इजरायलले युद्धविराम सम्झौताअन्तर्गत रिहा हुने प्यालेस्टाइनीको सूची सार्वजनिक गर्यो
काठमाडौं । इजरायल र हमासबीच भएको सम्झौताअनुसार तेल अभिभले रिहा गर्न सकिने ३ सय प्यालेस्टाइनीको सूची सार्वजनिक गरेको छ ।
यो सूची इजरायलको न्याय मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिएको छ। यसमा रिहा हुने व्यक्तिहरुको नाम, उमेर र अभियोग उल्लेख छ ।
रिपोर्टका अनुसार पहिलो ब्याचमा १५० जना मात्रै रिहा हुनेछन् । यस बारे थप जानकारी चाँडै खुल्न सक्छ।
३०० जनाको सूचीमा १४ वर्षदेखि ५९ वर्षसम्मका २७४ जना पुरुष छन् । तीमध्ये धेरैजसो १७-१८ वर्षका छन्।
उनीहरुमाथि ज्यान मार्ने प्रयास, बम प्रहार, विष्फोटक पदार्थ बनाउने, ढुङ्गा हाने, शंकास्पद सङ्गठनसँग सम्पर्क राख्ने, शरीरमा क्षति पुर्याउने, आगजनीलगायतका आरोप छन् ।
अर्कोतर्फ हमासले पनि यो सम्झौता अन्तर्गत १५० प्यालेस्टिनीलाई रिहा गर्ने बताएको छ ।
मंगलबार, ह्युमन राइट्स वाचले बीबीसीलाई भनेअनुसार हाल लगभग ७,००० प्यालेस्टिनीहरू इजरायलको हिरासतमा छन्। जसमा २ सय महिला र ६० बालबालिका रहेका छन् ।
एचआरडब्लुका कार्यक्रम निर्देशक सारी बाशीले बीबीसीको समाचार कार्यक्रम अवर आवरलाई बताएअनुसार हिरासतमा रहेका केही बालबालिकाहरूमाथि ढुङ्गाले हान्नेजस्ता साना घटनाहरूका आरोप थिए।
उनले प्यालेस्टिनी बालबालिका विरुद्ध सैन्य कानून अन्तर्गत मुद्दा दर्ता गरिएको बताइन् । उनीहरूलाई मध्यरातमा पक्राउ गरियो, वकिल वा अभिभावकविना सोधपुछ गरियो र सानातिना अपराधमा लामो समयसम्म जेलमा राखियो।
Facebook Comment