युद्धका कारण येशुको जन्मस्थल बेथलेहेममा मनाइएन क्रिसमस, इन्क्युबेटरमा देखिए ‘येशू’
काठमाडौं । प्यालेस्टिनी कलाकार राना बिशाराले क्रिसमसको पूर्वसन्ध्यामा गाजा युद्ध पीडितहरूलाई समर्थन देखाउन अनौठो कदम चालेका छन्। उनले बेथलेहेमको चर्च अफ नेटिभिटीको अगाडि इन्क्यूबेटर भित्र क्याक्टस काँडाहरूले घेरिएको येशूको मूर्ति देखाए, जसले ख्रीष्टलाई नवजात शिशुको रूपमा चित्रण गरेको थियो। बिशाराले म्यान्जर स्क्वायरमा आफ्नो प्रतीकात्मक कलाकृति प्रदर्शन गरेका थिए ।
बिशाराले इजरायलले गाजामा बमबारी जारी राखेसम्म प्यालेस्टिनीहरूले क्रिसमस नमनाउने बताए । गाजा वरपरका क्षेत्रहरूमा क्रिसमस यस वर्ष युद्धको छायामा परेको थियो। इजरायलले अक्टोबर ७ मा हमासको आक्रमण पछि दक्षिणी गाजामा डिसेम्बर २४ मा आफ्नो सबैभन्दा ठूलो प्रतिक्रियात्मक आक्रमण सुरु गर्यो। अल शिफा अस्पताल खाली गरिसकेपछि बाँकी रहेका पाँच जना डाक्टर र केही नर्सहरूको साथमा छोडिएका गाजावासीहरूको सम्मानमा आफूले यो कलाकृति सिर्जना गरेको बिशाराले बताए।
स्वास्थ्य मन्त्रालयले त्यसपछि अल शिफामा बिजुली र औषधिको अभावमा आठ नवजात शिशुको मृत्यु भएको बताएको थियो। पोप फ्रान्सिसले पनि शोक सन्देशको साथ क्रिसमस मनाउन सुरु गरेका छन्। पोपले येशू जन्मेको भूमिमा येशूको शान्तिको सन्देशलाई ‘युद्धको बेकार तर्क’ले दबाइँदै आएको बताए । ८७ वर्षीय पोपले क्रिसमसको वास्तविक सन्देश शान्ति र प्रेम भएको बताए ।
बेथलेहेम वेस्ट बैंकमा अवस्थित एउटा सानो सहर हो। ईसाईहरू येशू ख्रीष्ट यहाँ २ हजार भन्दा बढी वर्ष पहिले जन्मिएको विश्वास गर्छन् । गाजा युद्ध पीडितहरूसँग ऐक्यबद्धतामा बेथलेहेमले आफ्नो वार्षिक क्रिसमस उत्सवहरू रद्द गर्यो जसले सामान्यतया संसारभरका हजारौं पर्यटकहरूलाई आकर्षित गर्दछन् ।
बेथलेहेमको सहरको केन्द्रमा यस वर्ष विशाल क्रिसमस ट्री वा मार्चिङ ब्यान्ड देखाइएको छैन। ‘गाजामा युद्धविरामको लागि बेथलेहेमको घण्टी बजिरहेको छ’ भन्ने ब्यानरसहित उक्त स्थानमा ठूलो प्यालेस्टिनी झण्डा फहराइएको थियो।
Facebook Comment