डोजरले चलाएर तरकारी बनाइँदै, गिट्टी-सिमेन्ट मिक्सरमा मालपुवाको घोल बनाइँदै

काठमाडौं । एकातिर डोजरले चलाउँदै तरकारी तयार भैरहेको छ भने अर्कोतर्फ सिमेन्ट कंक्रीटको मिक्सरले मालपुवाको गोला बनाउने काम भइरहेको छ । एक लाइनमा ४० वटा भट्टाहरू जलिरहेका छन् र ती भट्टीमा ८ सय हलवाइले ठूलो भतेरको खाना बनाउने काम गरिरहेका छन् ।
यो दृष्य देखेर तपाई पनि छक्क पर्नुहुनेछ, किनकि मध्यप्रदेशको भिन्ड जिल्लामा रहेको डन्डरुआ धाममा आयोजना हुने धार्मिक कार्यक्रममा आउने लाखौं मानिसहरुका लागि दैनिक रुपमा यो विशाल भोज तयार भईरहेको छ ।
डाक्टर हनुमानको नामले प्रख्यात डण्डरुआ धाम मन्दिरमा ‘सिया-पिया मिलन’ पर्वको आयोजना गरिएको छ । हरेक वर्ष हुने यो महोत्सवमा यसपटक कथाकार पण्डित प्रदीप मिश्र पनि आएका छन् ।
पण्डित प्रदीप मिश्रको मुखबाट शिव महापुराण कथा सुन्न यहाँ दैनिक २ लाखभन्दा बढी भक्तजन आउने गरेका छन् । डन्डरुआ धाममा यी भक्तजनका लागि विशेष प्रसादको व्यवस्था पनि गरिएको छ । यहाँ दैनिक २ लाखभन्दा बढी भक्तजनको लागि भण्डारा आयोजना हुने गरेको छ ।
यति ठूलो संख्यामा मानिसहरुका लागि भण्डारा तयार गर्न यहाँ ८ सय हलवाइहरु कार्यरत छन् । भण्डाराको तयारीका लागि डण्डरुआ धाममा ४० वटा भट्टी बनाइएको छ । यी भट्टीमा दिनभरी दुई सिफ्टमा खाना बनाउन ८०० हलवाइ कार्यरत छन् । यी हलवाइमा ५०० पुरुष र ३०० महिलाहरू छन्। भंडारामा दैनिक खीर, पुरी, बुन्दी, तरकारी र मालपुवा बनाइन्छ ।
डन्डरुआ धामबाट प्राप्त जानकारी अनुसार यहाँ भण्डाराका लागि दैनिक १०० क्विन्टल पिठोको मालपुआ बन्ने गरेको छ । मालपुवा बनाउनको लागि पहिले पिठोको घोल तयार गरिन्छ र यसका लागि सिमेन्ट कंक्रीट मिक्सर मेसिनको प्रयोग भइरहेको छ ।
यहाँ सेवा गर्ने सेवकहरूले पिठोले भरिएको बोरालाई सिमेन्ट कन्क्रिटको मिक्सरमा हालेर सिमेन्ट कन्क्रिटको मिक्सरको सहयोगमा मालपुवाको पिठो तयार पार्छन्। यसबाहेक खीर बनाउन दैनिक ४ हजार लिटर दूध पनि प्रयोग भइरहेको छ । यो दूध नजिकैका गाउँहरूबाट ल्याउने व्यवस्था गरिएको छ ।
भंडाराका लागि तीन ठूला प्यानमा जेसीबीको सहायताले तरकारी तयार हुँदैछ । यहाँ दुईवटा प्यानमा २ हजार किलो र तेस्रो प्यानमा १२ सय केजी तरकारी एकै पटक तयार हुन्छ । प्यानमा तरकारी तयार भएपछि जेसीबीको सहायताले तरकारीलाई प्यानबाट बाहिर निकालिन्छ । एक पटकमा करिब ३०,००० मानिसका लागि तीनवटा प्यानमा तरकारी तयार गरिन्छ।
नोभेम्बर २८ देखि सुरु भएको ‘सिया पिया मिलन’ पर्व डिसेम्बर २ सम्म चल्ने छ । यस पर्वको सुरक्षाका लागि ६ सयभन्दा बढी प्रहरी पनि परिचालन गरिएको छ । यसका साथै डन्डरुआ धाममा जुनसुकै परिस्थितिको सामना गर्न एम्बुलेन्स र दमकलका गाडी पनि तयार छन् ।
गत वर्ष सिया पिया मिलन महोत्सवमा धीरेन्द्र शास्त्री यहाँ आएका थिए र यहाँ रामकथा वाचनसँगै दिव्य दरबारको पनि आयोजना गरेका थिए । त्यसबेला पनि यस्तै विशाल भण्डारा आयोजना गरिएको थियो ।
Facebook Comment