भारतले आतंकवादी र वान्टेड घोषित गरेका हाफिज सईदको पार्टीले पाकिस्तानमा चुनाव लड्ने
काठमाडौं । भारतले मुम्बईमा भएको २६/११ आतंकवादी हमलाको ‘मास्टरमाइन्ड’ भनेर आरोप लगाउँदै आएका हाफिज सइदको राजनीतिक संगठनले पाकिस्तानमा हुने आम चुनावमा लड्ने निर्णय गरेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार हाफिज सईदले पाकिस्तान मर्काजी मुस्लिम लीग अर्थात पीएमएल नामको संगठन बनाएका छन् । यस पार्टीको चुनाव चिन्ह कुर्सी हो ।
अधिकांश प्रदेश र क्षेत्रीय सिटमा उम्मेदवारी दिने पार्टीले जनाएको छ ।
हाफिज सईद प्रतिबन्धित संगठन जमात-उद-दावालाई आर्थिक सहयोग गर्ने मुद्दामा दोषी ठहरिएपछि २०१९ देखि जेलमा छन्।
पीएमएलका अध्यक्ष खालिद मसुद सिन्धुले भने, “हामी भ्रष्टाचारको लागि होइन, जनताको सेवा गर्न र पाकिस्तानलाई इस्लामिक कल्याणकारी राज्य बनाउन सत्तामा आउन चाहन्छौं।”
पीटीआईका अनुसार मसूद सिन्धुले हाफिज सईदसँग पार्टीको कुनै सम्बन्ध भएको कुरा अस्वीकार गरेका छन्।
मसूद एनए १३० लाहोरबाट उम्मेदवार हुन् । यस सिटबाट पूर्व प्रधानमन्त्री नवाज सरिफ पनि चुनावी मैदानमा छन् । हाफिज सईदका छोरा तलहा सईद लाहोरको एनए १२७ सिटबाट चुनाव लडिरहेका छन् ।
सन् २०१८ मा, मिल्ली मुस्लिम लिग अर्थात् एमएमएल जमात-उद-दावाको राजनीतिक अनुहार थियो।
त्यतिबेला यो पार्टीले अधिकांश सिटमा उम्मेदवार खडा गरेको थियो तर यो पार्टीले एउटा सिट पनि पाउन सकेन ।
अहिले एमएमएलमाथि प्रतिबन्ध छ । यही कारणले २०२४ को निर्वाचनका लागि पीएमएल गठन भएको हो ।
Facebook Comment