ। यहाँ जन्मने सम्पूर्ण प्राणीहरु एक अनिश्चित दिन मर्ने पर्दछ। किनकि मृत्यु अवश्यम्भावी छ। यस्तो संसारमा मानिसहरु आफ्नो हैसियत बिर्सिइ अजम्बरी नै हुन्छु भन्ने खोक्रो दम्भ र घमण्ड लिई संसारमा एकले अर्कोलाई थिचोमिचो गर्छन्।
यो मानिसको अज्ञानको पराकाष्ठा हो। यस्तो अस्थिर जीवनमा के को लोभ, मोह, रिस के को लाभ र हानि? तर के गर्ने यी सबै कुराबाट मानिस अन्धो छ। मन कठोर र भ्रमित छ। चेतनामा खडेरी परेको छ। त्यसैले त होला संसार सधैं कोलाहल र भिडमा अल्मइरहेको छ।
रोदन छ, चित्त शान्ति छैन। यसबाट मुक्ति पाउन हरेक दिन बिहानको उदयमान सूर्यको आवागमनमा ‘ओहो! म बाँचेकै छु हगी’ भनी हेक्का राख्नु पर्दछ र जीवनलाई बुझ्न भारत, बनारसको मनिकर्निका घाट, नेपालको पशुपति आर्यघाट र यस्तै मानिस जलाउने र गाढ्ने स्थानको दृश्याबलोकनले मानिसलाई जीवन के हो भन्ने कुराको गहिरो बोध गराउँदछ।
मृत्यु हाम्रो अगाडि होइन, पछाडि पिछा गरिरहेको हुन्छ। याद रहोस् कुनैपनि बेला यसले समात्न सक्छ। अतः यसबाट विजय प्राप्त गर्न यसलाई सधैं हेक्का राखेर यसबाट स्वतन्त्र बन्ने प्रयास गर्नुपर्दछ, जसबाट जीवन लम्बिन सक्ने धेरै सम्भाबना हुन्छ।
आफू भौतिक संसारमा रहे पनि दिनको एक पटक बिहान वा बेलुका कुनै पनि बेला परमात्मा र प्रकृतिसँग जोडिन खोज्नु अत्यन्त लाभ दायक हुन्छ। यो वाणी ठूला महामानवले अनुभव गरी परिणाम निस्किसकेको कुरा हो। रावण ऐश्वर्यवान र बलवान भइकन पनि शिव पूजामा व्यस्त रहन्थे।
हनुमान परम बलशाली भइकन पनि सिताराम भक्त थिए। को थिएनन् भगवानको भक्त? विश्व प्रसिद्ध बैज्ञानिक आइन्स्टाइन पनि लुकी लुकी गीता पढ्थे रे। स्वामी बिबेकानन्द रामकृष्ण परमहंशको संगतमा लागेर प्रख्यात अध्यात्मवादी बनेका थिए। सुकरातले पनि धेरैजसो ज्ञान गीताबाट लिएको देखिन्छ।
नेपालका शिवपुरी बाबा जो आफ्नो स्वधर्म र बिचारमा अडिग रहेकाले र भगवानको अनन्य भक्त भएकाले उनका आन्तरिक शक्ति र बिचार प्रबल थियो र थोरै समयमानै विश्व भ्रमण गरी एकताका विश्व हल्लाउने बेलायतकी माहाराीनबाट उनको ठूलो प्रशंसा भएको थियो।
अतः ज्ञानवान र प्रज्ञावान भएर बस्न सकेमा मृत्युदेखि डराउनु पर्दैन र जीवन जतिसम्म रहन्छ तबसम्म धन्य र प्रशंसनीय बन्दछ। अतः जीवनभर सबै कुरामा सधैं अमृतपान गर्ने गर, न कि विषपान। यसबाट मृत्यु आफैं सिथिल भै आफूखुसी मृत्युबरण गर्न पनि सकिन्छ। यही हो ‘मृत्योर्मा अमृतम गमय’।
तसर्थ वेदका यी तीन वाणीलाई बिचार गरी जसले आफ्नो जीवन मार्ग प्रशस्त गर्दछ उसको जीवन बाचुन्जेल धन्य बन्दछ भन्ने कुरामा कसैको पनि दुईमत रहँदैन।
Facebook Comment