घनघोर दुःख
घनघोर दुःख सागर तर्नु छ भाइ
नगरे घमण्ड जानु छ हामीलाई।
यो दुई लाइनको कविता माहाकवि लक्ष्मीप्रसाद देबकोटाले सम्भवत ७/८ बर्षको सानै उमेरमा रच्नु भएको सबैभन्दा पहिलो कबिता हो जुन अत्यन्त गहिरो र मार्मिक छ। सानै उमेरमा यस्तो सोचले भरिएको बिचार गरी शब्द छन्दमा कवितात्मक शैलीमा प्रश्तुत गर्न सक्नु भनेको पक्कै पनि चानचुने कुरा होइन।
संसारलाई बुझ्न र मनन गर्न मानिसलाई धेरै समय लाग्दछ। तर देवकोटा त्यस्ता व्यक्ति थिए जो बिचारमा महासागर उर्लिए जस्तै उर्लिई हिँड्दा हिँड्दै काव्य र खण्डकाब्य रच्न सफल थिए। एक सिंगो चुरोटको सर्कोहरुमा लामा लामा कविता लेखी यत्रतत्र छरेर बस्थे।
देवकोटा भन्छन्-संसार एक घनघोर दुःख सागर हो। यहाँ जन्म लिएपछि जीवमा अनेक दुःख कष्ट, झन्झट र समस्याको सामना गर्नै पर्दछ।
यसैलाई नै आखिर संसार अथवा भवसागर भनिन्छ। जीवन त एक बुलबुले पानीको फोका सरह हो जुन केही समयपछि छोडेर कहाँ जान्छ कहाँ कसैलाई थाहा छैन।
यहाँ मानिसका अगाडि विज्ञानले झिलिमिली त गरेको छ, तर प्रत्येक मानिसको जीवन हेर्ने हो भने यो दुःख, पीडा र सन्तापको भवसागरमा छ। यहाँ दुःख, पीडा, ग्लानी, ताप, सन्तापले हरेक मानिसलाई डसिरहेका छन्।
जीवन जीउन त्यत्ति सजिलो छैन सज्जन, र जीउने मार्गपनि एकै किसिमको छैन। कला त पण्डित, सन्त महन्त, ज्ञानीवरले सिकाउँछन् तर त्यो एक त नियमित पालना हुँदैन या गर्न गराउन बडो कठिन छ।
सिकाउने ज्ञानीहरु नै भित्रभित्र राप ताप र संतापमा छन्। किनकि संसारमा ताप, पीडा र कष्टबाट मुक्त व्यक्ति पाउन गाह्रो छ। आखिरमुक्त भएको छु भन्नेहरुपनि त यही संसारको भवसागरमा उही डुंगा चलाइ हिँडिरहेको न हो।
अर्काको अगाडि आँखा पुछेर शान्त र मुसुक्क हाँसेको त हो नि। जसरी एउटा गुलवदनले शृंगारपटार गरी सडकको झ्यालबाट हेरी दुनिया हँसाइ रहेकी हुन्छे। सब सन्त पुरुषपनि अरु गुरुहरुको सहारामा रही पानीमाथिको ओभानोमा रहेकामात्र हुन्।
भनिन्छ, ‘गतानु गतिको लोक’ संसार र समाज जता जान्छ उतैतिर सबै लाग्ने पर्दछ। यो प्रकृतिको नियम हो। संसार र प्रकृतिलाई नटेरी उल्टो जीवन बिताउने सबै यो भबसागरमा अकालमा मृत्युवरण गर्दछन्। यो घनघोर दुःख सागर प्रत्येक मानिसको लागि एक सुनामी जस्तै हो।
जुन प्रवाहमा जीवनका हरेक चिज भेटिन्छ। घर, गाडी, धन सम्पत्ति, अन्न अनाज, लुगाफाटा, गरगहना र केटाकेटीका खेलौना आदि। यस्तो भेल र बाढीमा जोगिन कोही राम राम, कोही कृष्ण कृष्ण, कोही अल्लाह, कोही जेसस, त कोही आफ्ना भगवानको स्तुति गरी भगवानसँग जोडिन पुग्छन्। चाहे जो सुकै हुन्। कति त्यो भेलमा बगी विलीन हुन्छन् भने कति बाँचेर उम्किइ यता उता हल्लिरहेका हुन्छन्।
जे भएता पनि यो दुःखको भवसागरमा आफ्नो जीवनको डुंगा त फेरि आफैंले नै चलाउने हो र विभिन्न ब्यवधानबाट उम्किएर किनारामा पुग्ने हो। यसमा कतिको जीवनमा झुलुक्क घाम त लाग्छ तर उही सागरमा जीवन फेरि उही टलपल टलपल गरी डुंगा चलिरहन्छ, जीवन रहेसम्म।
देवकोटा भन्नुहुन्छ, ‘यो घोर दुःखी संसारलाई बुझ्न बुद्धि, ज्ञान र बिबेक लगाई संसारलाई एकै चोटी हेर्ने बानी बसाल्नु पर्दछ। अनिमात्र संसार भवसागर हो भनी भन्न सकिन्छ।’
एकै समयमा कोही मारिरहेका छन्, कोही मरिरहेका छन्, कोही जन्मिरहेका, कोही मर्न लागेका, कोही खाइरहेका ,कोही खान नपाएर छटपटाइरहेका, कोही हाँसी रहेका, कोही रोइरहेका, कोही दौडिरहेका, कोही लौरो टेकेर बिस्तारै हिँडिरहेका, कोही काम गरिरहेका, कोही बेकाममा हिँडिरहेका कोही कोही व्यभिचार गरी सम्पत्ति कमाउने, कोही मिहेनत गरी हरसमय काम गर्ने, कोहीले कुन धर्म बोकेका छन् त कोही कुन धर्म बोकेका।
यो सबै साक्षी भइ हेर्दा के साँच्चै देवकोटाले भन्ने जस्तो संसार घनघोरको दुःख सागर छैन र? त्यसै कारणले देवकोटा अर्को कविताको लाइनमा सारा संसारका मानिसलाई ‘न गरे घमण्ड जानु छ हामीलाई’ भनी बारम्बार भनिरहेका छन्।
तसर्थ बाचुन्जेल आर्जन गरिएका शिक्षा दिक्षा, मान पद्वी, धन दौलत, नातागोता, कुटुम्ब, समाज, राष्ट्र र विश्व नै बाचुन्जेल अल्झाई रहने एक पोका र पन्तरामात्र हुन्। यसले सम्पूर्ण प्राणीलाई क्षणिक बाहेक खास चीर स्थायी आनन्द दिन सक्दैन।
यो भव सागरमा आएपछि देवगणसमेत असंख्य दुःख पाएर विलीन भएका छन्। सत्य युगमा ब्रम्हा, बिष्णु र महेश, त्रेता युगमा राम, लक्ष्मण र सीता र द्वापर युगमा श्री कृष्णले पनि पनि त्यत्तिकै दुःख र कष्ट पाएका थिए भने यो कलियुग जहाँ मानिस लोभी पापी व्यभिचारी र दुराचारी भई एक छिनको आनन्दमा रमाइ हिँड्ने मानिसले महा दुःख कष्ट र सन्ताप नभोग्ने त कुरै भएन।
तसर्थ देवकोटा भन्छन् घमण्ड बिल्कुल नगर। बरु सक्छौ भने आफ्नो साख बटुल्न इमान्दार, अनुशाशनशील, नम्र बोलीबचन बोल्ने गर। कर्म कीर्ति करुणा र दया र पवित्र माया गर्ने गर। यही कृतकृत कामको सम्झना अनन्तकाल सम्म रहने छ।
तसर्थ देवकोटाजीले सानै उमेरमा जीवनको गुह्य कुराको उजागर गरी जीवनलाई कसरी र कुन मोडमा लैजाने भन्ने कुराको सन्देश यिनै आफ्ना दुई लाइनको छोटो मार्मिक कविता प्रसंगबाट प्रष्ट्याउन प्रयत्न गर्नु भएको छ-
घनघोर दुःख सागर तर्नु छ भाइ
नगरे घमण्ड जानु छ हामीलाई।
Facebook Comment