राष्ट्रिय सभा निर्वाचनको मतदाता नामावली स्वीकृत

डिसी नेपाल
४ पुष २०८० १४:४९

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत भएको छ। निवार्चन आयोगले ११ माघमा हुने निर्वाचनका लागि आज मतदता नामावली स्वीकृत गरेको हो।

राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ। सो व्यवस्थाअनुसार प्रदेशसभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको हो।

स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेशसभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको आयोगले जनाएको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ को नाम हटाइ कूल १४९८ जनाको नामावली स्वीकृत गरिएको छ। स्वीकृत मतदाता नामावली आयोगको वेवसाइटमा समेत प्रकाशन गरिएको छ।

निर्वाचन कार्यक्रम बमोजिम यही २० पुसमा निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ र प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनुपर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ छ । पुस २२ मा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ। त्यसअनुसार माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेशसभा सदस्यको कूल मतभार २९,०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८,४६२ गरी जम्मा ५७,५५९ मतभार कायम रहेको छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभामा रहेका एक तिहाईं सदस्यको पद रिक्त हुँदैछ । कानूनत यसरी रिक्त हुने पदमा ३५ दिनअगावै पदपूर्ति गर्नुपर्ने हुन्छ । यसैकारण सरकराले ११ माघमा राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *