घरबाट बेपत्ता प्रहरी जवानलाई ७ वर्षपछि आफ्नै आमाले भीख मागिरहेको अवस्थामा भेटिन्
काठमाडौं । पाकिस्तानको रावलपिण्डीबाट एउटा दुखद घटना बाहिर आएको छ । मानसिक रूपमा अपाङ्गता भएका प्रहरी मुस्तकीम खालिद २०१६ देखि बेपत्ता थिए तर मंगलबार उनलाई आफ्नी आमाले भिख माग्दै गरेको अवस्थामा भेटेकी छिन् ।
पाकिस्तानी समाचार वेबसाइट द डनका अनुसार मुस्तकीम खालिदलाई उनकी आमा शाहीन अख्तरले रावलपिंडीको ताहली मोहरी चोकमा भीख मागिरहेको देख्दा चिनिन्।
खोजीपछि स्थानीय प्रहरीले तीन महिलासहित भिखारी गिरोहका चार सदस्यलाई पक्राउ गरेको रिपोर्टले जनाएको छ । उनीहरूका सहयोगीहरुको खोजी गर्न प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
मुस्तकीम खालिदकी आमाका अनुसार खालिदलाई भिखारीहरूको गिरोहले यातना दिएको र इन्जेक्सन दिएको पाइएको छ । खालिद मानसिक समस्याबाट पीडित छन्। सन् २०१६ मा उनलाई टाइफाइड भयो र त्यसपछि उनी घरबाट बेपत्ता भए ।
मुस्तकीम खालिदकी आमा शाहिन अख्तरले पनि स्थानीय सिभिल लाइन्स प्रहरीमा हराएको उजुरी दिएकी थिइन् । खालिद मानसिक रोगी रहेको र डिप्रेसनका कारण घरबाट बेपत्ता हुने गरेको बताइएको छ । तर गाउँलेहरूले उनलाई बारम्बार घर फर्काइदिए। तर २०१६ मा घरबाट बेपत्ता भएपछि उनी फर्किएनन् ।
आमा र छोराको पुनर्मिलन तब भयो जब शाहीन अख्तरले आफ्नो छोरालाई ताहली मोहरी चोकमा गिरोहसँग भिख मागिरहेको देखिन् । यो गिरोहमा तीन महिला र दुई पुरुष थिए। मुस्तकीमको मानसिक कमजोरीको फाइदा उठाउँदै मुस्तकीमलाई भीख माग्न बाध्य पारिएको मुस्तकीमकी आमाले बताइन् ।
रिपोर्टका अनुसार छोरालाई चिनेपछि शाहीनले उनलाई अँगालो हालिन् तर गिरोहका अन्य भिखारीहरूले उनलाई कुटपिट र गाली गर्न थाले । शाहीनले दर्ता गरेको एफआईआरमा गिरोहले मुस्तकीमलाई अपहरण गरी भीख माग्न बाध्य पारेको उल्लेख छ ।
स्थानीय प्रहरी प्रवक्ताका अनुसार गिरोहका नेता वाहिदलाई अन्य तीन महिलासहित पक्राउ गरिएको छ । यसैबीच अन्य अपराधीहरुको खोजी भइरहेको छ ।
Facebook Comment