मात्र नेपालीको लागि नेपाल एकीकरण

खगेन्द्रराज सिटौला
५ मंसिर २०८० ८:४३

केही मान्छेहरुले भ्रमपूर्ण प्रचार गरिरहेका छन् कि पृथ्वीनारायणले हतियारको बलमा मात्रै नेपालको एकीकरण गरेका हुन्।

अझ केही मान्छेहरु त पृथ्वीनारायण शाहलाई विस्तारवादीसम्म भन्न पुग्छन्। अझ अगि बढेर त्यो प्रवृतिका मान्छेहरु पृथ्वीनारायण शाहले बलजफ्ती अन्य राज्यहरुलार्ई आफ्नो राज्य गोर्खामा गाभेको आरोप पनि लगाउँछन्।

तर तथ्य यो होइन। न त पृथ्वीनारायण शाह विस्तारवादी थिए, न त अरु राज्यहरु गेर्खामा गाभेको नै हो। गोरखामा अरु राज्यहरु गाभ्ने उद्दे्ेश्य मात्र पृथ्वीनारायणको अभियान भएको भए यो देशको नाम उनले नेपाल नराखेर गोरखा राख्ने थिए। तर उनले तेसो गरेनन्।

गोरखाको विजय अभियानलाई विनम्रतापूर्वक नेपाल एकीकरण अभियानमा समर्पण गरेर आफूलाई किरात राजा यलम्बर, लिच्छवी राजा अंशुवर्मा, मल्लराजा यक्षमल्ल आदि सबैको विरासत प्रमाणित गरे।

जित्ने गोरखा राज्य र गोरखालीहरु प्नि नेपाल र नेपाली भएर जिते हार्ने अन्य राज्यहरु पनि नेपाल र नेपाली भएर जिते। सारमा यो कसैको हार भएन जित भयो केवल नेपाल र नेपालीको।

पृथ्वीनारायण शाहको अभियान गोरखा राज्यको विस्तार थिएन र एकीकरण नै थियो भन्ने तथ्यालाई विद्वान जगमान गुरुङको निम्न भनाइले प्रमाणित गर्दछ वा भ्रमको निवारण गर्दछ।

‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सन्दर्भमा कुरा गर्दा राज्यविस्तार र एकीकरण एर्व समीकरणका बारेमा राम्ररी स्पष्ट गरिनु अत्यवाश्यक छ। कुनै एउटा स्वतन्त्र राष्ट्रले अर्को स्वतन्त्र राष्ट्रलाई बल प्रयोग गरेर आफ्नो कब्जामा लिनुलाई राज्यविस्तार भनिन्छ। यसको विपरित कुनै एउटा विशाल राष्ट्र छिन्नभिन्न भएर अनेकन् राज्यमा परिणत भई कालान्तरमा त्यस राज्यमध्येका एउटा राज्यले पुनः त्यस विशाल राष्ट्रलाई एकसूत्रमा आवद्ध गर्दछ भने त्यसलाई एकीकरण भनिन्छ। आजभन्दा पन्ध्र सय वर्षअघि नै नेपाल राष्ट्र अहिलेको जति नै विशाल थियो भन्ने कुरा ऐतिहासिक प्रमाणबाट सिद्ध भइसकेको छ। श्री ५बडामहाराजाधिराज पृथ्वीनारायण शाहभन्दा पहिलेका राजाहरुले पनि विशाल राज्य आर्जेका थिए। तर त्यो दिगो रहन सकेन। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह योगक्षेमको नीतिका ज्ञाता भएकोले त्यस नीतिको कुशलतापूर्वक प्रयोग गरेर टुक्रिएको नेपाललाई पुनः एकसूत्रमा आवध्द गर्न उनी सफल भए। आज हामीलाई सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्र नेपालका स्वतन्त्र जनता नेपाली भनेर गर्व गर्न सक्ने सौभाग्य श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्राप्त भएको हो। त्यसकारण श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको अभियान नेपाल राष्ट्रको एकीकरण हो भन्ने सिध्द हुन्छ”।

( लेखक खगेन्द्रराज सिटौलाको पृथ्वीविचार र व्यवहार नामक किताब पहिलो संस्करण २०६१ र दोस्रो संस्करण २०६९ को प्राक्कथनबाट)

यथार्थमा पृथ्वीनारायण शाहले विद्वान जगमान गुरुङले भनेजस्तै छिन्नभिन्न भएको नेपाल र नेपाली संस्कृतिलाई पुनरसंगठित गरेका मात्र हुन्। जनताको चाहना र समर्थन थिएन भने यो संभव पनि हुने थिएन। हतियारको प्रयोग वा बलले मात्र यो संभव हुने कुरै होइन।

किनभने हतियार वा बल प्रयोग गर्न पनि जनताको समर्थन नै चाहिन्छ। यदि जनताको समर्थन थिएन भने यति धेरे जातजाति भाषाभाषी भएको मुलुक यति सजिलै एकीकृत वा एकीकरण हुने नै थिएन।

भए पनि जातीय, धार्मिक,साँस्कृतिक वा भाषिक कुनै द्वन्द्व नभई यति लामो टिकेर रहने नै थिएन। वास्तवमा पृथ्वीनारायण शाहले तत्कालीन नेपाली जनताको भावना र नेपालको ऐतिहासिक आवश्यकतालाई वस्तुनिष्ठ भएर ठम्याउन सकेको थिए।

त्यसैले उनले यो भावनाको सही किसिमले प्रतिनिधित्व गर्दै काम र नाममा उनले उचित किसिमले तलामेल मिलाउन सकेका हुन्। माथि भनिए जस्तो उनले नेपालको उचित किसिमले एकीकरण गरको हो।

हरेक राज्यका जनता भावनात्मक रुपमा पनि एकीकरणको मूल मर्म र भावधारमा बगिरहुन् भनेर नै उनले एकीकृत राज्यको नाम नेपाल राखेका हुन्।

यसकारण राज्यको नाम पुरानो नेपाल उनको छनोटमा परेको हुनुपर्छ कि नेपाल नामले त्यस बखतमा विभाजित भएर र पछि पृथ्वीनारायणको एकीकरणको अंगालोमा बाँधिएका सबै पूर्व राज्यका संस्कृति भावधारा र गौरवपूर्ण इतिहासको प्रतिनिधित्व गर्ने हुनाले।

फेरि पनि दोहर्‍याएर भन्नै पर्ने हुन्छ कि अरु राज्यहरुले पृथ्वीनारायण शाहले नेतृत्व गरेको गोर्खाली फौजसँग लडाई त हारे तर परीणाममा उनीहरुले नेपाल अधिराज्यका नेपाली भएर जिते भने गोर्खा राज्यले लडाईं त जित्यो तर परिणामा गोर्खाको जित पनि नेपाल र नेपालीको जित भयो।

गोर्खाको विजयलाई पृथ्वीनारायण शाहले फराकिलो छाति बनाएर नेपालमा वलिदान दिएका हुन् विलय गराएका हुन्।

यदि पृथ्वीनारायण शाहले आफ्नो र आफ्ना वंशका लागि मात्र गोरखा राज्यलाई विस्तार गरेका थिए भने त उनले पनि पहिलाका राजाहरुले जस्तै राज्य भाइ, छोराहरुलाई अंश गरे जस्तो विभाजन गर्ने थिए।

अनि मेरा दुखले अज्र्याका यी मुलकहरु मेरो र मेरा सन्तानको फूलबारी भन्ने थिए। तर उनले त्यसो पनि गरेनन् र त्यसो पनि भनेनन्। बरु दिल खोलेर भने यो सबै जनताको साझा फूलबारी हो। राज्य अविभाज्य हो राज्य जनताले थमेर खानु मेरा सन्तानले थामेनन् भने पनि।

त्यसैले उनले राज्य टुक्र्याउन दिएनन् बरु टुक्र्याएर सानो राज्याका राजा हुन चाहने प्रिय भाइहरुलाई फेरि यो कुरा दोहर्‍यायौं भने तिमीहरु टुक्रिने छौ राज्य टुक्रिने छैन भनेर अभिवाज्य नेपालको लागि दृढ भएर उभिए।

यसबाट पनि प्रमाणित हुन्छ कि पृथ्वीनारायण शाहा विस्तावादी पनि थिएनन् र विशाल नेपाल शाह राजाहरुको लागि भएको थिएन। बलियो नेपाल नेपाली जनतालाई बलियो बनाउनको लागि भएको थियो।

त्यसबेलाका हरेक साना राज्यहरुका कलह, अस्थिरता, अति कर, कमजोर उत्पादन र व्यापारबाट आजित भएका थिए ती राज्यका जनताहरु। उनीहरुको मनमा पनि बलियो नेता राजाले बलियो राज्य दियोस् भन्ने थियो।

त्यही भावनाको प्रतिनिधित्व गर्दै नेपाली धर्तीमा पृथ्वीनारायण शाहा अघि बढेका हुन्। पृथ्वीनारायण शाहाले सबै राज्यका जनताको भावनाको प्रतिनिधित्व गरेकोले नै तेसबेला उनी नेपालका निर्विकल्प नेताराजा हुन सफल भएका हुन्।

पृथ्वीनारायण शाहलाई अधिकाँस राज्यका जनताले खुलेर साथ दिनुको कारण पनि यही हो। जनताले चाहेको योग्य नेताराजा याने युग पुरुष पृथ्वीनारायणमा पाएकोले नै सबैको साथ सहयोगले उनले एकीकरणका हरेक मोर्चामा सफलता प्राप्त गर्दै अघि बढ्न सकेका हुन्।

आ-आफ्ना निहित स्वार्थ बोकेकाहरु वा नेपाल एकीकरणको ऐतिहासिक आवश्यकता र महत्व नबुझेका हठी र ढिलो बुझ्नेहरु माथि महान एकीकरण छिटो सम्पन्न गर्नको खातिर मात्र पृथ्वीनारायण शाहले आवश्यकता अनुसार बल प्रयोग गर्नु परेको थियो।

ठूलो काम गर्दा केही सानातिना कमजोरी हुन सक्छन् केही तलमाथि हुन सक्छन्। पृथ्वीनारायण शाहको योगदानको तुलनामा उनका गल्ती कमजोरी तुलना नै हुन सक्तैनन्।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा जनतालाई हात लिने पहिलो र बल प्रयोग गर्ने कुरालाई दोस्रो प्राथमिकता क्रममा राखेका थिए जहिल्यै। उनको निम्न भनाइले पनि यो कुराको पुष्टि हुन्छ ‘पुरुब, पश्चिमका दुनियाँ हात गरी नेपाल लियाथ्या।’

पृथ्वीनारायण शाहाले जनतालाई हात लिएर जनताकै साथ लिएर जतताकै लागि बलियो र विशाल नेपालको एकीकरण अभियान अगाडि बढाएर नेपाली जनतालाई विशाल नेपाल दिएर विदा भएका हुन् नेपाल लोकबाट।

त्यति मात्र होइन उनले नेपाल जोगाउने र जगाउने सर्वकालीन सदा वहार पृथ्वीविचार पनि दिएका छन् भन्ने वास्तविकतालाई न तोडमोड नै गर्नु हुन्छ न अवमूल्यन नै गर्नु हुन्छ। यसो गरेमा यो नेपालको राष्ट्रिय हित विपरितको कार्य हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *