अराजक कहलिएका दुर्गा प्रसाईंसँग सरकार र प्रतिपक्ष दुवै किन त्रसित छन्?
काठमाडाैं। दुर्गा प्रसाईंले ‘नागरिक आन्दोलन’ नाम दिएर आज मंसिर ७ गतेका दिन राजधानीमा जनप्रदर्शन आयोजना गरेका छन्। उनले देशैभरीबाट मानिसहरुलाई यो प्रदर्शनमा सहभागी हुनका लागि आउन आह्वान गरेका छन्।
यो प्रदर्शनमा लाखौंको संख्यामा जनता सहभागी हुने उनले दावी गरेका छन्। उनको दावीअनुसार मानिसहरु आउलान् वा नआउलान् त्यो हेर्न बाँकी छ। तर, प्रारम्भिक अनुमानअनुसार आज राजधानीमा ठूलो संख्यामा मानिसहरु जम्मा हुने भने निश्चितजस्तै छ।
दुर्गा प्रसाईं कुनै समय अराजक कहलिन्थे। उनको बोल्ने शैली र व्यवहारहरु हेर्दा मानिसहरुले उनलाई ‘बौद्धिक’ स्तरमा राखेर हेर्न मानिसहरु हिचकिचाउँथे। उनले धेरै अन्तरवार्ता दिन्थे तर धेरैजसो ‘भ्युज’ खोज्ने युट्युब च्यालनहरुमा आउँथे।
प्रतिष्ठित र कहलिएका अन्तरवार्ताकारहरुले उनको अन्तरवार्ता विरलै लिन्थे। तर, उनको आन्दोलनको ठिक एक दिनअघि कहलिएका अन्तरवार्ताकार भूषण दाहालले आफ्नो शो ‘ब्राभो डेल्टा शो’मा प्रसाईलाई स्थान दिए।
मिडिया हाउसले त्यो अन्तरवार्ता प्रसारण रोक्यो, दाहालले युट्युबमार्फत अन्तरवार्ता रिलिन गरे। यो घटनाले प्रसाईको स्तर केही वर्ष पहिलेकोभन्दा अहिले धेरै माथि पुगिसकेको बुझ्न गाह्रो छैन।
के प्रसाई देशको एउटा वर्गलाई नै नेतृत्व दिने हैसियतका व्यक्ति हुन्? केही महिना पहिलेको कुरा हुन्थ्यो भने यो प्रश्नलाई नै हाँसोमा उडाइन्थ्यो होला। तर, अहिले परिस्थिति फेरिएको छ। प्रसाईले एउटा वर्गको नेतृत्व गरिरहेका छन्।
देशको शासन व्यवस्था नै परिवर्तन गर्न चाहने त्यो वर्गले उनलाई आफ्नो नेता मानिरहेका छन्। उनले व्यवस्था परिवर्तनको एजेण्डा लिएर मानिसहरुलाई राज्यविरोधी प्रदर्शनमा उत्रिन आह्वान गर्दा हजारौं मानिस तयार हुनुले उनलाई नेताको रुपमा मान्नेहरुको संख्या ठूलो भएको प्रस्ट हुन्छ।
प्रसाईले ७ गते अर्थात आजदेखि प्रदर्शनको सुरुवात हुने र आगामी दिनमा यो आन्दोलन अझै चर्किंदै जाने दावी गरेका छन्। उनको प्रदर्शन सुरु हुनुभन्दा एक दिनअघि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास पुगेका थिए।
त्यो भेटमा प्रसाईको आन्दोलनको बारेमा पनि कुरा भएको स्रोत बताउँछ। स्रोतका अनुसार सो भेटमा प्रसाईंको आन्दोलनको पहिलो दिन २५ देखि ३० हजार मानिस आउने र त्यसपछिका दिनमा यो संख्या घट्दै गएर आन्दोलन नै सेलाउने विश्लेषण गरिएको थियो।
यद्यपि यो जानकारी सरकारनिकट स्रोतले दिएको हुँदा त्यहाँ यही नै विश्लेषण भएको थियो वा यो कुरा बाहिर मिडियालाई भन्नका लागि तयार पारिएको ‘स्क्रिप्ट’ हो भन्ने छुट्याउन गाह्रो छ। किनकि सरकार प्रसाईंसँग डराएको छ। यो तथ्य हो ।
सरकार मात्र होइन प्रमुख प्रतिपक्षी दल एमाले पनि उनीसँग डराएको छ। एमालेले आजै राजधानीमा गर्ने भनिएको प्रदर्शनको एउटा उद्देश्य प्रसाईंको आन्दोलन भाँड्नु पनि हो।
यसको प्रमाण युवासंघले आधारातमा प्रसाईंको आन्दोलनमा सहभागी हुन आएका भनिएका महिलाहरुलाई भक्तपुरबाट लखेटेर दिइसकेको छ।
प्रधानमन्त्री प्रचण्डले पछिल्ला भाषणहरुमा व्यवस्था नै जोखिममा पर्न लागेको स्वीकार गरेका छन्। उनले पटक पटक गणतन्त्र खतरामा परेको अभिव्यक्ति दिइरहेका छन्। केही समयअघि प्रधानमन्त्री दाहालले १८ वर्षअघि भएको १२ बुँदे समझदारीका पक्षधरहरुको बैठक बोलाए।
प्रधानमन्त्रीले सो बैठकमा सबैलाई भेला पारेर गणतन्त्रप्रति प्रतिबद्धता जनाउन अनुरोध गर्नु नै उनले गणतन्त्र खतरामा रहेको स्वीकार गरेको प्रमाण हो। र, अहिले गणतन्त्रको विपक्षमा प्रसाईंले ठूलो संख्यामा जनता सडकमा उतार्न खोज्दा उनी डराउनु स्वभाविक हो।
गणतन्त्र पक्षधर सरकार अहिले पूर्वराजासँग तर्सिन थालेको छ। राजतन्त्र अन्त्य भएको डेढ दशकसम्म पूर्वराजा सामान्य नागरिकको हैसियतमा बस्दै आएका छन्। यो अवधिमा प्रचण्डबाट पूर्वराजामाथि गम्भीर आरोप लगाउने किसिमका अभिव्यक्ति आएका थिएनन्।
तर, पछिल्लो समय उनले दरबार हत्याकाण्ड मच्चाउने सामन्तको हातमा सत्ता सुम्पने धृष्ठता भइरहेको भन्न थालेका छन्। जबकि पूर्वराजा ज्ञानेन्द्र दरबार हत्याकाण्डका दोषी ठहरिएका छैनन्।
तत्कालीन सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश नेतृत्वको छानबिन समितिले उनलाई सफाइ दिइसकेको अवस्थामा पूर्वराजामाथिको यो आरोप उनको मानहानी ठहरिन सक्छ। र, यसलाई प्रधानमन्त्रीले गरेको ‘फौजदारी अपराध’ ठहर गर्न सकिन्छ। देशको प्रधानमन्त्रीबाट यतिसम्म गम्भीर ‘अपराध’को अपेक्षा गर्न सकिँदैन।
सरकारसहित अहिलेको व्यवस्थाका पक्षधरहरु दुर्गा प्रसाईंको ‘व्यवस्था बदल्ने’ आन्दोलनसँग डराइरहेका छन् किनकि उनीहरुलाई थाहा छ यो व्यवस्थाले जनतालाई केही उपलब्धी दिन सकेन।
गणतन्त्रले तीन थान राष्ट्रपति दियो जसले विभिन्न समयमा विवादित कामहरु गरे। पछिल्लो समय बहालवाला राष्ट्रपतिले ‘हत्यारा’लाई संविधान र कानुन मिचेर आममाफी दिएको घटना अहिले ताजा छ।
दलविशेषको वा नेताविशेषको स्वार्थको लागि कानुन मिच्ने राष्ट्रपति दिने गणतन्त्रसँग जनता आक्रोशित भएको सत्तालाई थाहा छ। त्यसैले उनीहरु डराइरहेका छन्।
प्रधानमन्त्रीले पटक पटक पूर्वराजाहरुलाई वा राजतन्त्रलाई सत्ताको लागि विभिन्न हत्याकाण्डहरु गराएको आरोप लगाउन थालेका छन्। तर, उनले यो बिर्सिएका छन् कि उनी पनि सत्ताकै लागि रगत बगाएर आएका हुन्।
सत्ता पाउनका लागि वा सत्ता जोगाउनका लागि सत्ताधारीले बल प्रयोग गर्दै आएको इतिहासमा अंकित छ। र ती इतिहासका पानाहरुमा प्रचण्डको नाम पनि लेखिएको छ।
२०५२ मा संसदीय व्यवस्था उपयुक्त छैन भनेर यो व्यवस्थाको विरोधमा हिंसात्मक विद्रोह सुरु गरेका प्रचण्डले आफू सत्तामा पुग्दै गर्दा माओको जनवादलाई चुनवाङतिर मिल्काएर यही संसदीस्य व्यवस्थाको हिलोमा पसेका हुन्।
उनको यो कामले उनले हजारौं जनताको रगत बगाउनु फगत सत्ताको लागि थियो भन्ने प्रस्ट भइसक्यो। इतिहास छर्लङ्ग हुँदाहुँदै अरुलाई दोषरोपण गरेर आफू चोखिन खोज्दा प्रधानमन्त्रीलाई लाज लाग्नुपर्ने हो।
सत्ता अहिले दुर्गा प्रसाईसँग डराइरहेको छ। किनकि उसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकेको छैन। जनताको लागि देखिने खालका कुनै काम भएका छैनन्।
बरु संघीयता दलका कार्यकर्ताको भर्ती केन्द्र बन्न पुगेको छ। संघीयताका नाममा गठन भएका तीन तहका सरकारहरु सेतो हात्ती भएका छन् जसलाई पाल्नमा मात्रै देशको अधिकांश स्रोत खर्च भएको छ।
संघीयता घाँडो भएको छ र जनता यो व्यवस्थाप्रति आक्रोशित छन्। जनताको आक्रोश बारुदको थुप्रोजस्तै चुलिँदै गएको छ। यस्तोमा दुर्गा प्रसाईजस्ता झिल्काहरुले बारुद सल्काइदिए ठूलो विष्फोट हुन सक्ने अहिलेको व्यवस्था पक्षधरलाई डर छ।
दुर्गा प्रसाईको आन्दोलनले व्यवस्था नै परिवर्तन भएर राजतन्त्र फर्किएला भन्ने मान्नु धेरै टाढाको कुरा हो। राजतन्त्र फर्काउन जुन तहको जनउभार चाहिन्छ र त्यसका लागि जुन किसिमका प्रक्रियागत जटिलताहरु पूरा गर्नुपर्छ त्यो प्रसाईको आन्दोलनले गर्न सक्ला भन्ने अहिल्लै सोचिहाल्ने कुरा देखिँदैन।
तर, यो आन्दोलनले केही न केही संरचनागत परिवर्तन भने ल्याउन सक्छ। प्रसाईले यो आन्दोलनलाई कुन तहसम्म लैजान सक्लान् वा यो यत्तिकै विसर्जन होला भन्ने कुरा भोलिका दिनमा देखिएलान् । तर, उनले जनताको आक्रोशको ज्वालालाई हावा भने पक्कै दिएका छन्।
Facebook Comment