इजरायल-हमास सम्झौताको यो बिन्दु किन यति महत्त्वपूर्ण छ ?
काठमाडौं । गत अक्टोबर ७ देखि हमासले बन्धक बनाएका इजरायलीहरुका सम्बन्धमा बहुप्रतिक्षित सम्झौता भएको छ ।
प्रारम्भिक चरणमा चार दिनसम्मको अस्थायी युद्धविरामको बदलामा महिला र बालबालिकासहित ५० बन्धकहरूलाई रिहा गरिनेछ।
यसबाहेक, प्रत्येक थप १० जना बन्धकहरूलाई रिहा गरेपछि थप एक दिन युद्धविराम हुने पनि सम्झौतामा भनिएको छ।
यो सम्झौताको एक महत्त्वपूर्ण भाग हो किनभने केही बन्धकहरूका परिवारहरूले बीबीसीलाई भनेअनुसार तिनीहरू आंशिक सम्झौता चाहँदैनन् जसमा केही बन्धकहरूलाई मात्र रिहा गरिन्छ।
यस बुँदाले भविष्यमा थप बन्धकहरूलाई रिहा गर्न अनुमति दिने अपेक्षा गरिएको छ।
रिहा हुने पहिलो ५० जनामध्ये अधिकांश दुई देशको नागरिकता भएका इजरायली नागरिक हुने विश्वास गरिएको छ ।
मंगलबार बिहान इजरायलको प्रधानमन्त्रीको कार्यालयले हमासद्वारा बन्धक बनाएका ५० इजरायली नागरिकलाई रिहा गर्न सहमत भएको जनाएको छ । यसका लागि चार दिन युद्ध रोकिनेछ ।
इजरायलले आफ्नो विज्ञप्तिमा भनेको छ- “इजरायल सरकार सबै बन्धकहरूलाई उनीहरूको घर फर्काउन प्रतिबद्ध छ। आज सरकारले यो उद्देश्य हासिल गर्न पहिलो चरणको रूपरेखालाई स्वीकृत गरेको छ, जसअनुसार ५० जना बन्धकहरू, जसमा महिला र बच्चाहरू छन्, तिनीहरू चार दिनमा रिहा हुनेछन्, जुन अवधिमा युद्ध बन्द हुनेछ।”
“इजरायली सरकार, इजरायली सेना र सुरक्षा सेवाहरूले सबै बन्धकहरू घर नफर्केसम्म र हमासलाई पूर्ण रूपमा समाप्त नगरेसम्म युद्ध जारी राख्नेछन्। यसले गाजाबाट इजरायललाई कुनै नयाँ खतरा नरहेको सुनिश्चित गर्नेछ।”
Facebook Comment