जर्ज फ्लोयडको हत्या अभियोगमा सजाय काटिरहेका डेरेक चौभिनमाथि जेलमा घातक हमला
काठमाडौं । अमेरिकामा सन् २०२० मा अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु प्रकरणमा जेल सजाय काटिरहेका पूर्व प्रहरी अधिकारी डेरेक चौभिन एरिजोनाको जेलमा चक्कु प्रहारबाट घाइते भएका छन् ।
अमेरिकी मिडियाका अनुसार यस हमलामा चौभिन गम्भीर घाइते भएका छन् ।
कारागार ब्यूरोको विज्ञप्ति अनुसार चौभिनलाई स्थानीय समय अनुसार शुक्रबार बिहान १२ः३० बजे टक्सनस्थित संघीय कारागारमा एक कैदीले आक्रमण गरेका थिए ।
यद्यपि आक्रमण गर्ने कैदीको नाम भने खुलाइएको छैन ।
२०२१ मा एक अमेरिकी अदालतले २०२० मा अफ्रिकी-अमेरिकी जर्ज फ्लोयडको मृत्युको मामिलामा पूर्व पुलिस अफिसर डेरेक चौभिनलाई हत्याको दोषी ठहराएको थियो।
यसका लागि उनलाई २२ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको थियो ।
आफ्नो फैसला सुनाउँदै न्यायाधीशले पूर्व पुलिस अफिसर डेरेक चौभिनलाई ‘आफ्नो पद र अधिकारको दुरुपयोग’ र ‘जर्ज फ्लोयडसँगको क्रूर व्यवहार’ लाई ध्यानमा राखेर सजाय तोकिएको बताएका थिए।
हाल, ४७ वर्षीय डेरेक चौभिनलाई सन् २०२० को मे महिनामा मिनियापोलिसमा नौ मिनेटसम्म निहत्था र कालो मानिस जर्ज फ्लोइडको घाँटी घुँडाले थिचेको आरोप लागेको थियो।
केही मिनेटपछि उनको मृत्यु भयो । यो घटनाको भिडियो विश्वभर भाइरल भएपछि यो विषय चर्चामा आएको हो ।
यो भिडियो सार्वजनिक भएपछि अमेरिकासहित विश्वभर रंगभेद र प्रहरीको खराब व्यवहारको विरुद्धमा व्यापक विरोध भएको थियो ।
Facebook Comment