गाजामा मृत्यु हुनेको संख्या १६ हजार पुगेको हमासको दावी
काठमाडौं । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले गाजामा मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको जनाएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालय हमासको हातमा छ। उसका अनुसार अक्टोबर ७ पछि अर्थात् इजरायल–हमास युद्ध सुरु भएपछि गाजामा १५ हजार ८९९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयले आइतबार तथ्यांक सार्वजनिक गरेदेखि अहिलेसम्म ३४९ जनाको मृत्यु भएको जनाएको छ ।
हमासका अनुसार मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् ।
इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट हटाउनु रहेको बताएको छ । अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलमा प्रवेश गरी आक्रमण गरे जसमा १२०० जनाको मृत्यु भयो।
त्यसबेला हमासले करिब २४० जनालाई बन्धक बनाएर गाजा फर्काएको थियो ।
शुक्रबार समाप्त भएको सात दिने अस्थायी युद्धविराममा १०० भन्दा बढी बन्धकहरूलाई रिहा गरिएको थियो।
Facebook Comment