हुकुमले होइन, थितिले शासन चलाउनू

खगेन्द्रराज सिटौला
१२ मंसिर २०८० ८:१७

विधिअनुसार शासनव्यवस्था सञ्चालन हुनुपर्छ भन्ने मान्यता नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहमा थियो। उनी विधिसम्मत ढंगले राज्यव्यवस्था अथवा शासनव्यवस्था संचालन गर्ने पक्षमा थिए।

उनले राजाको आसन र विधिको शासनको महत्व र सन्तुलनलाई राम्ररी बुझेका थिए। उनी प्रजातन्त्रिक विधिअनुसार शासनव्यवस्था सञ्चालन गर्न चाहने वास्तविक प्रजातन्त्रिक नेताराजा र चिन्तक थिए।

उनी निरङ्कुश र स्वेच्छचारी शासनशैली र पद्धतीको विपक्षमा र पूर्णरुपमा कानुनी राज्यको पक्षमा थिए। हुकुमी पाराले शासन व्यवस्था चलाउन हुन्न भन्ने मान्यतामा उभिने चिन्तक थिए उनी। पृथ्वीनारायण शाहलाई विधिले निर्धारण गरेको अधिकार र सन्तुलन मिलेको शासन व्यवस्थाका हिमायती र पक्षपाति राजनेताका रुपमा बुझ्न सकिने रहेछ।

“उप्रान्त राजा राम शाहले बाँध्याको थिति पनि हेरिसकें,राजा जयस्थिति मल्लले बाँध्याको थिति पनि हेरिसकें, राजा महिन्द्र मल्लले बाँध्याको थिति पनि हेरिसकें ईश्वरले दियो भन्या म पनि यस्ता बन्देजको बाह्र हजारको थिति बाँधिजाला भन्या अविलाषा थियो” र “निञाशास्त्रबमोजिम अदालथ चलाउनू भन्ने यी पृथ्वीविचारको आधारमा भन्न सकिन्छ कि पृथ्वीनारायण शाह विधिको आधारमा राज्यव्यवस्था र कानुनको आधारमा शासनव्यवस्था सञ्चालन गर्ने दृढ मनस्थितिमा र योजनामा थिए।

थिति नभएको अराजक शासनव्यवस्था र प्रजातन्त्र नभएको निरङ्कुश राज्यव्यवस्थाका विपक्षमा पृथ्वीविचार उभिएको छ। संविधान बनाएर संविधानको मर्म र भावनाअनुसार मुलुक सञ्चालन गर्नुपर्छ भन्ने थितिसम्बन्धीको पृथ्वीविचारलाई बुझ्नुपर्दछ।

मुलुकमा विधिको शासन स्थापना गर्न संविधान बनाउदा ऐन, नियम कानुन तर्जुमा गर्दा आफ्नो परम्पर, धर्म-संस्कृति इतिहास र ऐतिहासिक विकासक्रमलाई पनि ख्याल गर्नुपर्छ भन्ने पृथ्वीविचारको आशय देखिन्छ।

थिति बाँधेपछि स्वभाविक रुपमा हुकुमी शासन निष्कृय भएर जाने हो। पृथ्वीनारायण शाहको थिति भनेको आधुनिक कानुनी राज्यको अवधारणा हो। राज्यमा बेथिति भइरह्यो भने पृथ्वीनारायण र पृथ्वीविचारको सम्मान भएको मानिँदैन।

कुनै पनि राज्य थितिले चलेन भने अथवा चल्न सकेन भने त्यो राज्य समाप्त हुनसक्छ। बेथितिको अर्को नाम अराजकता हो। अराजकताले मुलुकलाई समाप्तिको दिशातिर मात्र धकेल्छ। राज्य सम्हाल्ने बागडोर बोकेका राजनीति दलहरु पनि थितिले चलेको हुनुपर्छ।

उनीहरुले दल चलाउने आन्तरिक थिति बनाएर दलको आन्तरिक प्रजातन्त्र वा जनवादलाई पनि थितिसम्म्त ढंगले चलाएको हुनुपर्दछ। दलहरुले आफूलाई थितिसम्मत ढङ्गले चलाएनन् भने ति दलहरुले राज्यव्यवस्था वा शासनव्यवस्थालाई थितिसम्मत चलाउन पनि सक्दैनन् साथै दलहरुको भविश्य पनि राम्रो हुँदैन।

पृथ्वीनारायण शाहको थितिको अर्को नाम राष्ट्रिय अनुशासन पनि हो। यो थिति हर निकायको आन्तरिक जीवनमा आकर्षित र लागू हुन्छ। यो थिति भनेको ऐन नियम कानुन अनुुकूल र तजविजी अधिकारको प्रतिकूल हो। राष्ट्रिय अनुशासन पालन गर्न नचाहनेको लागि मात्र थितिको आवश्यकता भएको हो।

थितिमा प्रजातन्त्र, राजनीति, प्रशासन चलेन भने सबै क्षेत्र अराजक भएर जान्छ र यसले सबैलाई खान्छ। त्यसैले पृथ्वीविचारको थितितन्त्रको आवश्यकता आधुनिक प्रजातन्त्रिक युगमा झन धेरै महत्व छ भनेर सबैले सधै बुझिरहनु पर्दछ। थिति बाँध्ने विषय र थितिलाई हलुका रुपमा लिनु हुँदैन। थिति भनेको नै संविधान हो, कानुन हो, ऐन,नियम हो।

नेपालमा धेरै काल खण्डमा समय र चेतना सापेक्ष सत्ता र स्वार्थ सापेक्ष अथवा शासक हरुको स्वार्थ अनुकूल निकै थितिहरु लेखिए, निकै थितिहरु फालिए। लेखिएका जारी गरिएका थिति याने संविधान कहिल्यै आम सहमतका भएनन्।

थितिको विरोध पनि भइरह्यो, नयाँ थिति सुधार र शंसोधनका मुद्दा पनि उठिरहे। अर्थात् नेपालमा बनेका थितिहरु कहिल्यै सर्वसम्मत या सर्व स्वीकार्य भएनन्। र यो हुने पनि होइन।

अलग आस्था मान्यता र स्वार्थहरु फरक फरक हुन्छन् र तिनै स्वार्थ मान्यतामाथि उभिएर थितिको विरोध, वकालत वा माग अघि सार्छन्। यसकारणले पनि थिति सर्वमान्य र सर्व स्वीकार्य हुन सक्तैनन्।

अझ थिति बनाउँदा वाह्य स्वार्थहरुले पनि प्रवेश पाउन थाले भने र तिनका रणनीतिक सेवकहरु थिति बनाउने ठाउँमा हाबी भएभने त्यो थितिले वाह्य रणनीति स्वार्थको समेत सेवा गरिरहेको हुन्छ। नेपालको पछिल्लो थितिका कतिपय धाराले वाह्य रणनीति स्वार्थको समेत सेवा गरिरहेको छ।

नेपालको पछिल्लो थितिले पृथ्वीविचार र पृथ्वीकदम माथि प्रहार गरेको छ। पश्चिमा आध्यात्मिक तथा सांस्कृतिक धारले नेपालको मौलिक आध्यात्मिक तथा सांस्कृतिक धारमा प्रहार गर्छ र सबै किसिमले नेपाललाई कमजोर पारेर नेपालको अस्तित्व धरापमा पार्ने विश्लेषण गरेर पृथ्वीनारायण शाहले पश्चिमा आध्यात्मिक धारलाई नेपालबाट निकाला गरेर नेपाललाई आध्यात्मिक तथा सांस्कृतिक हिसाबले सुरक्षित बनाएका थिए।

तर परिवर्तन, अग्रगमन र क्रान्तिको आवरणमा धर्मनिरपेक्षसहितको थिति याने संविधान बनाएर पृथ्वीविचार र पृथ्वीकदम विपरितको थिति बनाएर पश्चिमा रणनीति स्वार्थको सेवा गर्ने थिति याने संविधान बनाएका छन्।

धर्मनिरपेक्षले प्रत्यक्ष,अप्रत्यक्ष वा परोक्ष रुपमा समेत पश्चिमा आध्यात्मिक स्वार्थको सेवा गरेको छ र त्यसमार्फत उसको दीर्घकालिन रणनीतिक तथा राजनीतिक स्वार्थको सेवा गरेको छ।

र यसले पूर्वीय आध्यत्मिक चिन्तनधार माथि प्रहार गरेर यसको केन्द्र रहेको नेपालमा नै यसलाई कमजोर पारेर पश्चिमा आध्यत्मिकधार हावी गराउने छ। अन्ततोगत्व यो नेपालघाती प्रमाणित हुनेछ।

अर्को दुई विशाल मुलुकको बीचमा रहेको नेपाल जसको एउटा मुुलुकसंगको सीमाना सधै खुला छ। यस्तो संवेदनशीलता प्रति आँखा चिम्लिएर पछिल्लो थितिमा नागरिकता विदेशी मैत्री या खुकुलो बनाएका छन्।

नेपालीले पो सजिलै नागरिकता पाउनु पर्ने हो विदेशीले पनि सजलै पाउने त होइन नि। थितिको नागरिकता सम्बन्धी धाराले पनि वाह्य रणनीति स्वार्थको नै सेवा गरेको छ।

कालान्तरमा नेपालको पछिल्लो थिति याने संविधान नेपालको दीर्घकालीन हित विपरितको दस्तावेज प्रमाणित हुने छ जुनबेला सच्याउन धेरै अवेर भै सकेको हुनेछ। नेपालले चाहेर पनि त्यो सच्याउन सक्ने छैन।

किनभने त्यसबेला नेपाल धेरै कमजोर भै सकेको हुनेछ। परिवर्तनको नाममा होस् या नयाँ थिति याने संविधान बनाउने नाममा होस् नेपालका नेताहरु पृथ्वीविचार विपरित मात्र हिडेकाछन् र आफ्नै खुट्टामा मात्र नभएर नेपालकै खुट्टामा बन्चरो हानेका छन्।

अब नेपालमा पृथ्वीविचारको मर्मलाई पक्रने थिति अर्थात संविधान बन्नुपर्दछ। पछिल्लो संविधान नेपालको आवश्यकताअनुसार बनेको छैन। पृथ्वीविचार भनेको नै प्रजातन्त्रिक शासनव्यवस्थाको आधारमा बलियो नेपालको निर्माण निर्माण गर्नु भन्ने हो।

विदेशी शक्तिको रणनीतिक स्वार्थको सेवा गर्ने थिति याने संविधानले नेपालको रणनीतिक स्वार्थको सेवा गर्दैन। जानेर हो कि नजानेर हो कि जनताको एउटा पंक्तिले गरेको शंका जस्तै आर्थिक प्रलोभनमा परेर हो कि नेताहरुले विदेशी शक्तिको रण्नीतिक स्वार्थको सेवा गर्ने धारा संविधानमा घुसाएका छन्।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेको थिति बनाउनू भनेको राष्ट्रिय स्वार्थ विदेशी शक्तिलाई चढाउनू भनेको त होइन नि। आफ्नै थितिमा विदेशी स्वार्थलाई रातो गलैचा ओछ््याएर अथिति बनाउने त होइन नि।

नेपालको मर्म र धर्मलाई बुझेर नपालका नेताहरुले आफ्नो राजनीति धर्म नाछोडीकन काम गरेमा नेपालमुखी थिति याने संविधानको परिमार्जितरुप नेपाली जनतालाई उपहार दिन सक्छन्।

नेताहरुले राजनीति धर्म छोडे भने चाहिँ नेपालको पछिल्लो थिति याने संविधानले नेपाली जनता र नेपाली स्वार्थको होइन विदेशी स्वाथको सेवा गर्ने निश्चित छ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नीति पनि थिति पनि राजनीति पनि भनेको नै नेपाललाई कमजोर पार्ने होइन बलियो पार्ने मात्र हो। यही सत्यलाई बुझेर सबै दल र नेताका कदम नेपाल मुखी मात्र भएको थिति याने संविधान र व्यवहारले एकैपल्ट प्रमाणित गरोस्। यसो भएमा मात्र राष्ट्रनिर्माताप्रति न्याय र सम्मान भएको मानिने छ। नेपालमूखी भएर उभिएको मानिने छ। सबै नेतागणमा चेतना भया।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *