केन्द्रीय कारागारमा दुई सय ६१ विदेशी कैदीबन्दी
काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो ।
विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल तीन हजार चार सय ६९ कैदीबन्दी रहेकामध्ये दुई सय ६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले जानकारी दिए । केन्द्रीय कारागारमा हाल ३१ देशका कैदीबन्दी रहेका छन् । उनका अनुसार भारतीय एक सय ३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बगङ्लादेश नौ, थाइल्याण्ड आठ, बोलिभिया पाँच, मलेसिया चार, फिलिपिन्स तीन, अमेरिका तीन, जर्मनी तीन रहेका छन् ।
साउदी अरब, सुडान, हङकङ, बेलारुस, नर्वेलगायतका देशका एक÷एक जना कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउँछन् ।
विदेशी कैदीबन्दीमध्ये लागुऔषधका धेरै
कारागार प्रशासक बस्नेतका अनुसार केन्द्रीय कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये लागुऔषध मुद्दाका बढी कैदीबन्दी रहेका छन् । उनका अनुसार एक सय १३ विदेशी नागरिक अवैध लागुऔषध ओसारपसारमा संलग्न रहेकाले कारागार बसेका छन् । त्यसैगरी जबरजस्ती करणीमा ३३ विदेशी नागरिक जेल परेको देखिन्छ । त्यसबाहेक अवैध रुपमा सुन ओसारपसारमा २५, ठगी मुद्दामा १६, कर्तव्य ज्यानमा १०, अपहरणमा आठ, जीउ बेच्ने मास्नेमा सात र विविध मुद्दामा २५ विदेशी नागरिक जेल परेका छन् ।
नेपालकै सबैभन्दा पुरानो र ठूलो कारागार सुन्धारामा स्थान अभावका कारण ५६ कैदीबन्दीलाई भर्खरै नख्खु कारागार स्थानान्तरण गरिएको कारागार प्रशासक बस्नेत बताउँछन् । नख्खु स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये ५४ नेपाली र दुई विदेशी रहेका छन् । केन्द्रीय कारागारको क्षमता एक हजार सात सय रहेपनि हाल तीन हजार चार सयभन्दा बढी कैदीबन्दी हुँदा साँघुरो भएको छ ।
तीन वटा कारागार भवन रहेको केन्द्रीय कारागारमा केन्द्र जेलमा एक हजार आठ सय ६६, भद्र जेलमा एक हजार एक सय ३९ र महिला जेलमा चार सय ६४ कैदीबन्दी रहेका छन् । महिला जेलमा ११ नाबालक कैदीबन्दीसँगै रहेको केन्द्रीय कारागार व्यवस्थापनले जनाएको छ ।
कारागार प्रशासक बस्नेत काठमाडौंमा उपचारका लागि विभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण हुँदा केन्द्रीय कारागारमा कैदीबन्दीको सङ्ख्या बढ्न गएको बताउँछन् । “अड्डा अदालतदेखि उपचारका लागि विभिन्न अस्पताल काठमाडौंमा हुँदा विभिन्न जिल्लाबाट केन्द्रीय कारागार आउने कैदीबन्दी बढेका छन्”, उनी भन्छन् ।
Facebook Comment