कथा : ऊनको डल्लो

खेमराज पोखरेल
७ पुष २०८० ७:२७

उसले एकाबिहानै रक्सी खाएको थियो। रक्सी खाने बहाना खोज्नु पर्दैनथ्यो। ऊ लरबरिँदै घर पुग्यो। श्रीमतीलाई हकार्‍योः

‘मैले यस्तो काम नगर्नु भनेको होइन? सुन्दिनस्?’

‘राम्रो काम खोज्नुस् न त, मेरा पुर्पुरोमा यस्तै रहेछ’

‘मुख लाग्छेस् ? लु ला’ आफ्नै चप्पल झिकेर श्रीमतीलाई हिर्कायो ।

‘कस्तो नामर्दसँग परेँ छु नि’ रून थालिन् श्रीमती ।

फेरि कुट्यो र घरबाहिर निस्क्यो ।

०००००००

ऊ रणे याने रणवीर सिंह ठकुरी। ऊ खान्दानी हो। बुर्जुवा खान्दानी। उसको परवरिस दाजुलाई भन्दा राम्रो भयो। दाजुले पढ्यो। उसले पढेन। दाजु विदेश हानियो। अंश बेचेर। ऊ बाबुआमासँग। उसले केही गरेन याने केही काम गरेन। पुख्र्यौली सम्पत्ति बेच्दै खाँदै गर्‍यो।

दुई छोरा दुई छोरीको बाउ भयो। रक्स्याहा भयो। छोरालाई सपार्न उसका बाबुआमाले निकै बल गरे। उल्टै उसले बाबुआमालाई कुटपिट गर्ने र गाउँमा तमासा देखाउन थाल्यो। बाबुआमा दिक्क भए र अंश बेची विदेशिए अर्को छोरासँग। यसपछि उसका दुर्दिन सुरू भए।

ऊ रणवीर सिंह ठकुरीबाट ‘रणे’ भयो। रक्सी खायो र श्रीमतीलाई अनेकौँ बहानामा कुट्यो। यो उसको दैनिकी भयो। खेत बेच्यो रक्सी खायो। घडेरी बेच्यो रक्सी खायो। उसले आफूले मात्र खाएन। भेटेका चिनेका मान्छेलाईसमेत खुवायो। रक्सी खान पाइने बेलामा उसका साथीहरु उसलाई भन्थेः ‘हजुर त बाबु साहेब हो। हिङ हो। खान्दानी हो’। उसको रक्सी खाइ सक्थे अनि भन्थेः ‘रणे’।

उसको श्रीसम्पत्ति स्वाहा भयो। मुखमा माड लाउने समस्या भयो। उसकी श्रीमतीले घरैमा ऊनका डल्ला बनाउने र ज्याला लिने काम गर्न थालेकी थिइन्। यो कामले आफ्नो खान्दानी इज्जत गएको ठानेको थियो। र ऊ यसै निहुँमा श्रीमतीलाई कुट्थ्यो। ऊ एक रूपियाँको पनि उपति गर्दैनथ्यो।

परिवार थियो। उफ् परिवार चलाउन समस्या थियो। श्रीमतीले कुटाइ खाएरै भए पनि ऊनका डल्ला पार्ने कामलाई निरन्तरता दिएर छोराछोरी पालेकी थिइन्। उनको मातृत्व त्यसै त्यसै विदीर्ण हुन्थ्यो। चिथ्रा लगाएका छोराछोरीहरु, आधा पेट पनि खान नपाएका सन्तानका चाउरिएका अनुहार हेरेर उनको मातृत्व विवश पग्लिन्थ्यो।

तत्क्षण एउटा आशा पलाउँथ्यो ‘बाउले नगरे र के भो र? यी छोराछोरीले पक्कै मेरो दिन फिराउने छन्’। उनी झन्झन् फनफनी चर्खामा ऊनको धागो घुमाउँथिन्। एउटा आशा तप्केनीमा तप्केजस्तो लाग्थ्यो।

जीवनको आश पल्पिन्थ्यो। परपर आकाशमा बादलुको मनुष्याकृति जस्तो देखेर द्रविभूत मुस्कुराउँथिन् र छोराछोरीलाई भन्थिन्ः ‘हेर बाबु नानी त्यो भगवान् हो, हामीलाई दर्शन दिएका छन्, धेरै पढ, ठूलो मान्छे हुन्छौ’। छोराछोरीले आकाशतिर हेरे। केही थिएन। काला सेता बादलहरु हावासँगै उडिरहेका थिए।

०००००

ऊ सूर्य विनायक चोकमा पुग्यो। बसका ताँत अनवरत दगुरिरहेका थिए। ती गतिशील थिए। खलासी भाइ एकोहोरो कराइ रहेको थियोः ‘नयाँ बसपार्क, चाबेल, गौशाला’। घरी ऊ उल्टो पनि भन्थ्योः ‘गौशाला, चाबेल, नयाँ बसपार्क’। ऊ जीवन बोल्थ्यो। जीवन बाँच्न सधैँ सुल्टो मात्र बोलेर हुन्नथ्यो। खलासी यात्रुसँग झगडा पनि गरिरहेको थियोः ‘भाडा बढ्यो, बिस रूप्पे, बिस रूप्पे’

‘साला ठग खलासी, देश बिगार्ने यिनै ठग हुन्’ ऊ बसकै छेउमा उभिएर बर्बरायो र पिच्च थुक्यो। उसले पनि सबैले भन्ने गरेको विषय बोल्यो। देश बिगार्ने अरु हुन्। आफू होइन। ऊ यात्री प्रतीक्षालयमा बसेको थियो।

नजिकैको होटलबाट एक जग पानी लियो। मुख धोयो। यो चोक उसको आफ्नो हो। यो चोकले उसलाई चिन्छ। पहिले जसरी चिने पनि अहिले जँड्याहा रणे भनेर चिन्छ। एक हुल मान्छे उसलाई जड्याहा भन्दै हिँड। ऊ चिच्यायोः ‘खाए खाएँ त, तेरा बाउको खाइन। गधा, स्याल,……’ आदि आदि।

‘कस्तो थियो यसको बाउ हजुर बाउको तग्झक् यसै गाउँमा। र अहिले बिचरा रणे। मान्छे त यो रणे पनि खराब छैन तर यो तुक्र्यानीले यसलाई बिगा¥यो, यो सड्यो, बिग्रेको जाँड झैँ सड्यो’ पुराना बुढाहरु उसका बारेमा यस्तै टिप्पणी गर्थे।

उसभित्रको एउटा मान्छे बोल्योः ‘साला, मेरो त स्वास्नी नै भइन। खराब। न इज्जतको ख्याल छ, न बेहोरा नै राम्रो छ। मुखाले’ उसले मनमनै स्वास्नीलाई गाली ग¥यो। उसलाई एकाएक यो दुरवस्थाको कारण स्वास्नी नै हो भन्ने लाग्यो।

एकै निमेषमा उसले बाबुआमा तथा दाजुलाई सम्झ्यो र रिस उठेर आयोः ‘साला, आमाबाबु, दाजुभाइ, इष्टमित्र साथीभाइ सबका सब स्वार्थी। बेइमान। यो संसार नै बेइमान’। उसले फेरि आफ्ना छिमेकीहरुलाई गाली गर्‍योः ‘साला, तिन आनेहरु, मैले दिएको जग्गामा घर बनाएका छन् मैलाई असभ्य जँड्याहा भन्छन् र फुर्ती लाउँछन्’

ऊ अनायास नयाँ बसपार्क जाने गाडीमा चढ्यो। बस्यो र अनावश्यक बर्बराउन थाल्यो। खलासीले उसलाई चुप लाग्न अनुरोध ग¥यो। ऊ झन् च्याँट्ठियोः ‘साला खाते, कराउँछस्। यो गाडी तेरो बाउको हो? ठग। बोल्न पनि नपाउने, साला हेप्छस्?’

खलासी पनि बोल्थ्यो होला। किनकि खलासीले जति दुर्वाच्य कसले जानेको हुन्छ र? तर खलासीले उसलाई चिनेको थियो। अचम्म चुप लाग्यो। ऊ बेला बेला चिच्याउँथ्योः ‘साला, सबका सब शत्रु, बेइमान, वाइह्यात स्वार्थी……’ आदि आदि ।

०००००००

ऊ गौशालामा ओल्र्यो। पशुपतिको कैलाशतिर अनायास लाग्यो। कैलाशभरि युगल जोडीहरु आलिङ्गन मुद्रामा थिए। एकले अर्कालाई समाएका थिए। जीवनसँगै बाँच्ने कसम खाइरहेका थिए।

कोही एक अर्काको काखमा पल्टिएका थिए। कतै कतै त गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो पनि देखिन्थ्यो। एउटा दुइटा हो र? बग्रेल्ती थिए जोडीहरु। मान्छे नदेखेजस्तो गरी हेरिरहेका थिए। थाहा नपाएजस्तो गरी स्वाद लिइरहेका थिए।

‘मेरी स्वास्नी पनि कम्ता राम्री थिई र? अहिले पो मुखाले काम नलाग्ने भई त’ कैलाशको डाँडोमा भुईँको खुइलिएको घाँसमा बसेर उसले मनमनै आफैँलाई भन्यो। दश वर्ष पहिले उसले पनि रम्भा याने उसकी बिहे नभइ सकेकी श्रीमतीलाई स्कुल ड्रेसमै यही डाँडोमा ल्याएर आलिङ्गनमा बाँधेको थियो।

रम्भा पनि लपक्क टाँसिएकी थिई। जीवन सँगै बाँच्ने कसम पनि खाएका थिए। उसलाई त्यो रम्भा संसारकै सबैभन्दा राम्री स्वर्गकी रम्भा जस्तै लाग्थ्यो। तर अहिले उफ्! वाक्क दिक्क भएको छ त्यही रम्भासँग।

‘यो प्रेम, यो आलिङ्गन सब वाइह्यात हुन्, भुल भुलैया हुन्। यो आवेग मात्र हो। यी सबै केटीहरु स्वार्थी हुन्, माया स्वार्थी हो। पैसा छउन्जेल यी टाासिने हुन्। पैसा नभएपछि मरेको सिनोलाई उपियाँले छोडेजस्तो छोड्ने हुन्।

के रम्भाले मसँग मुख लाग्ने हो त? मेरा बाबुआमाले मलाई छोडी विदेशिने हो त? के साथीहरुले मेरै पैसाले रक्सी खाने अनि मैलाई ‘जँड्याहा रणे’ भन्ने हो त? ठकुरी बाबु साहेबकी श्रीमतीले जाबो ऊनको डल्लो बनाउने काम गर्ने हो त? कोर्काली टुटपुँजियाकी छोरी ल्याएपछि के गर्ने? न इज्जतको ख्याल छ, न जोरीपारीको’ ऊ बर्बरायो।

०००००००

अहिले ऊ पशुपति परिसरमा बसेका माग्नेका लामलाई हेरिरहेको छ। ऊ माग्ने बुढाबुढीको ठिक अगाडिको सिँढीको खुट्किलोमा थ्याच्च बस्यो। ती बुढाबुढीहरु, अपाङ्गहरु, असहायहरु लस्करै हात थापिरहेका थिए। कोही दिइरहेका थिए पाँच दश। कोही सटासट हिँडिरहेका थिए। मानौँ उनीहरुले त्यो लामलाई देखेका थिएनन्।

उनीहरुका आर्तनादहरु सुनेका थिएनन्। पशुपतिको चन्दनको ठूलो टिको लगाएर धर्म गरिरहेको ढ्वाङ र स्वाँङ्मा बाँचिरहेको छ मान्छे। अनुसन्धान गर्ने एक हुल सुकिला केही माग्नेका अगाडि उभिए। बिस्कुट र पैसा दिए। प्रश्न गरेः

‘तपाईँको नाम?’

‘घर ?’

‘किन ?’

‘कसरी ?’

‘कहाँ ?’

‘कसले ?’

‘सरकारी सुविधा ?’

‘वृद्घाश्रमको व्यवस्था ?’

‘आदि आदि…..’

अनुसन्धानकर्ताले क्यामरा सोझ्याए। रूवाइ टिपे। आँसु र बिलौना तस्विर बने। खोतल खातल पारे। नङ्ग्याए। उनीहरुका व्यक्तिगत कुरा चुहाए। रिपोर्ट बनाए। डलर कमाए। र हराए।

उसले सुनेको थियो माग्नेहरुका उत्तरहरुः

‘छोरा बुहारीले कुटे’

‘दाजु भाइले अंश खोसे’

‘झुक्याएर यहाँ छोडी गए’

‘आदि आदि……..’

उसले पनि बाबुआमालाई कुटेको थियो। ऊ मनमनै बर्बरायोः ‘यी अनुसन्धानकर्ता भन्नेहरु पनि एकपक्षीय छन्। खोइ छोराछोरीको मर्का खोजेका यिनले? पैसा नदिने आमाबाबु हुन् नि मेरा त। जाबो दस हजार त मागेको थिएँ नि। फेरि त्यस्तो देशै छोड्नु पर्ने गरी कुटेको पनि त होइन नि’

उसले परपर हेर्‍यो। चहकिलो घामको उज्यालोमा पनि उसले अन्धकार देख्यो। पिपलको बोटको सिँयालले पनि पोल्न थाल्यो। ऊ फेरि बर्बरायोः ‘साला, सबका सब स्वार्थी, स्वास्नी, बाबुआमा, दाजुभाइ, छिमेकी, साथीभाइ मात्र होइन यो परिवेश नै स्वार्थी, यी बुद्घिजीवी भनिएका अनुसन्धानकर्ता पनि स्वार्थी, सारा दुनियाँ स्वार्थी’

उसले पशुपतिको भजन मण्डलीलाई हेर्‍यो। ती लेघ्रो तानी तानी शिवको भजन गाइरहेका थिए। त्यसले उसलाई तानेन। उसले केवल यति भन्योः ‘वाइह्यात’। जोगीहरु याने बाबाहरु भिक्षाको आशमा थिए। उसले सोच्यो ‘मगन्तेहरु’। अचानक उसले एउटा जोगीलाई सोध्योः

‘मागी खान जोगी हुनु भएको हो?’

‘हो हजुर, जीवनसँग हारेर, परिबन्द र परिस्थितिसँग हारेर जोगी भएको हुँ’ एउटा जोगीको उत्तर थियो। उसले अर्को जोगीलाई सोही प्रश्न सोध्यो। उत्तर आयोः

‘होइन बाबु, जीवन जगत् नाशवान् छ। बाबुआमा, सन्तान, छिमेकी, यो चराचर जगत् सबैका सबै मिथ्या हुन्। सम्पत्ति विषयबन्धन हो। यो नाम, थर, वतन सबै बन्धन हुन्। परमार्थ प्राप्त गर्ने एक मात्र बाटो सन्न्यास हो। भगवान्को भक्ति नै मुक्तिको आधार हो। नत्र मान्छे यो चराचर जगत्मा जन्मनु र मर्नुको पीडाबाट कहिल्यै मुक्त हुन सक्तैन’

उसले धेरै बुझेन। जति बुझ्यो उसलाई आनन्द लाग्यो। तत्क्षण नै उसलाई जोगी हुन मन लाग्यो। न हरहर न कचकच।

जोगीकै हारमा दुईजना जोगी भनाभन गरिरहेका थिए। चिम्टाले हान्न खोजिरहेका थिए। कोही जोगी छुट्याउँदै थिए। यी जोगी किन जुधिरहेका होलान् भन्ने उसलाई जिज्ञासा लाग्यो। कुरा के रहेछ भने एउटा दाताले ती दुइटै जोगीलाई १००० रूपियाँको एउटा नोट दिएको रहेछ।

जसको हातमा त्यो नोट पर्‍यो ऊ भन्दो रहेछ ‘मेरो हातमा परेको छ, तपाईँ ४०० लिनुहोस्, म ६०० लिन्छु’ यो दुई जोगीको बिचको झगडाको कारण रहेछ। उसलाई लाग्यो कि जोगी हुँदा पनि लोभ, क्रोध, लिप्सा जाँदो रहेन छ। उसले मनमनै भन्यो ‘यस्ता पाजी पनि जोगी अरे’

उसले पशुपतिबाट आर्यघाटमा हे¥यो। चिताहरु जलिरहेका थिए । मान्छे रोइरहेका थिए। लासबाट आएका धुवाँहरु मुस्लो परेर वनकालीतिर उडिरहेका थिए। उसले एकटकले ती लासलाई र त्यसबाट उठेको कुइरी मण्डल धुवाँलाई हे¥यो। माथिबाट एउटा सिक्का मन्दिरको गजुरका थाप्लामा फ्याल्यो। अडिएन।

उसले आफ्नो भाग्य सकिएको ठान्यो। लासबाट आइरहेको दुर्गन्ध उसको नाकमा ठोकियो। र उसले सोच्योः ‘खोइ यी मान्छेहरु के के न गर्छु भन्छन्। र अन्त्यमा लासको धुवाँमा परिणत हुन्छन्।

के रहेछ र यो मान्छेको चोला ? हिजोसम्म सुनै सुन लगाएर हिँड्ने त्यो पल्ला छेउको बलि रहेको लास मान्छेबाट उसले लगाएको कट्टु पनि झिकिएको देख्यो। उसलाई लाग्यो ‘ओ हो, यो संसार वास्तवमा मिथ्या रहेछ। यो रिस, राग, खान्दान, बाबुआमा, स्वास्नी, छोराछोरी, सम्पत्ति सबै नाशवान्, मिथ्या र भुलभलैया रहेछन्’

०००००००

त्यसै त्यसै ऊ पिङ्गला स्थानतर्फ लाग्यो। उसलाई भोक लागेको थियो। पिङ्गला स्थानको पेटीमा बसेर एउटी अधबैँसे महिला हरिया मकै पोलेर बेच्दै थिइन्। उनको पिठ्युँमा एउटा छोरी मजेत्रोले बाँधिएकी थिइन्। मकै पिल्सिँदै थिए। धुवाँ पुतपुताइ रहेको थियो। उनी कोइला थप्दै थिइन्। मकै पाक्दै थियो। मान्छे आउँथे। मकै किन्थे। खान्थे।

ऊ पेटीमा बसेर हेरिरहेको थियो। उसको पेटमा आन्द्राभुँडी झुत्ती खेल्दै थिए। मुसा कुदिरहेका थिए। मकै किन्न खोज्ने समूहका एकजनाले भन्योः ‘मान्छे पोलेको गोल हो यो’। उनीहरुले खाएनन्। ऊ निन्याउरो पाराले पोलिएका मकैलाई अघिदेखि हेर्दै थियो। एउटा सुकिलो समूह आयो। मकै किने। खाए।

त्यसमध्येको एकजनाले उसतिर फर्केर भन्योः ‘मकै खान्छौ भाइ?’ हतार हतार उसले मकैको घोगा थाप्यो। उनीहरुले सायद उसलाई माग्ने ठाने होलान्। त्यसै समूहको एकजनाले भन्योः ‘अबुझहरु भन्छन् यो मान्छे पोलेको गोल हो । आगो पनि बिटुलो हुन्छ र? वाइह्यातहरु’।

उसले मकै खायो। मान्छे पोलेकै भए पनि खायो। मगन्ते भएरै खायो। मकै पोल्ने महिलासँग पानी माग्यो र ग्यालिनबाटै घुट्क्यायो। त्यसपछि मात्र उसको श्वास आयो।

मकै पोल्ने महिलाकी छोरी पिठ्युँमै निदाएकी थिई। उसले सोध्योः ‘तपाईँका श्रीमान् छैनन्?’

‘छ नि मोरो, दिउँसै ठाडो घाँटी लाएर रल्लिरहेको होला नि कतै’

‘यी जोगी बाबा देखेर र सधैँ मान्छे पोलेको देखेर तपाईँलाई वैराग्य चल्दैन दिदी?’

दिदीले एकटकले उसलाई हेरिन् र भनिन्ः ‘जोगी हुने डरछेरूवा हुन्। अल्छी र फाल्तु मान्छे हुन्। काम गरि खान नसक्ने नामर्दले जोगी हुने हो। म त काम गर्छु। छोराछोरी छन् पाल्नु परेन? उनीहरुको भविष्यसँग खेलवाड गर्नुहुन्छ र? आमाबाबु भएको दायित्व के? रह्यो मृत्यु, त्यो चलिरहने प्रक्रिया हो। जन्म र मृत्यु आउँछन् जान्छन्। के जीवन र मृत्यु पनि मान्छेको वशमा छ र? मृत्युका बारेमा के को चिन्ता? मान्छे बनाउँदा भगवान्ले कर्म गर्नु भनेर पठाएका छन् र कर्म भनेको भगवान्ले लगाएको कर्तव्य निर्वाह गर्नु हो। लाछी मान्छेहरु बुझ न सुझ जोगी बन्छन्। अनर्गल आलाप गर्छन्। मान्छेले देलान् र खाउँला भनी बटुवालाई हेर्छन्। भगुवाहरु आत्महत्या गर्छन्’

‘तपाईँलाई दुःख छैन र दिदी?’

‘कस्तो भाइ रहेछ? दुःख कसलाई छैन? महलमा बस्नेलाई छैन?, सम्पत्तिले पुरिएकालाई छैन? जीवन त दुःखसुखको भण्डार हो। वास्तवमा दुःखसुख भनेको एउटा ‘फिलिङ’ हो। सुख माने सुख, दुःख माने दुःख। मैले आफ्नो कामलाई सुख मानेकी छु। किनकि मैले आफैँ गरेर खाएकी छु। कसैको अघि हात पसार्नु परेको छैन। यो लोग्ने भन्ने मुर्दारले अलिकति सघाए मात्र पनि अलि सजिलो हुन्थ्यो जस्तो त लाग्छ नि’

०००००००

ठूलो साँझ पनि टरिसकेको थियो। ऊ सूर्य विनायकमा ओर्लेर घरतर्फ लाग्यो। ओसारीमा उसका श्रीमती र छोराछोरीहरु आतङ्कित मुद्रामा उसलाई हेरिरहेका थिए। आश्चर्य पनि मान्दै थिए कि यो मान्छे यत्ति चाँडै कसरी घर आयो। उसले कसैलाई पनि गाली गरेन।

ओसारीमा असरल्ल छरिएका ऊनका डल्लाहरुलाई डोकोमा उठायो र भित्र लगेर थन्क्यायो। यसो गरिरहँदा उसले प्रेमले ती ऊनका डल्लाहरुलाई सुम्सुम्यायो। श्रीमतीले अचम्म मान्दै उसलाई हेरिन्। अनि बाहिरतिर हेरिन्। पूर्वतिरबाट शीतल प्रकाश दिँदै जुन उदाएको थियो। घरभरि शीतल शान्तिको प्रकाश छिरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *