हेनरी किसिन्जर १९२३-२०२३

कपिल लोहनी
२३ मंसिर २०८० ७:४३

२० औँ शताब्दीको मध्यदेखि २१ औं शताब्दीको आजसम्मको दिनमासमेत विश्वको कुटनीतिक क्षेत्रमा छाएर अनेकन् अप्ठ्यारा परिस्थितिको सामना गर्न परेको भए तापनि विश्वलाई एक नयाँ राजनीतिक मोडमा डोरिन मद्दत पुर्‍याएका एक सफल कुटनीतिज्ञ डा. हेनरी किसिन्जरको गत २९ नोभेम्बर २०२३ मा अमेरिकाको कनेक्टिकट राज्यमा अवस्थित आफ्नै घरमा १०० वर्षको उमेरमा निधन भयो।

सन् १९२३ को मे २७ तारिखका दिन जर्मनीको बभेरिया प्रान्तस्थित फर्थ भन्ने यहुदी बस्तीमा जन्मेका थिए, हेइन्ज अल्फ्रेड किसिन्जर यानी हेनरी किसिन्जर। उनी जन्मेको समय ताका विश्वका विभिन्न मुलुकहरूमा राजनीतिक र अन्य खालका अशान्ति छाइरहेको थियो।

त्यति नै बेला अमेरिकाको फ्लोरिडा राज्यमा पर्ने रोजउडमा रङ्गभेदको कारण अश्वेत जातिको विद्रोहको आगो सल्किएको थियो। बुल्गेरियाका प्रधानमन्त्री अलेक्सान्डर स्टाम्बोलिस्कीको सैनिक विद्रोहमा हत्या भएको थियो।

सोही साल स्पेनमा जनरल मिगुएल रिभेराले सैनिक विद्रोह गरेर शासन आफ्नो हातमा लिएका थिए भने टर्कीमा सेनाका उच्च पदाधिकारी मुस्तफा केमाल आतातुर्कले निकै पुरानो अट्टोमन साम्राज्यको अन्त गरेर गणतन्त्र घोषणा गरेका थिए। विश्व प्रथम विश्वयुद्धको राजनैतिक पराकम्पनबाट अझै मुक्त भइसकेको थिएन।

त्यस्तै रूसमा सन् १९१७ मा बोल्सेभिक क्रान्तिबाट बनेको विश्वकै प्रथम माक्र्सवादी सरकार र त्यसपछि पनि सन् १९२३ सम्म चलेको रूसी गृहयुद्ध विस्तारै सकिने क्रममा थियो।

प्रथम विश्वयुद्ध शुरु भएको दिन यानी १९१४ जुलाई २८ मा १ अमेरिकी डलर बराबर ४.२० जर्मन मार्क रहेकोमा हेनरी किसिन्जर जन्मेको दिन अर्थात् १९२३ मे २७ सम्ममा जर्मनीको अर्थतन्त्र डामाडोल भएर १ अमेरिकी डलर बराबर ५९,००० मार्क सम्म हुन पुगेको थियो।

यसरी वार्षिक मुद्रा स्फिति दर १०,००० प्रतिशतसम्म पुगेको थियो। चरम आर्थिक मन्दीको चपेटामा पर्नुका साथै प्रथम विश्वयुद्धमा पराजय भोगेको जर्मनी निकै कमजोर भएको यस समयमा त्यहाँ फ्रान्स र बेल्जियम जस्ता मुलुकको निरन्तर घुसपैठ भइरहेको थियो।

राजनैतिक भाँडभैलोको यस्तो स्थितिमा म्युनिखबाट बिस्तारै एडोल्फ हिटलरको उदय हुन थाल्यो भने इटालीमा पनि मुसोलिनीको उदय भइसकेको थियो। प्रथम विश्वयुद्ध सकिएपछि पनि युरोपमा विभिन्न प्रकारको उथलपुथल भइ नै रहेको यो अवस्थामा हिटलर र मुसोलिनीकै नायकत्व र सोभियत संघ तथा जापानको समर्थनमा आखिर दोश्रो विश्वयुद्ध पनि शुरु हुन गयो।

हिटलरको शासन शुरु भएको केही समय पश्चात नै स्वस्तिक झण्डा फहराउँदै नाजीहरूद्वारा त्यहाँबाट कम्युनिष्ट र समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको धरपकड शुरु भयो भने त्यसपछि जातीय सफायाको नाममा यहुदीमाथि घोर अत्याचार शुरु भयो।

यहुदी कर्मचारी हटाउनेदेखि यहुदी व्यवसायी र आम यहुदीलाईसमेत बहिस्कार गर्ने कार्यको थालनी पश्चात् हत्या र हिंसाको श्रृङ्खला पनि शुरु हुन थाल्यो। हेनरीका पिता लुइको जागिर पनि ५० वर्ष नपुग्दै धरापमा पर्न गयो।

यहुदीमाथि यतिसम्म विभेद हुन थाल्यो कि हेनरी जस्ता यहुदी विद्यार्थीले छुट्टै विद्यालयमा जानु पर्ने बाध्यताका साथै फुटबल तथा अन्य खेल खेल्न पनि आफ्नै समुदायमा मात्र सीमित हुन पर्‍यो। आफ्नै इलाकाको सडकमा हिँड्न समेत खतरनाक हुन थाल्यो।

सन् १५२८ तिरदेखि नै हेनरीको शहर फर्थमा बसोबास गर्दै आएका यहुदीलाई पछिल्लो समयमा युरोप र जर्मनीका विभिन्न ठाउँमा जस्तै खदेड्ने र मार्ने कार्यको शुभारम्भ भयो। किसिन्जर परिवारले आफ्नो थर उनीहरूको उद्गमस्थल किसिन्जनबाट पाएका थिए।

फर्थमा नै बसोबास गरिरहेका किसिन्जर परिवारले आफ्नो जिविकोपार्जन गर्न सिलाई, बुनाई, शिक्षण आदि पेशा अपनाएका थिए। अधिकांश किसिन्जर परिवारका सदस्यले प्रथम विश्वयुद्धमा बभेरियन सेनाको साथमा लडेका थिए।

तर जर्मनीमा सुरक्षित बसोबास गर्न असम्भव नै भएपछि भने अन्य यहुदी झैं हेनरी किसिन्जरको परिवार पनि मुलुकबाट पलायन भयो। उच्च पदस्थ सरकारी कर्मचारी भएपनि हेनरीका पिता लुई असुरक्षा र चरम महँगी तथा अभावको कारण जर्मनीमा टिक्न नसक्ने भए।

हेनरीका पिता लुइ र माता पउला किसिन्जर परिवारका ज्येष्ठ सदस्य भएकाले शुरुमा उनीहरू भन्दा साना भाइबहिनी र उनका परिवार प्यालेस्टाइन र अमेरिका तथा युरोपका विभिन्न मुलुकमा बसाई सर्न थाले।

आखिर १९३८ अगस्ट २० मा किसिन्जर परिवार पनि जर्मनी छोडेर शुरुमा करिव १ हप्ता बेलायतमा बसे भने त्यसपछि न्युयोर्कको लागि रवाना भए। अमेरिकामा शुरुमा उनीहरूलाई भाषिक समस्याले निकै गाह्रो पार्‍यो।

जर्मनी छोड्दा हेनरी किसिन्जर १५ वर्षका थिए। उनीहरूले जर्मनी छोडेको केही समयपछि यहुदीलाई देश निकाला मात्र होइन, ग्यास च्याम्बरमा राखेर मार्नेदेखि गोली हानेर मार्ने तथा सडकमा नै कुटिकुटी मार्ने काम शुरु भयो। किसिन्जर परिवारकै करिव १५ जना अति निकटतम नातेदारहरू नाजी सेनाको आगजनीबाट मर्न पुगे।

त्यतिबेलाको अमेरिकामा पनि पूर्ण शान्ति थिएन। रूसी क्रान्तिबाट विश्वमा नै पहिलो कम्युनिष्ट सरकार बनेको तथा अमेरिका पनि जातीय विभेद तथा रङ्गभेदमा जकडिएकोले त्यहाँ अश्वेत जातिहरूले आवाज उठाउन थालेका र चरम आर्थिक मन्दीका कारण मजदूर हडताल पनि बढ्दै गएकोले अमेरिकी सरकार त्यहाँ कम्युनिष्टको प्रभाव पर्ने कुराले निकै सशंकित र चिन्तित थियो।

उता दोश्रो विश्व युद्धसमेत शुरु हुन लागेको अवस्थामा अमेरिकालाई सैनिक भर्ती गर्ने चटारो पनि थियो। त्यसैले जर्मनी जस्तो शत्रु राष्ट्रबाट आएका आप्रवासीलाई पनि ३ महिनाको सैनिक तालिम पश्चात् अमेरिकी नागरिकता प्रदान गरेर युद्धमा पठाउन थाल्यो अमेरिकाले।

न्युयोर्कमा बसोवास गरेर अंग्रेजी माध्यमको विद्यालयमा अध्ययन गरेको २० वर्षे ठिटो हेनरी किसिन्जर पनि ३ महिने सैनिक तालिम पश्चात् अमेरिका पुगेको ५ वर्षपछि यानी सन् १९४३ मा अमेरिकाको नागरिकता पाउन सफल भए।

अमेरिकी सेनामा नै रहँदा हेनरीले उच्च अध्ययन गर्ने मौका पाए भने दोस्रो विश्वयुद्धताका आफू जन्मेको मुलुक जर्मनीमा पनि खटिइए। दोस्रो विश्वयुद्ध पश्चात हार्वर्ड विश्वविद्यालयमा अध्ययन शुरु गरेका हेनरीले त्यहीँबाट ‘शान्ति, वैधता र समानता’ विषयमा सन् १९५४ मा विद्यावारिधी गरे।

उनको सो सोधपत्रले त्यतिबेला पुरस्कृत हुने पनि मौका पायो र उनी एकाएक प्रसिद्ध व्यक्तित्व हुन पुगे। आणविक हतियारको होड कम गरेर विश्व विनासको बाटो त्याग्न गठवन्धन, सम्झौता र मेलमिलापको बाटो समात्नु पर्ने कुरामा उनी दृढ थिए।

अमेरिकी परराष्ट्र नीतिको मुख्य काम अन्य मुलुकको नीतिलाई आकार दिनु हो भन्ने उनको मान्यता थियो। निकै वर्ष हार्वडमा उनले प्राध्यापन पनि गरे। राजा वीरेन्द्रले पनि उनीबाट शिक्षा प्राप्त गर्ने अवसर पाए।

पछि उनले सन् १९७३ मा रिचर्ड निक्सन र १९७४ मा जेराल्ड फोर्डको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार र त्यस लगत्तै सन् १९७५ मा विदेश मन्त्री हुने समेत मौका पाए। यसरी आप्रवासी अमेरिकीले यति ठूलो र सम्वेदनशील उच्च पद धारण गर्न पाएको अमेरिकामा नै पहिलो घटना थियो।

कतिले उनको निकै डाहा गरेका थिए। प्राध्यापकले यदाकदा सल्लाह दिन सक्छन् तर त्यति सम्वेदनशील उच्च पद दिन नहुने भन्ने तर्क पनि केहीले गरेका थिए। सन् १९९७ मा अमेरिकी विदेश मन्त्रीको पद धारण गर्ने अवसर अर्की आप्रवासी महिला मेडेलिन अबल्राइटले पनि पाइन्। उनी चेकोस्लोभाकियाबाट सन् १९४८ मा अमेरिका पसेकी थिइन्।

किसिन्जरलाई अमेरिकी हमलाबाट भियतनाम, लाओस, कम्बोडिया, प्यालेस्टाइन तथा विश्वका अन्य स्थानहरूमा लाखौं मानिसको संहारका योजनाकारको रूपमा लिएर घृणा गर्नेहरूको संख्या पनि कम छैन। तर अमेरिका जस्तो विशाल र विश्व शक्ति राष्ट्रमा एकजनाले मात्र त्यस्ता भयानक निर्णय लिए भन्ने कुनै आधार हुँदैन।

त्यस माथि हेनरी राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश मन्त्री हुनु भन्दा पहिले देखि नै अमेरिका र रूस बीचको शीतयुद्ध चलिरहेको थियो भने विश्वका अन्य मुलुकमा हैकम जताउने अमेरिकी चालहरू पनि चलि नै रहेका हुन्।

विश्वको सबैभन्दा विशाल हतियार उत्पादक राष्ट्र अमेरिकाको अर्थतन्त्रलाई चुस्त अवस्थामा राख्न उसले अनेक बहानामा विश्वका विभिन्न ठाउँमा द्वन्द्वको अवस्था सिर्जना गरेर हतियार बिक्री गरि आय आर्जन गरि नै रहनु पर्दछ र यो प्रकृया आजसम्म पनि चलि नै रहेको छ।

भियतनाम युद्धमा अमेरिका नराम्ररी फसेको नै थियो। सन् १९६४ ताका भियतनाम १० अति गरिब मुलुकहरू मध्येमा पर्दथ्यो भने अमेरिका स्विट्जल्र्याण्ड पछिको सबैभन्दा धनी राष्ट्र।

जनसंख्याको हिसाबले भियतनाम भन्दा अमेरिका ५ गुणा ठूलो थियो भने अर्थतन्त्र ७६ गुणा ठूलो। प्रविधि र हात हतियारको हिसाबले भियतनाम एक आदिम युगको राष्ट्र थियो।

तर पनि अमेरिकाको पराजयले त्यहाँको सरकारलाई मात्र होइन कि आजको नयाँ पिँढीका जनतालाई पनि अचम्मित तुल्याएको छ। रणनीतिविद्हरूले त्यतिबेला अमेरिकाको निर्णय क्षमता र शत्रुलाई कम आँक्ने परिपाटीलाई नै दोषी मानेका थिए।

शुरुमा यस्ता युद्धको समर्थन गर्नु किसिन्जरको लागि अति आवश्यक थियो, किनकी यसो गर्नाले नै उनी त्यतिबेलाका अमेरिकी नीति निर्माताहरूको क्लबमा अटाउन सक्दथे। तर आफ्ना निकट साथीहरूसँग भने उनी त्यतिबेला पनि अमेरिकाको तत्कालीन भियतनाम र विदेश नीतिको विरोध गर्दथे रे।

तर यदि हामीले उनी अमेरिकाका सुरक्षा सल्लाहकार र विदेश मन्त्री भएपछिको उनको कुटनीतिको अध्ययन गर्‍यौं भने उनले राष्ट्रपति निक्सन र फोर्डलाई भित्र भित्र विभिन्न सुत्र र मध्यस्तकर्ता मुलुक र व्यक्तिहरूको मद्दतले रूस, चीन र उत्तर भियतनामसँग सम्बन्ध सुधार्ने सल्लाह नै दिएको पाउँछौं। उनी आफैं पनि यस्ता दुई पक्षीय सहमतिका कार्यमा प्रत्यक्ष रूपले लागेका थिए।

किसिन्जरले अमेरिकाका कट्टरपन्थी राजनीतिज्ञलाई परिवर्तन गराएर कम्युनिष्ट राष्ट्रका शासकहरूसँग पनि समझदारीका साथ सम्बन्ध राख्न सकिन्छ भन्ने पाठ पढाएका थिए।

सय वर्षको वयोवृद्धावस्थामा समेत उनले हालै चीनको भ्रमण गरेर अमेरिका र चीन बीच बिग्रँदै गएको सम्बन्ध सुधार्न ठूलो योगदान गरे। भन्न त अमेरिकी राष्ट्रपति जो वाइडेनले त्यो उनको व्यक्तिगत भ्रमण भएको भने तापनि १०० वर्षको उमेरमा किसिन्जरले राज्यको हितको लागि राज्यकै आग्रहमा सो भ्रमण गरेका थिए। त्यसको लगत्तै आज चीन र अमेरिकाको सम्बन्धमा सुधार हुन थालेको छ।

हाल अमेरिकाको दक्षिण भियतनाममा युद्धमा फसेझैं ताइवान मामिलामा पनि फस्ने सम्भावना केही समयलाई टरेको छ भने ताइवान, जापान, कोरिया, अष्ट्रेलिया आदि चीनसँग सशंकित मुलुकहरूलाई चीनको डर देखाएर खर्बौँ डलरको हतियार बिक्री गरि आफ्नो अर्थ व्यवस्थालाई चलायमान बनाउन पनि अमेरिका सक्षम भएको छ।

युक्रेन-रूस युद्धमा पनि हतियार बिक्री र हालको मन्दीबाट उम्कने अमेरिकी कुटनीतिले निकै काम गरेको छ। बाहिरबाट रूसको घोर निन्दा हुँदै गरिएको भए तापनि अरब राष्ट्रहरूको मध्यस्थतामा पुटिनसँग अमेरिकाको सम्वाद चलि नै रहेको भान पुटिनको हालैको अरब भ्रमणले पारेको छ। यस्तो सम्वाद र सम्झौताको कुटनीति अमेरिका र पुरै विश्वलाई सिकाउने आधुनिक जमानाका गुरु हेनरी किसिन्जर नै हुन्।

अमेरिकाका शासकहरूलाई जस्तै परिस्थितिमा पनि शत्रुसँग सम्झौता गरेर जित्दै जानु पर्छ भन्ने पाठ सिकाउने व्यक्ति नै हेनरी किसिन्जर हुन्।

सन् १९७० को पूर्वार्द्धमा हेनरी किसिन्जर कै अथक प्रयासमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले पिङ पङ डिप्लोमेसीको नाममा चीनसँग सम्बन्ध सुधार गर्नाले र रूसलाई चीनबाट झनै अलग्याउने नीति अपनाउनाले पछि रोनाल्ड रेगन राष्ट्रपति छँदा रूससँग सम्बन्ध सुधार गर्न सफल भए भने विश्वमा अमेरिकालाई सर्वोच्च विश्व शक्ति बनाउन सफल भए।

लडाईँको बलियो विकल्प शान्तिपूर्ण मेलमिलाप हो भन्ने सन्देश हेनरी किसिन्जरले दिएकाले नै उनलाई सन् १९७३ को नोवेल शान्ति पुरस्कारबाट सम्मान गरिएको थियो।

उनैको शान्ति र मित्रताको प्रयासले एकातिर अमेरिका र चीन बीचको कटुता निकै हदसम्म कम भयो भने चीनले पनि विश्वमा खुलेर आफ्नो कुटनीतिलाई अघि सार्ने मौका पायो।

किसिन्जरलाई इजरायलको अन्ध समर्थक भनेर बदनामी गरिए तापनि उनले आफू जन्मले यहुदी भएको तर धार्मिक कट्टरपन्थी नभएको कुरा धेरै पटक भनेका छन्।

यहुदी नै भएको तथा बालककालमा यहुदीमाथि भएको अत्याचार आफैंले भोगेको मानिसमा आफ्नो जात र समूहप्रति पे्रम भाव त स्वाभाविक रूपमा जागी नै हाल्छ।

तर इजरायल र प्यालेस्टान तथा अरब राष्ट्रहरूको वैरभावलाई कम गरेर मध्यस्तताको कुटनीति अपनाएपछि शान्ति प्रयासलाई निर्णायक मोडमा नै पुर्‍याएर जिम्मी कार्टरको राष्ट्रपति कालमा सम्पन्न इजरायल–इजिप्ट शान्ति सम्झौताको आधार तयार पार्ने काममा पनि किसिन्जरको ठूलो योगदान रहेको थियो।

निकै ठूलो दुख, कष्ट र संघर्षबाट आज विकसित, समृद्ध र शक्तिशाली बनेको इजरायलले हमास र अन्य उग्रवादी तथा आतंकवादीहरूको रिसमा सोझा, निमुखा प्यालेस्टाइनी बाल-बच्चा, महिला, युवा, वृद्धवृद्धा तथा आम जनतालाई नाजीले झैं नै निमिट्यान्न पार्न हाल गरिरहेको क्रुर हमला र विध्वंशलाई हेर्दा मानव जातिले आफ्नो विगत कति छिटो बिर्सँदो रहेछ र मानव मस्तिष्कबाट अझै पनि पाशविक दुर्गुणहरू पूर्ण रूपमा हटेका रहेनछन् भन्ने कुरा चरितार्थ हुन्छ।

सन् १९७१ को भारत-पाकिस्तान युद्धमा पराजित भएर टुक्रिएको पाकिस्तानको पक्षमा त्यतिबेला अमेरिका उभिएको थियो। त्यतिबेला पुर्वी पाकिस्तान एक बंगलादेशको नामले एक स्वतन्त्र राष्ट्र बन्न पुग्यो। जनघनत्वको हिसाबले विश्वमा नै अग्रस्थानमा रहेको बंगलादेशको गरिवी हटाउन त्यतिबेला असम्भव मानिएको थियो।

किसिन्जरले त्यतिबेलाको उनको एक भाषणमा बंगलादेश इन्टरनेशनल बास्केट केस भएको र त्यहाँ जति नै लगानी र अनुदान हाले पनि त्यो बास्केट कहिल्यै भरिँदैन। तर आज ६ दशकको कठोर मेहनत पश्चात बंगलादेशले त्यो कथन ठीक नभएको साबित गरिदिएको छ।

डा. भेषबहादुर थापाको हालै प्रकाशित पुस्तक ‘राष्ट्र–परराष्ट्रः एकतन्त्रदेखि गणतन्त्रसम्म’ मा लेखिए अनुसार सन् १९७० को पूर्वाद्र्धमा निक्सन र किसिन्जरले पाकिस्तानबाट चीनसित सम्पर्क राख्नुअघि नेपाललाई प्रयोग गरी नेपाल हुँदै चीनमा निक्सनको गोप्य भ्रमण गराउने योजना बनाएको रहेछ।

तर नेपालको दरबार र प्रशासन तथा कुटनीतिक निकायको ढिलासुस्ती र अकरमण्यताका कारण त्यसो हुन नसकेर अमेरिकाले पाकिस्तानमार्फत सो कुटनीतिलाई सफल तुल्याएको रहेछ। यसरी नेपालले अमेरिका र चीनको सम्बन्ध सुधार गराएर विश्वमा सानो भए पनि एक महत्वपूर्ण मुलुकको रूपमा परिचित हुने मौका गुमाएको रहेछ।

तर अर्को पक्षबाट हेर्दा अमेरिका र भारतबीच राम्रो सम्बन्ध नभएको र भारतको चीनसँग कटु सम्बन्ध भएको त्यो बेला उसले थाहा नै नपाई नेपालले मध्यस्थता गरेको भए के भारत नेपालसँग खुशी हुन्थ्यो होला त?

पछि सन् १९८५ मा राजा वीरेन्द्रको निम्तोमा अवकासप्राप्त हेनरी किसिन्जरले नेपालको भ्रमण गरेर आफ्ना शिष्य राजा वीरेन्द्रसँग भेटेका रहेछन् भने त्यतिबेलाको नेपालको प्रख्यात थिंक ट्यांक संस्था सिनास (सेन्टर फर नेपाल एण्ड एसियन स्टडिज) लाई अन्तर्वार्ता पनि दिएका रहेछन्।

हेनरी किसिन्जरले आफ्नो जीवनभरमा थुप्रै पुस्तक तथा सोधपत्र र लेखहरू प्रकाशन गरेका थिए। उनले आफु सक्रिय हुँदाका टिपोट, विचार तथा अन्य महत्वपूर्ण कागजातहरू अमेरिकाको लाइब्रेरी अफ कङ्ग्रेस र येल विश्वविद्यालयलाई अभिलेखन गर्न प्रदान गरेका थिए। विभिन्न विषयका सोधकर्ताहरू उनका यी कागजातको अध्ययन गर्न ती निकायमा जाने गरेको कुरा पनि थाहा लागेको छ।

रोनाल्ड रेगन पहिलो पटक राष्ट्रपति हुँदा पुर्व राष्ट्रपति रिचर्ड निक्सनले आफू चीनमा राजदूत भएर काम गर्न इच्छुक भएको कुरा बारे धेरै पटक आग्रह गर्दा पनि उनको विगतको गोप्य दस्तावेज चोरीको वाटरगेट काण्डले गर्दा रेगनले मान्न नसकेका र पछि किसिन्जर मार्फतसमेत कुरा पुर्‍याउँदा बरु निक्सनको सट्टा किसिन्जरलाई नै सो पदको प्रस्ताव रेगनले गरेका थिए रे, तर उनले निक्सनलाई धोका दिन चाहेनन्।

अमेरिकी विधानमा पहिलो पुस्ताका आप्रवासीहरूले राष्ट्रपति जस्तो सर्वोच्च पदमा दावेदार हुन पाउने भएको भए हेनरी किसिन्जर अमेरिकाका राष्ट्रपति समेत हुन सक्ने थिए।

तर पनि एक कुशल कुटनीतिज्ञको हैसियतले उनको कुटनीतिक दक्षताको भरपुर उपभोग रिचर्ड निक्सनले र उनले वाटरगेट काण्डमा आरोपित भएर राजीनामा दिएपछि जेराल्ड फोर्डले समेत गरे। पछि पनि सबैजसा अमेरिकी राष्ट्रपतिहरूले जरुरत पर्दा उनीसँग परामर्श लिने गरेका थिए।

सन् १९८२ मा हेनरी किसिन्जरले अमेरिकाका न्युयोर्कमा ‘किसिन्जर एसोसिएट्स’ नामक भूराजनीतिक परामर्शदातृ संस्था मार्फत आफ्नो काम गर्दै आएका थिए।

वास्तवमा भन्नै पर्दा २० औं र २१ औं शताब्दीको नवीनतम समयमा हेनरी किसिन्जर जस्ता अति नै सम्मान पाउनुका साथै गाली र अपजस समेत पाउने राजनेता अरु कोही पनि निस्किएनन् भने हेनरी किसिन्जरले प्राप्त गरेको नोवेल शान्ति पुरस्कार जस्तो विवादास्पद कुनै पनि नोवेर पुरस्कार भएन।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *