जम्मू कश्मीरमा सेनाको सोधपुछको क्रममा तीन जनाको मृत्यु भएपछि हत्याको मुद्दा दर्ता
काठमाडौं । शुक्रबार सेनाले सोधपुछका लागि बोलाइएका आठमध्ये तीन जना मृत फेला परेपछि जम्मू-कश्मीर प्रहरीले आइतबार अज्ञात व्यक्तिहरू विरुद्ध हत्याको मुद्दा दर्ता गरेको छ।
यी तीन जनाको शव शनिबार भेटिएको थियो र उनीहरुको शरीरमा चोटका निशानहरू थिए। तर सामाजिक सञ्जालमा २९ सेकेण्डको भिडियो भाइरल भएपछि मामिला चर्कियो । त्यसपछि उक्त क्षेत्रमा तनाव बढेको थियो ।
मृत भेटिएका तीन जनामा ४८ वर्षीय सफिर अहमद, सोही गाउँमा बस्ने उनका दुई नातेदार २८ वर्षीय मोहम्मद शौकत र २५ वर्षीय शबिर अहमद रहेका छन् ।
भाइरल भिडियोमा केही व्यक्तिले तीनजनालाई निर्वस्त्र पारेर खुर्सानीको धुलो छर्किरहेका छन् । उनीहरु सबै सेनाका जवान भएको र यो भिडियो आर्मी क्याम्पमा खिचिएको दाबी गरिएको छ ।
अङ्ग्रेजी दैनिक द हिन्दूका अनुसार भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३०२ अन्तर्गत पुन्छको सुरानकोट पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको छ।
जम्मु कश्मीर सरकारले पुन्छमा मारिएका यी तीन जनाको परिवारलाई क्षतिपूर्ति र जागिर दिने घोषणा गरेको छ। गम्भीर घाइते पाँच जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरु सबै गुजर–बकरवाल जनजाति समुदायका हुन् ।
यसअघि २१ डिसेम्बरमा पुन्च-राजौरीमा सेनाको लश्करमा हमला भएको थियो। उक्त आक्रमणमा चार सैनिकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।
त्यसपछि सुरक्षाकर्मीले आठ जनालाई नियन्त्रणमा लिएको थियो । आक्रमणमा संलग्न चरमपन्थीहरुको अहिलेसम्म पहिचान हुन सकेको छैन र पक्राउ परेका छैनन् ।
Facebook Comment