कांग्रेसमा वरीयता विवाद
काठमाडौं। नेपाली कांग्रेसमा नेताहरूको वरीयता विवाद सार्वजनिक रूपमै तल्लो तहसम्म देखिन थालेको छ। पार्टी सभापति शेरबहादुर देउवापछि कांग्रेसभित्र संस्थापनइतर समूहको नेतृत्व गरिरहेका केन्द्रीय सदस्य डा.शेखर कोइरालालाई वरीयताक्रममा नराख्दा मधेश प्रदेश कार्यसमितिमा विवाद भएको हो।
सम्मलेनको उद्घाटनमा डा.शेखरलाई विशिष्ट अतिथि बनाउने विषयमा कुरा नमिलेपछि कोइराला पक्षीय आठजना नेताले फरक मत राखेका छन्। उनीहरूले देउवापछि कोइरालालाई मर्यादाक्रममा राख्न कांग्रेसको मधेश प्रदेश समितिको ध्यानाकर्षणसमेत गराएका छन्।
आजदेखि जनकपुरको तिरहुतिया गाँछीमा सुरु हुने कांग्रेसको मधेश प्रदेश सम्मेलनको उद्घाटन पार्टी सभापति देउवाले गर्ने तय भएको छ।
मधेश प्रदेश सम्मेलन उद्घाटन समारोहमा सभापति देउवापछि मर्यादाक्रममा कोइरालालाई राखेको छैन। बुधबार बसेको कांग्रेसको मधेश प्रदेश समितिको बैठकले देउवापछि पार्टीका उपाध्यक्ष पूर्णबहादुर खड्कालाई आशनग्रहण गराउने गरी मर्यादाक्रम मिलाएको छ। कोइरालालाई भने केन्द्रीय सदस्यको हैसियतमा आशनग्रहण गराइने बैठकले निर्णय गरेको छ।
कांग्रेस मधेश प्रदेशका सदस्य एवं कोइराला पक्षका नेता रविनराज कोइरालाले भने, ‘हामीले शेखर दाइलाई दोस्रो मर्यादामा राख्न बैठकमा कुरा राख्यौं। तर, हाम्रो कुराको सुनुवाइ भएन। मर्यादाक्रमको निर्णय भइसकेको भनियो। शेखरदाइलाई दोस्रो मर्यादामा राख्न हामीले अडान लिएपछि प्रदेश सभापतिज्यूले पहिला सम्मेलन सफलतापूर्वक सकौँ, पछि बसेर यस विषयमा छलफल गरौँला भनेर तर्किनुभयो। सम्मेलनमा सहभागी हुन शेखरदाइ बिहीबार बिहानै जनकपुर आइपुग्ने कार्यक्रम थियो। तर, यही किचलोले उहाँ अब नआउन पनि सक्नुहुन्छ।’
कांग्रेस मधेश प्रदेश समितिमा देउवा पक्षको स्पष्ट बहुमत छ। कांग्रेस मधेश प्रदेश समितिको निर्वाचनमा देउवा पक्षबाट कृष्णप्रसाद यादवले अध्यक्षमा जितेका थिए। कोइराला पक्षले भने कांग्रेस नेता विमलेन्द्र निधिका उम्मेदवार रामसरोज यादवलाई सघाएको थियो।
कांग्रेसको प्रदेश सम्मेलनमा कोइरालालाई दोस्रो मर्यादाक्रममा राख्ने/नराख्ने विवाद भने चर्किएको छ। यसअघि लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा कोइरालालाई दोस्रो मर्यादाक्रम तथा विशिष्ट अतिथिको आसन दिइएको थियो। कोइराला पार्टीको २५औँ वरीयतामा रहेका छन्।
कांग्रेसका मधेश प्रदेश सदस्य रेखा यादवले कार्यसमितिको बैठकमा प्रदेश सम्मेलनको उद्घाटन समारोहको मर्यादाक्रमबारे कुरा झिक्दा प्रदेश अध्यक्ष यादवले सबै कुरा प्रदेश समितिको हातमा नरहेकाले भन्ने जवाफ दिएको बताउँदै भने, ‘केन्द्रीय नेताको पनि सरसल्लाहअनुसार मर्यादाक्रम मिलाइएको भन्नुभयो।’ जनकपुरमा हुने सम्मेलनका लागि केन्द्रीय सभापति देउवा र केन्द्रीय पदाधिकारीहरूसहित नेता कोइरालालाई पनि बोलाइएको छ।
मधेश प्रदेशका वरिष्ठ नेता रामसरोज यादवले गुटगत मानसिकताबाट हेरेर आशन निर्धारण गरिएको टिप्पणी गर्दै भने, ‘पार्टीका परम्परा र मूल्य मान्यताहरूलाई हठात् बेवास्ता गर्दै केवल गुटगत मानसिकताबाट मात्र अभिप्रेरित भएर सम्पूर्ण मधेश प्रदेशमा पार्टीकै सांगठनिक संरचनामा समेत विग्रह ल्याउने गरी मनोमानी पूर्ण तवरवाट आसनग्रहण गराउन लागिएको विषयप्रति हामी घोर आपत्ति जनाउँदै यस कार्यसमिति बैठकमा फरक मत राखेका छौं।’
गण्डकी प्रदेश सम्मेलनमा ब्यानरकै विषयमा विवाद
यसअघि मंगलबार उद्घाटन भएको गण्डकी प्रदेश प्रथम प्रदेश सम्मेलनमा उद्घाटन शत्रमा राखिएको ब्यानरको विषयमा विवाद भएको थियो। कांग्रेस गण्डकी प्रदेश समितिले सम्मेलनको ब्यानरमा ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ लेखेको थियो।
तर, उक्त वाक्यांशप्रति संस्थापन पक्षका नेताहरूले आपत्ति जनाएपछि उद्घाटन समारोह कार्यक्रम सुरु हुनुभन्दा केही समयअघि हटाएको थियो। कार्यक्रम हुने स्टेजमा ‘विराशतको रक्षा गरौँ,नेपाली कांग्रेस बचाऔँ, इमान भएकाहरूलाई जिम्मेवारी राखौँ, भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ, कांग्रेस चरित्र पुनःस्थापित गरौँ’ लेखिएको थियो।
त्यसबाट ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ वाक्य हटाएको हो। प्रदेश महामन्त्री विष्णु लामिछानेले लेखाइ अशुद्ध भएकाले ब्यानरबाट हटाइएको दाबी गरेका थिए।
हिमालय टाइम्स दैनिकबाट
Facebook Comment