केही उत्कृष्ठ आत्मवृत्तान्त र सुपाठ्य पुस्तकहरू
केही समय अघिदेखि म खासगरी प्रत्येक बिहान करिव आधा दर्जन आत्मवृत्तान्त, जीवनी तथा अन्य रोचक विषय सम्बन्धी पुस्तकहरूका केही पन्ना अध्ययन गरिरहेको छु र आफ्नो दैनिक डायरी पनि लेख्ने गरेको छु।
बिहान ४ बजे उठेर कालो चियोका चुस्की लिँदै शान्त वातावरणमा पुस्तक पढ्दा र लेखन कार्य गर्दाको आनन्द नै बेग्लै हुन्छ। त्यसमाथि आत्मवृत्तान्त, जीवनी, विकास, इतिहास, संस्कृति, वातावरण र यात्रा संस्मरण सम्बन्धी कृतिहरू मेरो प्रमुख रूचि भित्र पर्दछन्।
आत्मवृत्तान्तकै कुरा गर्दा अधिकांश लेखकले आफूलाई नै बढाई चढाई र राम्रो चित्रण गरेर लेख्ने गर्दछन्। तर पनि कैयन् इमान्दार लेखकले आफ्नो बारे उच्च कुरा लेखे पनि पुस्तकमा सत्य तथ्य कुरा नै बढी लेख्ने गर्दछन्।
यस्ता लेखकका पुस्तकहरू अध्ययन गर्दा भिन्दै प्रकारको आनन्द आउँछ। सत्य तथ्यमा आधारित कृति भने लामो समयसम्म लोकप्रिय भइ रहन्छन्।
हालै मैले अध्ययन गर्दै गरेका केही आत्मवृत्तान्त, जीवनी र अन्य कृतिहरू निकै स्तरीय र पठनीय रहेको भएर पाठकलाई पनि पढ्ने सुझाव दिन चाहन्छु।
हिजोआज ख्यातिप्राप्त चिकित्सकहरूले पनि आत्मवृत्तान्त लेख्न शुरु गरेका छन् र तिनका व्यस्त जीवनसँग सम्बन्धित तथ्यहरूले पाठकलाई निकै ज्ञान र मनोरञ्जन प्रदान गर्ने गरेका छन्।
डा. अवनिभूषण उपाध्याय, डा. ओममूर्ति अनिल, डा. भगवान कोइराला, डा. जगदीशलाल वैद्य, डा. भोला रिजाल, डा. मणिन्द्ररञ्जन बराल आदिका आत्मवृत्तान्त निकै रोचक तवरले लेखिएका छन् र हालै मात्र पुस्तक पढ्ने बानी बसालेका पाठकहरूको निम्ति पनि उपयुक्त पठन सामग्री हुन सक्दछन् त्यस्तै अलि ग्रिपरद्वारा लिखित डा. सन्दुक रुइतको आँखा उपचार बारेको भव्य यात्रा सम्बन्धी पुस्तक ‘द बेरफुट सर्जन’ निकै रोचक र पठनीय छ। यो पुस्तक नेपाली भाषामा पनि छापिएको छ।
महावीर पुनको ‘सम्झना, सपना र अविरल यात्रा’ नामक आत्मवृत्तान्त। राष्ट्रिय आविष्कार केन्द्र अन्तर्गतका गण्डकी प्रदेशका केही महत्वपूर्ण आयोजना र कृषि औजार कारखानालाई चलायमान तुल्याउने कार्यको निम्ति यो पुस्तकबाट प्राप्त रकम खर्चने हेतुले महावीर पुन आफैं पोखराका विभिन्न स्थानका सडकमा बसेर पुस्तक बिक्री गरिरहेका दृश्य नै पनि निकै आकर्षक थिए।
अलिक सनकी र खरो मिजासका देखिने महावीर पुनको यो पुस्तक पढ्दै गएपछि उनि माथिको श्रद्धामा अझै अभिवृद्धि हुँदै गएको छ।
मुलुकको एउटा अति विकट ठाउँमा एक विपन्न परिवारमा जन्मेका र हुर्केका उनले आफ्नो र आफ्ना पिताको प्रयासले गर्दा निकै संघर्ष र अथक परिश्रम र प्रयास गरेर आज यो स्तरमा पुग्न सफल भए पनि अझसम्म पनि उनी एक आम मानिस भएरै आफ्नै मुलुकमा बसेर रातौँ दिन मुलुक र जनताकै हितको निम्ति काम गरिरहेको देख्दा नेपालमा अझ पनि परिश्रमी र निष्कपट मानिसहरू रहेछन् भनेर खुशी लाग्दो रहेछ र तिनकै पथमा चल्ने उर्जा मिल्दो रहेछ।
सो पुस्तकमा उनले आफ्नो अत्यन्त कठीन वाल्यकाल, शिक्षाको निम्ति गरेका संघर्ष र मातृभूमिको निम्ति गरिरहेका कामहरूबारे निकै सरल र सत्यतामा टिकेर व्याख्या गरेका छन्।
आफूले व्यवहार र चलन नजान्दा भोगेका र गरेका बेवकुफीयुक्त कार्यहरू तथा पैसा नहुँदा भोकभोकै बसेका र सहपाठीहरूसँग उनिहरूले फ्याँक्न लागेका कपडा मागेर लगाउँदै अमेरिकाको अध्ययन पूरा गरेका किस्साहरू उनले निकै रोचक, सरल र खुलस्त रूपमा प्रस्तुत गरेका छन्। पढ्नै पर्ने पुस्तक।
‘राष्ट्र-परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म’ नामक प्रख्यात अर्थविद् तथा कुटनीतिज्ञ डा. भेषबहादुर थापाद्वारा लिखित उनको आत्मवृत्तान्त पनि निकै नै रोचक र पठनीय छ।
राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका शासनशैली, त्यसबेलाको सिंहदरवार र राजदरवार, नेपालको कुटनीति, चीन, भारत, अमेरिका र खाडी मुलुकहरूसँगको नेपालको सम्बन्ध, दरवार हत्याकाण्ड र दीपेन्द्र बारेका केही नयाँ कुरा, त्यतिबेलाका प्रधानमन्त्रीहरूसँगका सम्बन्ध, नेपालको विकासका विभिन्न चरणहरू, नेपालको शान्ति क्षेत्रको प्रस्ताव, सार्कको निष्कृयता, भूटानी शरणार्थी, सिक्किमको भारतमा विलय, नेपाल-भारत प्रबुद्ध समूह आदिबारे निकै रोचक तवरले सामग्रीहरू प्रस्तुत गरिएका छन्। स्पष्टवक्ता तथा विद्वान थापाको यो कृति निकै नै पठनीय र स्तरीय छ।
भूपेन्द्रमान यानी कवि भूपि शेरचनकी सुपुत्री कविता शेरचनद्वारा लिखित ‘भूपि : अ डटर्स मेम्वायर’ नामक उनको जीवनीमा आधारित अंग्रेजी पुस्तकमा भूपिको वाल्यकाल, कविता र साहित्य यात्रा, वैवाहिक जीवन, साथीभाइसँगको सम्बन्ध, उनमा भएको अति हाँस्यजनक गुण (ह्युमोर), वामपन्थबाट प्रभावित र त्यतिबेलाको काठमाडौं र अन्य स्थानहरू तथा जनजीवन बारे निकै रोचक ढंगले प्रस्तुत गरिएको छ।
सुशिक्षित कविताले एक अन्तर्राष्ट्रिय विकास बैंकमा लामो समय काम गरेकी भए तापनि आफ्ना पिता बारेको यो उत्कृष्ट पुस्तक लेखन र प्रकाशन गर्न भ्याइछन्। पठनीय पुस्तक।
गोविन्द गिरी प्रेरणाद्वारा लिखित ‘सुश्री पारिजात’ साहित्यकार विष्णुकुमारी वाइवा ‘पारिजात’ को बारेमा लेखिएको एक उत्कृष्ठ जीवनकथा हो। यो पुस्तकमा पारिजातको बाल्यकालदेखि पछिसम्मको जीवनचर्या, असफल प्रेम, उनीमाथि लागेका आरोप, दार्जिलिङ र काठमाडौंको बसाईँ, जीवन संघर्ष, राल्फा समूहसँगको आवद्धता र वामपन्थतिरको झुकाव, साहित्य र स्तम्भ लेखन आदि बारे निकै रोचक सामग्रीहरू सरल भाषामा प्रस्तुत गरिएको छ।
हाल अमेरिकाको भर्जिनियामा बसोबास गर्ने गोविन्द गिरी प्रेरणाले विभिन्न विषयका करिव २६ साहित्कि पुस्तक लेखिसकेका छन् भने पारिजातको यो जीवनी लेख्न उनले लामै अनुसन्धान गरेको भान हुन्छ । पठनीय पुस्तक।
गिरीश गिरीद्वारा लिखित संस्कृतिविद् सत्यमोहन जोशीको जीवनी ‘सत्यमोहन’ वास्तवमा उनको आत्मवृत्तान्त नै हो।
१०० वर्ष कटेका उनको बालापनदेखि महाभूकम्प, राष्ट्रिय तथ्यांक संकलन, न्युजिल्याण्डको भ्रमण, नेपालको पहिलो नक्शा तयारी, ३ पटकको मदन पुरस्कार, राष्ट्रिय कला संग्रहालयको स्थापना, पुरातत्व र संस्कृति बारेको लामो अध्ययन, नेपाली मुद्रा सम्बन्धी सल्लाहकारको भूमिका, चीनको बसाईँ, अरनिकोको खोजी, खस सभ्यताको खोज, नेपाली शब्दकोश, रंगगमञ्च र नाटक लेखन, शरीर दान आदि बारेको निकै रोचक पुस्तक। पठनीय छ।
अति सरल, वौद्धिक लेखन क्षमता भएका व्यक्तित्व तथा नेकपा एमालेका वरिष्ठ नेता केशवप्रसाद बडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन (नेपाल कम्युनिष्ट पार्टीको जन्मदेखि दशौं राष्ट्रिय महाधिवेशनसम्म) निकै रोचक र कम्युनिष्ट पार्टीको इतिहास बारेको राम्रो पुस्तक हो।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाकालमा विशेष योगदान गरेका धेरै मानिसहरू बारे यो पुस्तक मौन रहेको भएता पनि ज्यादै नै पठनीय छ। केशवप्रसाद बडालले यो भन्दा पहिले पनि करिव डेढ दर्जन उत्कृष्ट पुस्तकहरू लेखेर प्रकाशन गराइ सकेका छन्।
करिव एक वर्षअघि दिवंगत भएका नेपालका दोश्रो पुस्ताका प्रखर समाजवादी नेता प्रदीप गिरिको स्मृतिमा लेखिएको ग्रन्थ ‘मैले चिने-जाने-बुझेका प्रदीप गिरि’ पनि बजारमा आइसकेको छ। यो स्मृतिग्रन्थको सम्पादन भारती सिलवाल गिरि, कपिल लोहनी र बिमल भौकाजीले गरेका हुन्।
यो ग्रन्थमा प्रदिप गिरिको जीवनीका साथै उनीसँग परिचित र सँगै काम गरेका करिव १२५ जना स्वदेशी तथा विदेशी व्यक्तित्वहरूको स्मरण लेखहरू तथा रोचक तस्विरहरू पनि सामेल गरिएका छन्। पठनीय छ।
कुटनीति कै कुरा गर्दा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी र सो भन्दा पनि उच्च अध्ययन गरेका र निकै लामो समयसम्म परराष्ट्र सेवामा समर्पित तथा परराष्ट्र सचिव र जापान तथा जर्मनीका राजदूतसमेत भएर सफलतापूर्वक कार्यकाल पुरा गरेका डा. मदनकुमार भट्टराईद्वारा लिखित ‘परराष्ट्रका पात्र’, ‘परराष्ट्रका प्रशासक’ र ‘चार कूटनीतिज्ञ’ शिर्षक रोचक पुस्तकहरू पढेपछि ती पात्र, प्रशासक र कूटनीतिज्ञ बारे मात्र नभइ पृथ्वीनारायण शाहको पालादेखि कै परराष्ट्र मामिला हेर्ने निकाय तथा नीतिहरू बारे पनि छर्लङ्ग हुन जान्छ।
अर्का परराष्ट्र मामिला सम्बन्धी विद्वान डा. शम्भूराम सिंखडाद्वारा हालैका वर्षमा लिखित अङ्ग्रेजी पुस्तक ‘नेपाल, इन्डिया, चाइना : रिलेशन्स इन द ट्वेन्टी फस्र्ट सेन्चुरी’ निकै गहन छ।
नेपालको परराष्ट्र नीति र भूराजनीतिक स्थिति बारे विभिन्न कोणबाट विश्लेषण गरेर समय समयमा उनले लेखेका लेखहरूको संग्रह यो पुस्तकबाट अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थीले मात्र नभइ परराष्ट्र मामिलासँग सम्बद्ध र सोबारे रूचि राख्ने सबै पाठकले ठूलो लाभ लिन सक्दछन्।
उनको अर्को अति महत्वपुर्ण पुस्तक ‘ट्राइअम्फ एण्ड ट्रमा अफ ट्रान्जिशन’ एक प्रकारले उनको आत्मवृत्तान्त जस्तै भएपनि यस पुस्तकमा उनले आफ्नो जीवनका विभिन्न चरणमा आएका सफलता र सद्मादेखि खासगरी नेपालमा भएको दोश्रो जनआन्दोलनको सफलता पश्चातको प्रजातन्त्रको पुनर्वहाली, माओवादी जनयुद्धको समापन, सम्बिधान सभाको निर्वाचन, गणतन्त्र, संघीयता र यो विशाल परिवर्तनको बेलाको नेपालको खतरनाक दुर्घटनामा पर्न सक्ने राजनैतिक अवस्था र परिवर्तन तथा सो समयावधिमा लेखकले आफ्नो तर्फबाट खेल्न सकेको भूमिका बारे निकै अध्ययनका साथ उल्लेख गरेका छन्।
यो पुस्तक एक ऐतिहासिक दस्तावेजको रूपमा नै लामो समयसम्म सन्दर्भ सामग्री बनेर रहने पक्का छ। निकै पठनीय छ।
राणा शासनको शुरुवात र पतन बारे राणा परिवारकै सदस्य सागर शमशेर जबराद्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘सिंहदरवार : राइज एण्ड फल अफ द राणा रेजिम अफ नेपाल’ निकै रोचक प्रकृतिको छ।
नेपालको एकीकरण र राजा पृथ्वीनारायण शाहको समयदेखि राणा शासनको शुरुवात र त्यसपछि जंग परिवारको अवसान र समशेर परिवारको उदय, राणा प्रधानमन्त्रीहरू तथा राणाकालमा राजनैतिक तथा अन्य कारणले मुलुकभित्र र बाहिर भएका बसाईँ सराइ, राणाकालीन समाज सुधारका केही कदम, शिक्षामा संकिर्णता, विश्वयुद्ध ताकाको नेपाल-बेलायत सम्बन्ध, राणाकालीन पजनी, प्रजातन्त्र प्राप्तिका आन्दोलन तथा २००७ सालको क्रान्ति, राणा शासनको अन्त्य आदि बारेको रोचक प्रस्तुति। पठनीय छ।
वतावरण संरक्षणको कुरा गर्दा डा. तीर्थबहादुर श्रेष्ठले विभिन्न समयमा लेखेका वन, वातावरण, पशु-पंक्षी, बोट-बिरुवा, डाँडा-काँडा र संरक्षण बारेका लेखहरूको सँगालो पुस्तक ‘नेपाल : नखुलेका पाटाहरू’ अति नै ज्ञानवद्र्धक र रोचक छ। पठनीय छ।
पद्मसुन्दर जोशीबाट लिखित ‘हिति प्रणाली : इतिहास, वर्तमान, भविश्य’ नामक पुस्तकमा खासगरी काठ्माडौं उपत्यकाको प्राचीन सभ्यतादेखि नै निर्माण भएका ढुंगेधारा, पोखरी, राजकुलो, इनार, भूमिगत जलभण्डार, परम्परागत पोखरी र हिति निर्माण प्रविधि र आधुनिकतासँगै यिनको विनाश हुँदै गएको तथा हाल भएका संरक्षण प्रयास, मुहानहरूको खोजी, पानीको पुनर्भरण आदि बारेको विस्तृत पुस्तक। पठनीय तथा संग्रहणीय।
प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीद्वारा लिखित पुस्तक ‘नेपाली संगीत दरवार : आदिकालदेखि आधुनिककालसम्म’ लाई संगीत सम्बन्धी एक उत्कृष्ट ग्रन्थ नै मान्न सकिन्छ। नेपाली संगीत र यसमा पूर्वीय संगीतको प्रभाव, वाद्यवादनका साधनहरू, लिच्छवी कालदेखि आजसम्मको संगीतको विकास, संगीतको विकास र संरक्षणमा लिच्छवी, मल्ल र शाह वंशीय राजाहरू र राणा शासकहरूको योगदान, धार्मिक तथा सांस्कृतिक अवसरमा संगीतको महत्व आदि बारेको अति महत्वपूर्ण पुस्तक। पठनीय तथा संग्रहणीय।
सुवर्ण हुमागाईँद्वारा लिखित पुस्तक ‘जीव, ईश्वर र मानिस’ सनातन वैदिक संस्कृतिमा आधारित भएर ईश्वरलाई केन्द्रमा राखेर लेखिएको आध्यात्मिक पुस्तक हो। मानव जीवनका विभिन्न चरण बारेका आध्यात्मिक पाटाहरूलाई सरल भाषामा प्रस्तुत गरिएको यस पुस्तकबाट अध्यात्ममा विश्वास गर्ने पाठकहरूले जीवनको आध्यात्मिक दर्शन बारे राम्रो ज्ञान हासिल गर्न सक्दछन्।
पुस्तक मानवजातीको एउटा यस्तो साथी हो कि, मानिस जति नै एक्लो भए पनि यदी उसले पुस्तक पढेर आनन्द लिने आदत बसाउन सकेको छ भने उसलाई पुस्तकले कहिल्यै पनि एक्लो हुन दिँदैन। म आफैं नै यसको उदाहरण छु।
केही वर्षदेखि जागिरबाट अवकास, बढ्दो उमेर र अन्य कारणले गर्दा म पनि एक्लो हुँदै गएको छु। छोराछोरीहरूसँग नै बसे पनि उनिहरूको आफ्नो व्यवसाय हुन्छ, आफ्नो खालको विचारधारा हुन्छ, पुस्तैनी फासला (जेनेरेशन ग्याप) हुन्छ, जसमा म दखल दिन चाहन्न।
रातिको खाना खाने बेलामा भने एकाध घण्टा हामी एक ठाउँमा भेला हुन्छौं, दुखसुखका कुरा गर्छौं, हँस्सी-ठट्टा गछौं र सँगै बसेर खानाको आनन्द लिन्छौं। उमेर ढल्किँदै गएपछि पहिले जस्तो साथीहरूसँगको बाक्लो भेटघाट पनि बिस्तारै पातलिँदै जाँदो रहेछ। अनि एक्लो हुँदै गइने रहेछ।
तर पनि म भने एक्लो छैन। मैले पढ्ने प्रत्येक पुस्तकका लेखक, पात्र र परिस्थितिसँग मैले मितेरी लगाएको हुन्छु। मैले लेख्ने प्रत्येक शव्दसँग म कुरा गरिरहेको हुन्छु।
हार्मोनियम, गिटार र मेरो आफ्नै स्वर तथा विभिन्न प्रकारका गायकका गायकीसँग मनमनै कुरा गरिरहन्छु। कहिले काहीँ अति नै पट्यार लाग्दा म पनि कफी पिउन कुदी हाल्छु र फर्कँदा पुस्तक पसलमा पनि पस्छु र खल्ती खाली पारेर गरुङ्गो झोला बोकेर घर फर्कन्छु।
ग्रेगोरियन क्यालेण्डरमा आधारित तथा विश्वमा सबैभन्दा बढी प्रचलित इश्वी सम्वत्को नयाँ वर्ष यानी २०२४ अब केही दिनपछि शुरु हुँदैछ र यसको ३ महिना पछि हाम्रो विक्रम सम्वतको नयाँ वर्ष २०८१ पनि शुरु हुनेछ।
प्रत्येक नयाँ वर्षमा झैं यसपाली पनि धेरैले नयाँ वर्षको शुरुवातसँगै गर्ने राम्रो कुराको प्रण (न्यु यर रिजोल्युशन)को रूपमा विभिन्न कुराहरू समावेश गर्छन् तर केही दिनमा नै ती सब कुराहरू बिर्सँदै जान्छन्।
तर हामी पुस्तक प्रेमीलाई सबैले प्रत्येक महिनामा आफ्नो आयबाट केही प्रतिशत बचाएर राम्रा तथा रोचक पुस्तकहरू खरिद गरुन् तथा पुस्तकलाई नै सबैभन्दा भरपर्दो साथि बनाउने प्रण गरुन् जस्तो लाग्दछ।
पुस्तक पढ्ने आदत बसाउन आफ्नो रूची मुताविकका सरल पुस्तकबाट पढ्न शुरूवात गर्नु उत्तम हुन्छ। हिजोआज नेपालमा नै विभिन्न विषयका निकै उत्कृष्ट पुस्तकहरू प्रकाशन हुन थालेका छन्।
त्यस्ता पुस्तकहरू खरिद गरेर सबैले यो नयाँ वर्षदेखि नै पुस्तक पढ्ने बानी बसाउन सके निकै राम्रो हुने थियो। शुरुवातको निम्ति एक अति उत्तम र रोचक पुस्तकको बारेमा यहाँ उल्लेख गर्न चाहन्छु। साहित्यकार तुलसी दिवसद्वारा मुलुकभरबाट संकलन गरिएका १२२ वटा लोककथाहरूको संगालो ‘नेपाली लोककथा’ पुस्तकमा सांस्कृतिक-ऐतिहासिक लोककथाहरू, अर्ती-उपदेशका कथाहरू, ठगी, मुख्र्याईँ, पशु-पंक्षी, भूतप्रेत, बहादुरी, दैवी आदि विभिन्न विषयका छोटा-लामा लोककथाहरू सामेल छन्।
एक पटकमा एउटा लोककथा पढ्दा पट्यार पनि नलाग्ने र पुस्तक पढ्ने आदत पनि बस्दै जाने भएकोले यस्ता पुस्तकबाट नै अध्ययन कार्यको थालनी गर्दा राम्रो हुन्छ। यस्तै सरल प्रकारका अङ्ग्रेजी भाषाका पुस्तकहरू पनि बजारमा पाइन्छन्।
लेखक विकास अर्थशास्त्री तथा एकल व्यक्तित्व समाज नेपालका अध्यक्ष हुन्।
Facebook Comment