यू-१९ एसिया कप: नेपाल भारतसँग १० विकेटले पराजित

डिसी नेपाल
२६ मंसिर २०८० १४:५७

काठमाडौं। जारी एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी समुह ए अन्तर्गतको अन्तिम खेलमा मंगलबार नेपाल भारतसँग १० विकेटले पराजित भएको हो।

नेपालले दिएको ५३ रनको लक्ष्य पछाएको भारतले ८.१ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल केवल २२.१ ओभरमा अल आउट हुदै ५२ रन मात्र बनाएको थियो।

यो यू-१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा कम योगफल हो। यसअघि नेपालले सन् २००८ मा वेस्ट इन्डिजविरुद्ध ७४ रन मात्र बनाएको थियो।

भारतविरुद्ध यस खेलमा नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपाललाई सस्तैमा समेट्न भारतका राज लिम्बानीले सात विकेट लिए । राजले ९.१ ओभर बलिङ गर्दै तीन मेडनसहित १३ रन दिएर ७ विकेट लिएका थिए। त्यसैगरी आरध्य शुक्लाले २ र अर्सिन कुलकर्णीले एक विकेट लिए।

योसँगै नेपालले लगातार तीन खेलमा हार व्यहोरेर प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल पाकिस्तानसँग ७ विकेटले र अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो।

त्यसैगरी भारतले ३ खेलमा २ खेलमा जितेर ४ अंक हासिल गरेको छ र सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । अब समुह ए बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो अहिले नै जारी रहेको पाकिस्तान र अफगानिस्तानबीचको खेलपछि लाग्ने छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *