जलवायु परिवर्तनको क्षतिपूर्तिको मुख्य हकदार नेपाल : राष्ट्रपति पौडेल

डिसी नेपाल
१९ मंसिर २०८० १०:४६

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू हुन् भन्ने कुरा बिर्सन नहुने बताएका छन्।

उनले इसिमोड स्थापनाको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सीमानाभित्र नभई सीमापारी र विश्वस्तरमासमेत पर्न जाने स्पष्ट पारे।

पौडेलले भने, ‘अहिलेको विश्व मानव सृजित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदुषणका कारणले संकटमा छ। पहाडी संवेदनशील भू-वनौट र कमजोर आर्थिक सामाजिक कारणहरूले गर्दा हिन्दुकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ।’

राष्ट्रपति पौडेलले नेपालजस्ता मुलुकले हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्यसरह योगदान गरे पनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यधिक भएको उल्लेख गर्दै केही समयअघि संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका क्रममा आफूले कार्वन उत्सर्जनको कारक नभएर पनि नेपालले भोग्नुपरेको जलवायु परिवर्तनको असरको मार सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन गरेको आग्रह स्मरण पनि गराए।

पौडेलले भने, ‘जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु आज हाम्रा सामु ठूलो चुनौती छ। हिमालमा हिउँ पग्लने, हिमताल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानि नोक्सानी पुगिरहेको छ।’

उनले नेपाल सरकारले जलवायु परिवर्तन, वातावरणीय ह्रास, विपत् जोखिम न्यूनिकरण, जैविक विविधता संरक्षण, जीवीकोपार्जनसम्बन्धी मुद्दामा छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताए।

राष्ट्रपति पौडेलले नेपाल इसिमोडको संस्थागत विकास गर्न र समग्र हिन्दुकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि सधैँ प्रतिवद्ध भएको र भविष्यमासमेत नेपालको सहयोग जारी रहने बताए।

उनले भने, ‘हिन्दुकुश पर्वतीय श्रृङ्खला यस क्षेत्रका लागि मात्र नभएर संसारकै लागि खाद्यान्न, उर्जा, पानी, सांस्कृतिक र जैविक विविधताका लागी महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको सबैलाई विदितै छ।

हिन्दुकुश हिमालयको पर्यावरणीय सेवाको छातामुनि संसारका एक चौथाइ मानव जीवन आश्रित छन्। यो क्षेत्रको संरक्षण कति महत्वपूर्ण छ भन्ने यसबाट पनि प्रष्ट हुन्छ।’

उनले इसिमोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभावक्षेत्रमा रहेका झण्डै २ अर्ब जनता तथा सामुद्रिक तटका देशहरूलाईसमेत साथ लिइ थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *