१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १४ सुन केजी सुन ल्याउने घले समूहले हालसम्म १३८ केजी सुन भित्र्याएको अनुसन्धान समितिले निष्कर्ष निकालेको छ ।
विमानस्थलका भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा गठित छानबिन समितिले एउटै घले समूहले १३८ किलो सुन ल्याएको निष्कर्ष आज पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।
‘मीनबहादुर घले, चन्द्रबहादुर घले र कृष्णकुमार श्रेष्ठले १३८ केजी सुन ल्याएर विमानस्थलमा सेटिङ मिलाएर बाहिर ल्याउने गरेको’ समितिको प्रतिवेदनमा जनाइएको छ।
गत मंसिर २१ गते राति फ्लाई दुबईको विमान हुँदै आएका चन्द्रबहादुर घले १४ किलो सुनसहित पक्राउ परेका थिए । घले पक्राउ पछि भन्सार प्रमुख पौडेलको संयोजकत्वमा ६ सदस्यीय अनुसन्धान समिति गठन गरिएको थियो।
समितिले आइतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेलाई प्रतिवेदन बुझाएको छ।
Facebook Comment