पूर्वाधार विकास कार्यालय लमजुङका कर्मचारीले दुई महिनादेखि तलब पाएनन्

डिसी नेपाल
२८ मंसिर २०८० १३:२१

लमजुङ। बेँसीसहर नगरपालिका–८मा रहेको पूर्वाधार विकास कार्यालय लमजुङमा लेखा अधिकृत नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् ।

कार्यालयका सूचना अधिकारी आशिष पोखरेलले दसैँ अघि लेखा अधिकृत यमबहादुर थापा सरुवा भएर अन्यत्र गएसँगै हालसम्म लेखा अधिकृत नहुँदा गत कात्तिक र यही मंसिरको तलब पाउन नसकेको बताए।

यहाँ सहायक लेखा अधिकृतसमेत नभएको लामो समय भएको छ । यी दुवै पदमा दरबन्दी रिक्त हुँदा तलबका साथ साथै विल भुक्तानीसमेतमा समस्या भइरहेको उनको भनाइ छ।

सूचना अधिकारी पोखरेलले भने, “हामीले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा दिनहुँ फोन गरेर लेखा अधिकृत पठाउन माग गरिरहेको र मन्त्रालयबाट चाँडै पठाउने आश्वासन आउँछ तर कर्मचारी आउनुहुन्न ।”

२१ जनाको दरबन्दी रहेको यस कार्यालयमा हाल १३ जना कार्यरत् रहेका छन् भने आठ जनाको दरबन्दी रिक्त रहेको छ। नौ तहको उपसचिव सरहको कार्यालय प्रमुख तीन वर्षभन्दा बढीबाट रिक्त हुँदा निमित्त कार्यालय प्रमुखको भरमा पूर्वाधार विकास कार्यालय सञ्चालन हुँदै आएको छ।

दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयको काम, गुणस्तरीय योजना, स्थलगत अनुगमन गर्न, कार्यालयमा डकुमेन्ट बनाउनदेखि योजना कार्यान्वयन गर्नलाई समस्या भइरहेको निमित्त कार्यालय प्रमुख विवेक सिग्देलले बताउनुभयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *