कविता : सन्त नेता किशुनजी

शंकरप्रसाद रिजाल
८ पुष २०८० १३:२८

जन्मिए एक बालक, गोर्खाको मूल पानीमा
हुर्किए काख आमाको, पिताको मोहमा पनि
शिक्षा दिक्षा लिए उनले, निष्ठावान बनिकन
अंग्रेजी बोल्न जान्नु भयो, संस्कृत भाष्यमा पनि

आफ्नो पढाइको काल, बित्यो सम्पूर्ण भारतमा
बनारसै थियो ठाउँ, शिक्षा दिक्षा लिने दिने
कृष्ण भन्ने थियो नाम, किशुनजी पनि भन्दथे
सन्त नेता पनि भन्थे, सन्त जस्ता पनि थिए

प्रसाद “कृष्ण”को भेटी, सारा लोक हसाउने
उनको बोलीमा हेर, आफूखुसी रमाउने
राजाको नीतिमा उनको, राजनीति रह्यो सधैं
प्रजातन्त्रको फुट्यो बोली, उनमा यो सधैं सधैं

सन्त नेता बनी हिँड्ने, तालु सेतो कपालको
पानको प्यासी थिए भन्थे, मुख रातो सधैं सधैं
सुरा सुन्दरीको गोली प्याच्च बोली चपाउने
सबैका हृदयमा बास, सधैं रम्ने रमाउने

हिंसा हत्त्या बिना उनले, अहिंसा गान्धीको पढे
निष्ठावान बनी पहिले, अहिंसा पथ नै लिए
राणा शासन पल्टाए, प्रजातन्त्र भजी भजी
प्रजातन्त्रको नामैमा, प्रधानमन्त्री पनि भए

नेपालीले गरे फुर्ती, किशुनजीको प्रवेशमा
प्रधानमन्त्री बने फेरि, आफ्नै निष्ठा र उत्सर्गमा
हाँके राष्ट्रको गाडी, सन्त नेता बनिकन
लिए छाता तथा ट्यांका, सुराही दुई हातमा

फुके बिकुल पानीको, सारा देश पखाल्ने
सुराही हातमा राखी, तीर्खामात्र जगाउने
ठट्यौला नारीका निम्ति, सधैं ठट्टागरी हिँडे
ठट्टा बानी थ्यो उनको, सबैजना रमाउने

ठट्यौलो जीवनै उनको, सारा देश हसाउने
ठट्टा राजनीति नै उनको, कसैमाथि नझुक्ने
आफ्नै सिद्धान्तमा अड्दै, सारा जीवन रमाउने
ठट्टा भाषणमा उनको, स्वर्ग टिपी लेराउने

मसाल रापको ताप, बोकी मुक्ति जगाउने
उही व्यक्तिको छिन्न भयो देह, बत्ति दियो नदेखिने
राजनीतिको पेचिलो किला, ठोकियो चित्त दुख्ने
घातमा नफसी बेग्लै, बसे निस्फिक्री होसमा

उठाएनन् कहिले उनले, हात त्यो जोशमा
बेलैमा राजनीतिको सन्यास लिइकन
पढे भागवत गीता, सारा जीवन बिर्सिन
बुढो शरीर गल्दै गयो, यस्तै जीवन शैलीमा

अधुरा आफ्ना इच्छा, उही जीवन थैलीमा
यस्तो देह सुकेरै गयो, अब केही नचाहिने
बेलाको बोली रे भन्थे, टिप्न केही नपाउने
टिप्छु भन्दै अघिसर्दा, शब्द केही नबुझ्न
ज्यूउँदो हो या मुर्दा, केही चाल नपाउन

सतासी बर्षमा उनको, देह शरीर भो बुढो
दियो झैं झ्याप्प निभ्नु भो, हरे शिव, हरे शिव
यस्तैमा जीबनै बित्यो, त्यो कसले अब देख्न
सारा जीवन बिती गयो, झ्वाट्ट देख्दा डराउने

हाँस्ने हसाउँने मुख त्यो आज, कहाँ गयो कहाँ
त्यही शरीर ढल्दामा, अब थाम्ने कहाँ र को
निन्द्राले मस्त भो हेर, मानौ चोला फेरेसरी
बुढो लाशले गर्दा, बुइ मागे हरि हरि

आखिर पर्दा खसी छोड्यो, मृत्युको शंख घण्टले
झुक्छ कि कालको बोली, उनको अमृत कण्ठले
आत्माले छोडी गो देह, स्वर्ग नर्क नदेखिने
जिउँदो हो या मुर्दा, भिन्न केही नदेखिने

चल्यो लाशको जन्ती, मलामी जति सन्तको
घाटमा जीवको देह, जल्यो सुस्तरी मन्दका
यस्तै रहेछ संसार, ठुला साना सबै सम
सबैले सोच्नु यस्तै, सारा चिज सम सम

जीवनमा लानु नै केछ, फर्की केही नदेखिने
छैन है छैन केही छैन, नखोजीकन भेटिने




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *