दक्षिणी गाजा पनि खाली गर्न इजरायलको आदेश
काठमाडौं । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा शुक्रबार बिहानदेखि फेरि सुरु भएको युद्धमा ४४ जनाको मृत्यु भएको जनाएको छ।
एक साता लामो युद्धविरामपछि गाजामा इजरायल र हमासबीच पुनः द्वन्द्व सुरु भएको छ ।
यस युद्धविरामको क्रममा हमासले बन्धकहरूलाई र इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।
शुक्रबार इजरायली लडाकु विमानले गाजामा फेरि बमबारी गरेको छ । गाजाको आकाशमा धुवाँ फेरि उठेको देखिन्छ।
संयुक्त राष्ट्र संघले यो अवस्थालाई दुःखद भनेको छ। इजरायल र हमास दुवैले द्वन्द्व पुनः सुरु भएकोमा एकअर्कालाई दोषारोपण गरेका छन्।
यसैबीच, इजरायली सेनाले दक्षिणी गाजाको खान युनुस क्षेत्रमा आकाशबाट पर्चाहरू खसालेर मानिसहरूलाई इलाका खाली गर्न चेतावनी दिएको छ।
इजरायलले गाजाका मानिसहरू जान सक्ने क्षेत्रहरू सङ्केत गर्दै नक्सा पनि जारी गरेको छ।
इजरायलले यी क्षेत्रहरूलाई इकोभेसन जोन भनिएको छ।
बीबीसी संवाददाता पल एडम्सले जानकारी दिएअनुसार इजरायली जेटहरूले आज खान युनिसको पूर्वी र उत्तरी भागहरूमा पर्चाहरू खसालेका छन् जसमा क्युआर कोड छापिएको छ।
यो क्युआर कोड स्क्यान गर्नाले गाजा पट्टीको नक्सा खुल्छ जुन २,३०० विभिन्न भागमा विभाजित छ।
इजरायली सेनाले यहाँ बसोबास गर्ने मानिसहरूले यसमा दिइएको निर्देशन पालना गरेर सुरक्षित स्थानमा जान सक्ने बताएको छ।
यसअघि अमेरिकी विदेशमन्त्रीले इजरायलले आफ्नो सैन्य कारबाही पुनः सुरु गर्नुअघि गाजामा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न कदम चाल्नुपर्ने चेतावनी दिएका थिए।
एन्टोनी ब्लिन्केनले गाजाको उत्तरमा भएको क्षति दक्षिणमा दोहोरिन नहुने बताएका थिए । उनले इजरायल र हमासबीचको युद्धविरामको निरन्तरतामा पनि जोड दिए ।
Facebook Comment