नेपालको अस्थिर राजनीति दीगो विकासमा चुनौती
नेपालको राजनीति सयौं बर्षदेखि अँध्यारो र अस्थिर रुपले गुज्रिँदै आएकोले नेपालमा बिकाशको गति शून्य प्रायः छ। २००७ साल भन्दा अगाडि १०४ वर्षसम्मको नेपालको राजनीति आफैंमा शून्य प्रायः थियो।
लामो हुकुमी शासनले सिंगो नेपाल अधिराज्यलाई विश्वको राजनीतिबाट अलग राखिएको थियो। जंगबहादुरको शासनकालदेखि खरो रुपमा उर्लेको राणा शासन करीब ९ जना राणा प्रधानमन्त्री बनेर मोहन समशेरको पालामा मात्र अन्त्य भयो।
तर यत्रो लामो शाशनकालमा पनि कुनै प्रधानमन्त्रीले पनि नेपालमा राजनीतिको “र” पनि ननिकाली तथा प्रजातन्त्रको “प्र” पनि नउप्काइ १०४ वर्ष त्यसै यश आराममा नै बिताए। ठिक त्यतिनै बेला संसारमा राजनीतिको मध्य युगको प्रारम्भ भएको थियो।
यसैको सिको गरी आफ्नै माटोमा सुहाउँदो शासन ब्यवस्थाको प्रारम्भ गरी दिएको भए आज देश धेरै अगाडि बढिसकेको हुथ्यो। तर यो बिचार कुनै राणा प्रधानमन्त्रीहरुमा कहिल्यै आएन। अतः यो समय नेपालको बिकासको लागि अँध्यारो समय थियो।
देशभित्र १५-२० वटा बेलायती शैलीका दरबार भित्र बसेर राणा प्रधानमन्त्रीहरुले धेर थोर बिकास गरे जस्तो गरी नेपालमा शासनमात्र गरेका थिए। जनता शिक्षा स्वास्थ्य जस्ता आधारभूत चीजबाट बन्चित थिए।
भएका सबै राजाहरु राणाहरुको हत्केला भित्र रहेका थिए र राजा भएपनि नेतृत्व लिन सक्ने खालका कोही पनि थिएनन्। भित्र भित्रैको षड्यन्त्रले सबै त्राहीमाम थिए।
पृथ्वीनारायण शाह र बहादुर शाह जस्ता राजाहरूले उनीहरुको जीवनको सम्पूर्ण कालखण्ड नेपाललाई एकीकरण गर्ने काममा नै व्यतित गरे। त्यस पछिका सम्पूर्ण राजाहरु नाम मात्रका थिए।
पृथ्वी बीरबिक्रम शाहका छोरा राजा त्रिभुवन नै त्यस्ता राजा थिए, जसले देशमा प्रजातन्त्र ल्याइ राजनीतिलाई स्थिर राख्न आफ्नो गद्दीको बाजी राखेर राणाको चंगुलबाट सुटुक्क भारत भागेर नेपालका राजनीतिक नेताहरुको अगुवाइ गरी २००७ सालमा भारतबाट प्रजातन्त्रको दस्ताबेज बोकी नेपाल आएर राणा शासनको अन्त्य गर्नु चानचुने कुरा थिएन।
त्यसताका राजनीतिका अग्रज नेताहरु बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, सुवर्ण समशेर, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र मनमोहन अधिकारी जस्ता प्रखर राजनीतिज्ञले राजालाई अगुवाई बनाई आफू पनि राणा फाल्ने काममा भित्र भित्रै लागेका थिए।
प्रजातन्त्रकै बिकुल फुकी राणाको बिरोध गर्ने ४ नेपालीलाई राणाहरुले गोली हानि र झुन्ड्याएर मृत्युदण्ड दिए। ती थिए गंगालाल, शुक्रराज, दशरथ चन्द र धर्म भक्त थिए।
आखिर राजा त्रिभुवनले सबै राजनीतिक नेताहरुलाई साथ् लिइ भारतबाट २००७ सालमा प्रजातन्त्रको दस्तावेज बोकी नेपाल भित्रिएपछि उनको धुमधाम स्वागत भयो र नेपालमा राजासहितकै प्रजातान्त्रिक शासन लागू भयो।
र, सर्वसाधारणबाट प्रथम नेपाली प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला बने। राजनीतिले गति लेला कि भन्ने लागेकै बेला देशका प्रधानमन्त्रीले फेरि भारतकै इसारामा सरकार चलाउन थाले र भारतको राजनीतिक दबाबमा देशको राजनीति फेरि अस्थिर हुन पुग्यो।
त्यत्तिकैमा फेरि राजा त्रिभुवनको निधन भयो। देशको राजनीतिमा फेरि तुसारापात हुन पुग्यो। बिस्तारै २०१५ सालमा राजा महेन्द्रले आमचुनाव गराई निर्वाचनमा बिजयी भएका प्रजातन्त्रवादी नेता बिपी कोइरालालाई देशको निर्वाचित प्रधानमन्त्री बनाए।
तर नेताहरु भारतमुखी बनी भारतकै इसारामा सरकार संचालन गर्ने र देशमा भ्रष्टाचारले भित्रभित्रै हात पसार्दै गएको कुरा जव राजा महेन्द्रले थाह पाए, तब तुरुन्तै देशलाई यो दलदलबाट छुटकारा पाउन र आफ्नो देशको बिकास आफैं गर्न २०१७ सालमा सम्पूर्ण दललाई काबुमा लिई नयाँ निर्दलीय पञ्चायती व्यवस्था लागू गरी देशको बिकास गर्दै लगे र दश बर्षभित्रमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गरे।
असंल्ग्न परराष्ट्र नीति र पञ्चशीलको मान्यताभित्र रही बाह्य राष्ट्रहरुमा नेपालको इज्जÞत र शान बढाउँदै गए। ब्यवस्था जे भए पनि राजनेता भएकाले देशको अर्थतन्त्रले भ्याएसम्म बिकास हुँदै गएको थियो। तर २०२८ सालमा अकस्मात उनको निधन भयो।
नेपालको राजनीतिमा फेरि तुसारापात हुन पुग्यो। राम्रा र दूरदर्शी एक राजनेताको अवशानले देश एक किसिमले टुहुरो बन्न पुग्यो। नेपालमा राजनीतिक अस्थिरताले बास गर्याे।
विश्वको उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गरेका राजा वीरेन्द्रले आफ्नो शुभ राज्यभिषेकको अवसर पारेर नेपाललाई “शान्ति क्षेत्र“ घोषित गरियोस् भनी विश्व समक्ष आह्वान गर्दा संसारले स्वीकृति दिँदा पनि भारतले भने मान्यता दिन अस्विकार गरी नेपाललाई धेरै अगाडिदेखि राजनीति र अर्थनीतिमा आफ्नो हिसाबले नेताहरुलाई साथ लिएर गिजोल्दै सधैं अस्थिर र अविकसित बनाई रह्यो।
भारतले राजा महेन्द्रलाई समेत अनेक दुःख पीडा दिएकै देखिन्छ। पछि राजा बीरेन्द्रले देशको हितको लागि व्यवस्थामा निक्कै सुधार ल्याउने कोसिस गर्दै गए।
२०३६ सालमा जनमत संग्रह गराए भने २०४७ सालमा नया संबिधान बनाउन कांग्रेसले प्रतिनिधित्व गरेको सर्बदलीय पार्टीको साथ र सहयोगमा नयाँ र उत्कृष्ट संविधानको निर्माण गराए। आफू संविधान अन्तर्गतको अधिनमा बसे।
तर बिदेसी इशारामा बसेर खान पल्केका हाम्रा देशका नेताको मुख्य उद्देश्य राजसंस्था फाल्नु नै थियो। अनेक प्रपञ्च रची माओवादीको द्वन्द्व भयो। राजनीति फेरि अस्थिर बन्न पुग्यो।
सुरुमा माओवादी जनयुद्धको घोषणालाई सरकारले हाउगुजी सम्झियो र पछि त्यही सलाई कोरेको काँटीले देशभरी आगो बालियो। अस्थिर राजनीति र द्वन्द्वले देश खाडलमा फस्न पुग्यो। हजारौं नेपालीको हत्त्या भयो, खरबौं पुंजी खरानीमा परिणत भयो।
देश आन्तरिक द्वन्द्वमा फसेको फाइदा उठाउँदै दरवार हत्याकाण्ड भयो। राजा वीरेन्द्रको समुल बंश नाश हुन पुग्यो। देश झन् अस्थिर राजनीतिको दुस्चक्रमा फस्न पुग्यो।
अस्थिर राजनीतिमा ठूला राष्ट्रहरु अमेरिका, पश्चिमा मुलुक, भारत र चीनको पनि राजनीतिमा चलखेल बढेर आफ्नो अनुकुलको प्रणाली र नीति लागू गर्न गराउन सबै तल्लिन रहे। नेताहरुले धमाधम आफ्नो हातखुट्टा छोड्दै गए।
सबै पार्टीका नेताहरु पानीको लट्ठी टेक्दै कोही कोही धारे हात लगाई बम्किइरहने, कोही पुनः आन्दोलन गर्छौं भन्दै जनतालाई तर्साउने त अन्य मकैका ठेट्ना जस्ता पार्टीहरु बेला बेलामा भ्यागुतो उफ्रेको जस्तै उफ्रिइ दिन र रात गुजारी समय बिताइ रहने अनि देश जतिसुकै अविकसित भएपनि, राज्यका सम्पूर्ण पक्षहरु सिथिल र कमजोर बनेपनि मुकदर्शक भएर बसीरहे।
२०७९ को चुनावपछि २०८४ को अर्को चुनावको प्रतिक्षा गरी जनतालाई आश देखाएर राजनीतिलाई सधैं गिजोली रहने प्रवृत्तिले देशले कहिल्यै बिकासको मार्ग प्रशस्त गर्ने भन्ने विषय अन्यौलमा परेको छ।
लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, सात प्रदेशको सरकार, संसारमा बिरलै पाइने विशाल सांसाद भएको प्रतिनिधिसभा र त्यस्तै राष्ट्रिय सभाको बनौटले पनि देशमा स्थिर राजनीति र बिकास कहिल्यै हुन नसक्नुको कारण यो व्यवस्था “बाँदरको हातमा नरिवल “ जस्तै बन्न पुगेको छ।
देशमा सधैं आन्दोलन नै आन्दोलन गराई लोकतन्त्रको सुन्दरताको ढ्यांग्रो ठोकीठोकी आफ्नो अधिकार जमाएर प्रजातन्त्र र लोकतन्त्रको नाममा सधैं राष्ट्रको भित्रभित्रै दोहन गरिरहने र देशका विद्वानहरु र कर्मशील व्यक्तिहरु मुकदर्शक भएर रहने हो भने यो अस्थिर राजनीतिले बिश्राम पाउन अझै धेरै वर्ष लाग्ने र विकासले गति लिन पनि त्यत्तिकै वर्ष लाग्ने निश्चित छ।
आगामी २०८४ को आम चुनावमा योग्य, सक्षम, युवा, दूरदर्शी र बौद्धिक व्यक्तिलाई नेतृत्वमा पुर्याएर देशलाई नयाँ दिशामा अगाडि बढाउनुपर्छ। अन्यथा नेपाल सधैं अस्थिर भइराख्ने र जनताले सधैं दुःख पाइराख्ने हुन्छ।
Facebook Comment