बन्धकहरूको रिहाइको बदलामा इजरायलले हमासलाई के-के दिँदैछ ?
काठमाडौं । इजरायली बन्धकहरूका सम्बन्धमा बुधबार इजरायल र हमासबीच भएको सम्झौतापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सबै बन्धकहरूलाई फिर्ता ल्याउन आफूहरू प्रतिबद्ध रहेको तर हाल ५० जना बन्धकहरूलाई लिएर सम्झौता भएको बताए।
सम्झौतापछि आयोजित पत्रकार सम्मेलनमा नेतान्याहुले भने– “इजरायल–हमासले चार दिनका लागि युद्धमा अस्थायी रोक लगाउने सहमति गरेका छन् । यस युद्धविरामको बदलामा हमासद्वारा बन्धक बनाएका ५० इजरायलीलाई रिहा गरिनेछ र १५० प्यालेस्टाइनीहरूलाई इजरायली जेलबाट रिहा गरिनेछ।”
टाइम्स अफ इजरायलका अनुसार उनले भने “इजरायलमा हमास विरुद्धको युद्धको सन्दर्भमा धेरै अन्तर्राष्ट्रिय दबाब छ तर सबै इजरायली बन्धकहरूलाई फिर्ता नगरेसम्म र हमासको अन्त्य नभएसम्म गाजामा सैन्य कारबाही जारी रहनेछ।”
बुधबार इजरायल र हमासले औपचारिक रूपमा यो सम्झौताको घोषणा गरेका थिए।
सम्झौता अनुसार हमासले चार दिनको युद्धविरामको सट्टामा ५० इजरायली बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले आफूले बन्दी बनाएका १५० प्यालेस्टिनीलाई रिहा गर्नेछ।
इजरायलले जारी गरेको विज्ञप्तिमा थप १० जना इजरायली बन्धकलाई रिहा गरेमा थप एक दिनको युद्धविराम दिइने बताइएको छ । हमासले अक्टोबर ७ मा भएको आक्रमणपछि २ सय ४० इजरायलीलाई बन्धक बनाएको थियो ।
हमासको विज्ञप्ति अनुसार यी चार दिनमा मानवीय सहायता, औषधि र इन्धन बोकेका सयौं ट्रक गाजा प्रवेश गर्नेछन्। इजरायलले न त कुनै आक्रमण गर्नेछ न त कसैलाई गिरफ्तार गर्नेछ। यस सम्झौतामा कतार, इजिप्ट र अमेरिकाको महत्वपूर्ण भूमिका रहेको छ ।
Facebook Comment