समुद्रमा चीन-अस्ट्रेलिया द्वन्द्व, अस्ट्रेलियाका नौसैनिकमाथि सोनार पल्सबाट आक्रमण

डिसी नेपाल
३ मंसिर २०८० १५:४६

काठमाडौं । अस्ट्रेलियाले चीनले आफ्नो नौसैनिक बललाई सोनार पल्सले आक्रमण गरेको आरोप लगाएको छ। अष्ट्रेलियाली नौसैनिकहरूलाई नोभेम्बर १४ मा जापानको विशेष आर्थिक क्षेत्र नजिकैको अन्तर्राष्ट्रिय जल क्षेत्रमा चिनियाँ युद्धपोतको ‘असुरक्षित र अव्यवसायिक’ आचरणका कारण सामान्य चोटपटक लागेको बताइएको छ।

रोयल अष्ट्रेलियन नेभीको एचएमएस टुवुम्बा जहाज संयुक्त राष्ट्र संघको प्रतिबन्ध लागू गर्ने मिसनमा जापान नजिकैको अन्तर्राष्ट्रिय जलक्षेत्रमा सञ्चालन भइरहेको बेला उक्त घटना भएको हो।

अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्ल्सले शनिबार आफ्नो सरकारले एचएमएस टुवुम्बा र पिपुल्स लिबरेशन आर्मी-नेवी युद्धपोतबीचको भिडन्तको बारेमा चिनियाँ पक्षलाई ‘गम्भीर चिन्ता’ व्यक्त गरेको बताए।

रिचर्ड मार्ल्सका अनुसार अस्ट्रेलियाको जहाज आफ्नो निर्धारित भ्रमणमा जापानको बन्दरगाहतर्फ जाँदै थियो, जब चालक दलका सदस्यहरूले जहाजको प्रोपेलरमा माछा मार्ने जाल अड्किएको थाहा पाए। जहाजमा उपस्थित गोताखोरहरूले प्रोपेलरबाट जाल हटाउन पानीमुनि अपरेशन सुरु गरे।

अष्ट्रेलियाका रक्षामन्त्रीले भनेअनुसार यस अपरेशनको बारेमा सन्देश सामान्य समुद्री च्यानलहरू मार्फत पनि पठाइएको थियो। त्यसपछि पीपुल्स लिबरेसन आर्मी–नेभीको युद्धपोत खतरनाक रुपमा अस्ट्रेलियाको जहाजको नजिक आयो ।

अष्ट्रेलियाली गोताखोरहरूले प्रोपेलरबाट जालहरू हटाउँदै थिए र उनीहरूले चिनियाँ नाविकहरूलाई उनीहरूको जहाजलाई टाढा लैजान अनुरोध गरे। रिचर्ड मार्ल्सका अनुसार ‘दोस्रो चेतावनी जारी भएको लगत्तै पीएलए विध्वंसक डिडीजी-१३९ ले अष्ट्रेलियाली गोताखोरहरूको सुरक्षालाई खतरामा पार्ने गरी आफ्नो हल-माउन्ट सोनार सञ्चालन गरिरहेको भेटियो र उनीहरूलाई पानीबाट बाहिर निकालियो।

अस्ट्रेलियाका रक्षामन्त्रीले चिनियाँ विध्वंसक विमानबाट आएको सोनार पल्सको सम्पर्कमा आएका गोताखोरहरूलाई सामान्य चोटपटक लागेको आरोप लगाएका छन् । “यो असुरक्षित र अव्यवसायिक आचरण हो,” मार्ल्सले भने।

उनले अगाडि भने “हाम्रा कर्मचारीहरूको सुरक्षा र कल्याण हाम्रो शीर्ष प्राथमिकता हो।” युकेको डाइभिङ मेडिकल एडभाइजरी कमिटीका अनुसार उच्च स्तरको पानीमुनि ध्वनि (सोनार पल्स) को सम्पर्कमा आएका गोताखोरहरूले चक्कर लाग्ने, बहिरापन वा अन्य चोटपटक अनुभव गर्न सक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *