असई थमन विक हत्या प्रकरणः ९ बर्षपछि जिल्ला अदालत महोत्तरीमा सुनुवाइ

डिसी नेपाल
२७ मंसिर २०८० १४:३२

महोत्तरी। मधेश आन्दोलनको समयमा असई थमन विकलाई लखेटी–लखेटी हत्या गरेको ९ बर्षपछि जिल्ला अदालत महोत्तरीमा सुनुवाइ प्रारम्भ भएको छ ।

सोमबारदेखी सुरु भएको बहसकै क्रममा मृतक विककी पत्नी शोभा  आफ्नो ११ वर्षीय छोरासँगै जिल्ला अदालतमा न्याय पाइने आशा बोकेर मंगलबार दिउँसो उपस्थित भइन् ।

यो वहस निष्कर्षमा नपुगेन्जेल जारी रहने जिल्ला अदालत  महोत्तरीले जनाएको छ ।

यो अवधिमा विक  हत्याका अभियुक्तहरु जनप्रतिनिधि बनेका छन भने २०७९ को निर्वाचनमा पनि हत्याका मुख्य योजनाकार भनिएका लक्ष्मी महतो कोइरी संघीय संसदमा निर्वाचित भए ।

हत्या आरोप लागेका आरोपितहरुलाई अदालतले साधारण तारेखमा छाडेको र  कानुनी छिद्रबाट निर्वाचनमा होमिएकाहरुले कानुनलाई नै चुनौती दिएको देखिएको छ ।

यसैमध्यको घटना हो, लक्ष्मी महतो कोइरी । यसअघि जिल्ला अदालतले कोइरीलाई धरौटीमा छाड्न दिएको आदेशलाई जनकपुर उच्च अदालतले भने उल्टाइदिएको थियो ।

कोइरी सग्लन भएको यथेष्ट प्रमाणहरु भएको बताउँदै उच्च अदालतले २०७७ मा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने कोइरीविरुद्ध आदेश सुनाएको थियो।

अदालतले समेत फरार सूचीमा राखिरहेको बेला निर्वाचनको मनोनयनको अघिल्लो रात नेकपा एमालेबाट टिकट लिएर मैदानमा उत्रिएका कोइरी निर्वाचित भए । पछि संघीय संसदले फौजदारी अभियोग लागेका जनप्रतिनिधिहरुलाई निलम्बन गरेपछि कोइरी पनि निलम्बनमा परे ।

तर, अदालतको आदेशलाई चुनौती दिँदै थुनामा बसेर अनुसन्धानमा सहयोग गर्नुपर्ने ठाउँमा कोइरी फरार भए ।

विभिन्न कानुनी आधारका बाबजुत पनि आरोपितहरुले खुलेआम चुनौती दिइरहेको बबेला जिल्ला अदालतमा प्रारम्भ भएको बहसलाई आम मानिसले निकै चासोका साथ हेरेका छन् ।

पतिको हत्या हुदा ३ वर्ष रहेका छोरालाई थमन पत्नीले साथ ल्याएर जिल्ला अदालतको शरणमा आइपुगेकी छन्  । जिल्ला अदालतबाट न्याय पाइने झिनो आशा रहेको थमन पत्नी शोभाले बताइन् ।

‘विभिन्न जिल्ला र अदालतमा आशा जगाउने फैसला पनि भएका छन्,’ उनले भनिन्, ‘जिल्ला अदालत महोत्तरीले पनि न्याय दिलाइदिनेमा झिनो आशा छ।’

मधेश आन्दोलनको समय २०७२ सालमा आन्दोलनकारीहरुको झडपका क्रममा घाइते असई विकलाई उपचारको लागि जनकपुर लैजादै गर्दा एम्बुलेन्सबाट थुतेर धानबारीमा लखेट्दै निर्ममतापूर्वक हत्या गरिएको थियो ।

तर, उक्त घटनाका मतियारहरुले अहिलेसम्म उन्मुक्ति पाउनु दुःखद् रहेको गुनासो छ । ‘एउटा राष्ट्रसेवक देशको लागि लड्दा–लड्दै मरेको भए मन बुझाउने बाटो हुन्थ्यो । तर, यहाँ त जानीजानी हत्या गरिएको छ,’ शोभाले भनिन् ।

महोत्तरी आउनुभन्दा दुई दिनअगाडि उनी न्याय माग्न संघीय राजधानी काठमाडौंसमेत पुगेकी थिइन् ।

उक्त घटनाका मुख्य योजनाकार भनिएका लक्ष्मी महतो कोइरी पक्राउ पर्न नसकेपछि उनी सरकारलाई दबाब दिन काठमाडौँ पुगेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *