२७६ यात्रुसहित फ्रान्समा ४ दिन रोकिएको विमान अन्ततः मुम्बई पुग्यो
काठमाडौं । मानव तस्करीको आशंकामा फ्रान्समा चार दिन रोकिएको २७६ यात्रु बोकेको चार्टर विमान मंगलबार मुम्बई विमानस्थलमा अवतरण गरेको छ । उक्त विमानमा अधिकांश भारतीय थिए ।
चार्टर्ड एयरबस ए३४० युएइबाट निकारागुआ उडिरहेको थियो । जब विमान इन्धन भर्ने क्रममा रोकियो, मानव तस्करीको आशंका बढ्यो। त्यसपछि दुबईबाट ३०३ यात्रु बोकेको चार्टर उडान बिहीबार पेरिसबाट १३० किलोमिटर पूर्वमा रहेको भेत्री विमानस्थलमा रोकिएको थियो ।
पेरिसका अभियोजकहरूले विमानमा रहेका केही यात्रुहरू “मानव तस्करीको सिकार” हुनसक्छन् भनी अधिकारीहरूले अज्ञात सूचना पाएपछि उडान ग्राउन्ड गरिएको बताएका छन्।
विमानमा सवार दुई नाबालिगसहित २५ जनाले फ्रान्समा शरण लिन इच्छा व्यक्त गरे र फ्रान्समै बसे। थप अनुसन्धानका लागि फ्रान्समा दुई संदिग्ध तस्करलाई पनि पक्राउ गरिएको छ ।
लेजेन्ड एयरलाइन्सको उडान स्थानीय समय अनुसार मंगलबार बिहान मुम्बईमा अवतरण भएको छ।
विमानमा सवार अधिकांश भारतीय नागरिक युएईमा कार्यरत थिए । यात्रुमध्ये एक तिहाइ गुजरातका रहेको बताइएको छ ।
उडानलाई निकारागुआको सट्टा मुम्बई किन डाइभर्ट गरियो भन्ने खुल्न सकेको छैन ।
अनलाइन उडान ट्र्याकर फ्लाइटराडरका अनुसार, लेजेन्ड एयरलाइन्स चारवटा विमान भएको रोमानियाली चार्टर एयरलाइन्स हो।
Facebook Comment