मणिपुर हिंसामा मारिएका ८७ कुकीजो समुदायका मानिसहरूको आज अन्तिम संस्कार

डिसी नेपाल
४ पुष २०८० १३:२७

काठमाडौं । मणिपुरमा अप्रिल ३ गतेदेखि जारी जातीय हिंसामा मारिएका कुकी–जो जनजातिका ८७ जनाको आज अन्त्येष्टि गरिने भएको छ । सात महिनाअघि यी व्यक्तिको हत्या भएको थियो ।

उनीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि कुकी–जो जातिले आज बिहान ११ बजेदेखि तुलबुङको शान्ति मैदानमा शोकसभा आयोजना गरेका छन् ।

सामूहिक अन्त्येष्टि कार्यक्रमको बारेमा जानकारी दिँदै कुकी जनजातिको मुख्य संगठन आदिवासी जनजाति नेता फोरमका संयोजक गिन्जा वुल्जोङले भने, ‘हिंसामा मारिएका ८७ जनाको आज एकैसाथ अन्त्येष्टि गरिने छ । ४६ जनाको शव चुराचन्दपुर अस्पतालको शवगृहमा राखिएको थियो र ४१ जनाको शवलाई इम्फालबाट ल्याइनेछ।”

‘हाम्रा सहिदप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बिहान ११ बजे शोक कार्यक्रमको आयोजना गरिएको छ । त्यसपछि दिउँसो २ बजेदेखि सबै सहिदलाई हेकेनमा गाडिनेछ ।

यस अवधिमा लम्का (चुराचन्दपुर)मा इन्टरनेट बन्द भएको कुकी नेता गिन्जाले बताए । यसअघि डिसेम्बर १५ मा काङपोकपी जिल्लामा कुकी–जो समुदायका १९ जनाको दाहसंस्कार गरिएको थियो ।

वास्तवमा मे ३ बाट सुरु भएको यो जातीय हिंसामा मारिएका कुकी-जो मानिसहरूको शव इम्फालका अस्पतालहरूमा राखिएको थियो। तर नोभेम्बर २९ मा, सर्वोच्च अदालतले मणिपुर सरकारलाई मृतकहरूको “सम्मानजनक” दाहसंस्कार गर्न निर्देशन दियो, त्यसपछि शवहरू उनीहरूको परिवारलाई हस्तान्तरण गरियो। यसरी, डिसेम्बर १४ मा दुई शवगृहबाट कुल ६० शवहरू एयरलिफ्ट गरियो। इम्फालदेखि काङपोकपी र चुराचन्दपुरमा ल्याइयो ।

मणिपुरमा विगत सात महिनादेखि चलिरहेको यस जातीय हिंसामा अहिलेसम्म दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ । जबकि ५० हजारभन्दा बढी मानिस विस्थापित हुनु परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *