दर्शन

जीवन र जवानी

शंकरप्रसाद रिजाल
३० मंसिर २०८० ६:४४

हामी जीवनको किन मान र अभिमान गर्दछौं? यी दुवै फेसर एक बुलबुले पानी सरह हो, जुन केही समयपछि हामीलाई दुवैले छोडेर जान्छन्। कहाँ जान्छ कहाँ कसैलाई पनि थाहा छैन।

यो रौनक केवल दुइ दिनकोमात्र हो। दुई दिनको हावा र हुरी सरह हो। मानिस किन जीवन र जवानीको धाक, फुर्ती र तमक देखाउँदछन्? यस्तो चोलामा पनि किन तेरो मेरो भनेर किन अहंकार गर्छन्? यहाँ केही पनि मेरो र कोही पनि तेरो भन्नु छैन।

यो विशाल धर्तीको नापोमा प्रत्येक मानिसको जीवन महासागरको एक बुलबुले पानी सरह हो भने जवानी त झन् जीवन भित्रको एक अंशमात्र हो। यो रुप जवानी र रंग केही पनि स्थिर छैनन्। यी सब कुराहरु आखिर जीवनसँगै कहाँ जान्छ कहाँ, जो फेरि कहिल्यै फर्किँदैनन्।

त्यस्तै सधैं कोही पनि आफ्नो अगाडि रहँदैनन्। आफ्नो जीवनलाई मुलतः आफैंले थाम्ने र सकेसम्म बचाई राख्ने हो। सपनामा जसरी पाएका कुराहरु विपनामा हराउँदछन्, त्यसरीनै विपनामा पनि पाएका सम्पूर्ण कुराहरु जीवन सकिनासाथ विलिन भएर जान्छन्।

अतः विपना पनि एक लामो सपना हो । यो जीवनमा पाएको कुराहरु उपर सन्तुष्ट नमानी थप्दै जाने प्रवृत्ति नै अस्थिरताको एक निशानी र द्योतक हो। संसार यसैमा अविरल हिसाब किताब र जोड घटाउ गरी मुक्ति पाउने कुरामा लागिरहेका छन् जुन गलत र अपूर्ण छ।

वास्तवमा विज्ञान भन्दा उपल्लो दर्जामा रहेको अध्यात्म ज्ञानले यो जीवन नै एउटा भ्रम हो भनेको छ। किनकि पृथ्वीमा जन्मिँदै जाने, देखिँदै जाने हरेक चिज पृथ्वीमै विलिन हुँदै जाने जीवन, जवानी र सम्पूर्ण चराचर सत्य छैन।

त्यसमा पनि कसैको जीवन र जवानी पनि एकनासको छैन। सबै उही परमात्माको लीला मात्र हो। जन्मिँदा साथ मोहजालमा वा मायाजालमा फसाइ आखिरमा जीवन फेरि आफ्नै अंशमा मिलाउने रुप परिवर्तन गरी फेरि यही मृत्युलोकमा अवतरण गराउने हो। यो सबै नाटक मञ्चनको एक अंशमात्र हो। कोही र कसैको जीवन एकनाश र अजर र अमर छैन।

यो धर्तीमा जीवन लिएर आए पछि केही वर्ष शिशु, बालक, बच्चा हुँदै युवा र तरुण हुन्छौं। यौवन र जवानीमा प्रवेश त गर्छौं। अभिमान, तमक, रिस,इष्र्या, डाह, लोभ लाल्चामा फसेर एकछिन् बेफिक्रीको जीवन त बिताउँछौं तर अफसोच यही जीवन र जवानीमा आर्जेका सारा कुराहरु वयश्क र बृद्ध हुँदै जाँदा सब कुराहरु बिस्तारै क्षिण हुँदै जान्छन्।

सारा अंग प्रत्यांग गल्दै जान्छ। खै ती अतित कालका जीवन र जवानी। आज ती सब सम्झानामा मात्र रहेर बसेका हुन्छन्। आज त्यही सम्झनाका पानाहरु पल्टीपल्टी जीवनको लहरता चलिरहेको छ। सम्पूर्ण यावत् जीव जीवात्माको।

प्रत्येक साल जीवनको आयु १००, ९९, ९८, ९७, गरी घट्दै गइरहेको छ। एक दिन शून्यमा आएर सम्पूर्ण जीवन समाप्त हुन्छ। अनि किन मनुष्यहरुको लोभ मोहमा फसेर ‘म खाउँ मै लाउँ, सुख सयल वा मोज मै गरूँ’ अरु सबै मरुन् वा जे गरुन्” भनेर हिँड्ने आजका अज्ञानीलाई एकदिन आफ्नै चिता खित्का छोडेर अभय हाँस्छ मरी मरी’ भन्ने कुराको हेक्का नराख्ने अमानुषलाई कसले के भन्ने, शब्द छैन यसको।

सबैलाई थाहा छ रितु परिवर्तनको साथै समयको फेरबदलमा मानिसलगायत सम्पूर्ण जीव जीवात्माहरु आफ्नो काँचुली फेरिरहेका हुन्छन्। सर्पले काँचुली फेरे झैं।

एउटा गंगाजीको पानीको लहरले निरन्तर काँचुली फेरिरहे झैं, मानिसले पनि जन्मिएपछि निरन्तर काँचुली फेरि रहेका हुन्छन्। त्यसैको गतिमा आउने मनुष्य चोलाको एक जीवन र जवानी हो।

तसर्थ यसलाई गम्भीर रुपले हेक्का राखी मान अभिमान, लोभ लालचा र अत्याधिक मोह जालमा नफसी केवल आफ्नो सुकर्ममा पसिना बगाइ दया, करुणा, नम्रता, इमान्दार र अनुशासनशील बनी मानिसले आफ्नो इहलिला समाप्त गर्नु नै एकमात्र उत्तम मार्ग हो भनेर ठूला ज्ञानी पुरुषले भन्दै आएका छन्।

वास्तवमा यही जीवनको लहरमा फेरिँदै जाने एक तरंग हो जवानी। यही जवानीको बेलामानै जीवनका अनेक मधुरस चाख्न पाउने एउटा क्षण हो, जुनपछि गएर त्यो पनि निरस बन्दै जाने हुन्छ।

प्रेमको शिखर चुम्नेदेखि लिएर पढाइ लेखाई कमाइ र आफ्नो पेशा आदि आदि कुरालाई सप्रिन संगीनमा पुर्याउने समय पनि जवानी नै हो। तर के गर्ने केही समयको आगमन पछि त्यसले पनि कोल्टो फेरिहाल्छ।

थाहा नै नपाइकनै यो जवानी बिस्तारै हाम्रो यो जीवनबाट टाढा कहाँ र कुन लोकमा जान्छ थाहा नै हुँदैन। तसर्थ जीवन र जवानी छ भन्दैमा त्यसको बेवास्ता नगरी त्यसको बेलैमा दुरुपयोग हैन सदुपयोग गर्नु नै प्रत्येक मानिसको लासग उत्तम मार्ग हुन्छ।

परमेश्वरको महा-आकासमा ठूल्ठूला महासागर त एक बुलबुले पानीको फोका हो भने जीवन पनि एक त्यस्तै चिज हो। यो निरन्तर परिवर्तनमा मस्त छ। जाने आउने यसको क्रम सृष्टिको सुरुवात देखिनै चल्दै आइरहेको छ। स्थिर केही पनि छैन।

जीवन र जवानीले काँचुली फेरेजस्तै हरेक चिज ऋतु परिवर्तन मौसम र समयले काँचुली फेरिनै रहेको हुन्छ। जीवन एकैनास कसैको पनि छैन। कवि शिरोमणि लेखनाथ पौड्यालले सबै कुराको निचोड निकाली जीवन र जवानीलाई छोटकरीमा भन्छन्, ‘कसैकोपनि देखिन्न एकैनास सम्मुन्नती, अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति’।

एकैनास हुने भए खै हाम्रो त्यो बचपन, खै हाम्रो त्यो नाबालकपना, खै हाम्रो जवानी र वयस्क पनि। सब बितेर जान्छन् एक दिन। आज सब बृद्ध अवश्थामा पुगेका आफ्नै मनोआकाशमा आफैं रमाइरहेका छन्, जवानीका ती पलपलका कुरालाई सम्झेर। थाहा छैन यो पलपनि आखिर कहाँ गएर भित्ता पुग्ने हो।

यस्तो बुलबुले जीवनको परिवेशमा के चिज प्राप्तिको लागि अभिमान गर्ने? शिक्षा दिक्षा, मान पदवी र प्रतिष्ठाको के हुंकार छेड्ने हो। सब बेकार छ। बाचुन्जेल जीवलाई अल्झाई रहने एक पोका पन्तरामात्र हो। यसले आफ्नै जीवनमा र जीवन पर्यन्त्यपनी सुख दिनेवाला छैन।

दिने भए आज यस्ता मान पदवी पाएका पनि किन रोइ बसिरहेका छन्? किन नेपालका महावीर पुनले मानपदवी रोइरोई बेच्न बाध्य भए? यस्ता अरु पनि नेपालमा र अरु ठाउँमा पनि प्रशस्त भेटिनछन्।

यहाँ जीवनपछि रहने त मानिसको ‘साख’ मात्र हो, उसको बोली बचन हो, उसको नम्रता हो, उसको इमान्दारिता, करुणा, दया, माया, अनुशाशन र सुकर्ममात्र हो।

बाँकी सबै सपनामा भेटिएका चिजहरु जस्तामात्र हुन्। तसर्थ क्षणिक लोभ र लालचाको अल्झोमा नफसी जीवन र जवानीलाई सधैं सत्कार्य र सत्पात्रमा प्रयोग गरी आफूलाई असल बनाउने काममा लाग्नु पर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *