कस्तो छ नेपाल र यमनबीचको हेड टू हेड?
काठमाडौं। फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ।
नेपाल फिफा वरियतामा १७३ औं स्थानमा छ भने यमन १५६औं स्थानमा रहेको छ। नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन्। जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो।
नेपाल र यमन पछिल्लो पटक २०१८ को मार्च २७ मा एएफसी एसियन कपका लागि खेलेका थिए, जसमा यमन २-१ ले विजयी भएको थियो। सो खेलमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गरेका थिए। यो नै नेपालले यमनविरुद्ध गरेको अहिलेसम्मको एक मात्र गोल हो।
यसअघि २०१७ को जुन १३ मा नेपाल र यमनबीचको एसियन कपको छनौट खेलमा खेल गोलरहित बराबरीमा रोकिएको थियो।
त्यसअघि नेपाल र यमनबीच २०१४ को मार्च २५ मा मैत्रीपूर्ण खेल भएको थियो। जसमा यमनले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेपाल र यमनबीच पहिलो खेल सन् २००० को फेब्रुअरी १० मा भएको थियो । एसियन कपको छनौट अन्तर्गतको सो खेलमा नेपाल ३-० ले पराजित भएको थियो।
विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ। नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन्।
त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो। गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४-० गोलअन्तरले पराजित भएको थियो।
Facebook Comment