आफ्ना १३ सैनिक मारिएपछि इजरायलले भन्यो, ‘लामो र कठिन सैन्य अभियान जारी रहनेछ’
काठमाडौं । इजरायलको सेनाले गाजामा आफ्नो सैन्य अभियान जारी राख्ने जनाएको छ । इजरायली सेनाले यो अपरेशन कठिन र लामो हुने पनि स्वीकार गरेको छ ।
इजरायली सेनाका प्रवक्ताले भनेअनुसार सप्ताहन्तमा इजरायली सेनाले उत्तरी गाजा र दक्षिणी गाजामा आफ्नो सैन्य कारबाही विस्तार गरेको छ।
यसैबीच अमेरिकाले राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरेको र नागरिकको सुरक्षामा जोड दिएको बताएको छ ।
योसँगै इजरायली प्रधानमन्त्रीले इजरायलले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म यो युद्ध जारी रहने बताएका छन् ।
राष्ट्रपति बाइडेनले पत्रकारहरुलाई भनेअनुसार उनले इजरायली प्रधानमन्त्रीलाई युद्धविरामको लागि सोधेका छैनन्।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म २० हजारभन्दा बढी मानिस मारिएका छन् भने ५३ हजारभन्दा बढी घाइते भएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
इजरायलले शुक्रबारदेखि लडाइँमा आफ्ना १३ सैनिकको मृत्यु भएको र सैन्य कारबाहीमा मारिएका सैनिकको सङ्ख्या १५४ पुगेको जनाएको छ ।
इजरायलले हमासलाई निर्मूल पार्न सुरु गरिएको सैन्य कारबाहीका क्रममा हालसम्म ७०० हमास चरमपन्थी पक्राउ परेको दाबी गरेको छ ।
हमासले अक्टोबर ७ मा इजरायलमा हमला गरेको थियो जसमा १२०० इजरायली मारिएका थिए। हमासले पनि २४० जनालाई बन्धक बनाएको थियो । त्यसको भोलिपल्टदेखि इजरायलले हमासविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो।
इजरायली सेनाले उत्तरी गाजामा लगभग पूर्ण नियन्त्रण रहेको र दक्षिणी गाजामा आफ्नो कारवाहीलाई थप विस्तार गरिरहेको बताएको छ ।
Facebook Comment