नेपाल एकीकरण र पुनर्जीवन
पृथ्वीनारायण शाहलाई हामी नेपाली श्रद्धाले राष्ट्रनिर्माता भन्दछौं। किनभने उनले नेपाल एकीकरण गरेर विशाल नेपाल राष्ट्रको जग बसाले।
जुनबेला पृथ्वीनारायण शाह गोरखा राज्यको सिंहासनमा राजभएका थिए, त्यसबेला गोरखा पश्चिम गोरखासहित २४वटा चौबिसे भनिने राज्यहरु र अर्को २२ वटा बाइसे भनिने राज्यहरु थिए। अर्थात् बाइसे र चौबिसे गरेर ४६वटा राज्यहरु थिए।
यता गोरखादेखि पूर्व मकवानपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, चौदण्डी र विजयपुर नामका ६ राज्यहरु थिए। यी ६ वटा र गोरखासमेत गरेर ७ वटा राज्यहरुलाई गाभेर पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको बलियो जग बसाएकोले उनलाई राष्ट्रनिर्माताको पदले सम्मानित गरेको हो।
पृथ्वीनारायणले गोरखा राज्यको सिमाना बढाउँदै लैजादा कुनै राज्यको नाम पनि नेपाल राज्य थिएन। उनको एकीकरण अभियानमा गाभिएका माथि उल्लेखित राज्यको नाम नेपाल थिएन। यक्षमल्लको पालामा उपत्यकाका तीन राज्यसहितको विशाल क्षेत्रलाई नेपाल मण्डल भनिन्थ्यो।
उनले नेपाल मण्डललाई छोराहरुमा अंश लगाएर राज्य टुक्र्याए पछि कान्तिपुर, भक्तपुर र ललितपुर नामका अलग अस्तित्वका राज्यहरु भए। अर्थात् पृथ्वीनारायण शाहले नेपाल राज्य विरुद्ध हतियार उठाउनु परेन,नेपाल बिरुद्ध युद्ध गरेर नेपाललाई पराजित गर्नु परेन।
पृथ्वीनारायण शाहले युद्धमा गोरखा राज्यलाई जिताए भने परिणममा नेपाल राज्यलाई ब्युँझाए। अस्तित्वमानै नभएको नेपाल राज्य सातवटा राज्य गाभिएर विशाल भएपछि किन पृथ्वीनारायणले नेपाल राज्य भनाए छलफल यसैमा केन्द्रीत गरौं।
नेपालको इतिहास कति लामो छ र राज्यको रुपमा नेपालको अस्तित्व कहिले स्थापित भएको हो? पृथ्वीनारायण शाहले एकीकरण गर्नुभन्दा पहिला कहिलेसम्म नेपाल थियो?
राज्यका सिमाना कहाँसम्म थियो? कुन राजाको नेतृत्वमा नेपाल शासित थियो आदि बारे खोजतलास गरियो भने पृथ्वीनारायणले किन अस्तित्वमा नै नभएको राज्य नेपालको नाम राखे भन्ने सवालको जवाफ निस्कन्छ।
नेपालको नाम कसरी रह्यो कहिले रह्यो भन्ने बारेमा पनि इतिहासकार एकमतमा छैनन्। यसमा अनेक मत पाइएका छन्। यो सत्य हो यस भूभागको कुनै खण्ड नेपाल नामले प्राचीन कालमा नै चर्चित थियो।
हिमवतखण्ड पुराणमा पनि नेपाल शब्द पाइन्छ। नेपाल माहत्म्यको पन्ध्रांै अध्यायमा नेपालको सिमाना समेत उल्लेखित भएको पाइन्छ। नेमुनिका नियम पालन गर्ने भएकोले नेपाल नाम रहन गएको भनिन्छ।
यति चाहिँ सत्य हो नेपालको केन्द्रीय भाग भने काठमाडौं उपत्यका नै थियो। यो पनि त्यतिकै सत्य हो केन्द्रीय भाग वा नेपाल उपत्यका मात्रै पनि होइन। यसको सिमाना पूर्वतिर सप्तकोशी नदी, पश्चिममा त्रिशुली नदीसम्म फैलिएको थियो। सिमाना बढ्ने र खुम्चिने क्रम अनेक राजाका पालामा जारी रहन्थ्यो।
हो पृथ्वीनारायणले राज्यहरु जोड्दा नेपाल थिएन तर नेपालको प्राचीन इतिहास र गरिमा भने थियो। पृथ्वीनारायणले गोरखाली फौजले जितेको हुनाले गोरखा नाम राख्न सक्थे। तर त्यसो पनि गरेनन्।
अरु राज्यका जनतालाई गोरखाबाट पराजित भाव आइरहन पनि सक्थ्यो। उनले त्यसो गर्न उचित ठानेनन्। राजधानी बनाएको कान्तिपुर वा काठमाडौं राख्नसक्थे त्यसले पनि व्यापकता दिँदैनथ्यो। त्यो पनि उचित ठानेनन्।
पृथ्वीनारायणको एकीकरण अभियानमा जोडिएका राज्यहरु गोरखा, मकवानपुर, कान्तिपुर (काठमाडौं) ललितपुर (पाटन) भक्तपुर (भादगाउँ) चौदण्डी,विजयपुरं मध्ये कुनै एक राज्यको नाम राख्न पनि सक्थे। तर त्यसले पनि हाम्रो राज्यको नाम किन नराख्ने भनेर बिवाद त भइरहन्थ्यो।
तर पृथ्वीनारायण शाहले अस्तित्वमा नभएको तर इतिहासमा भएको केन्द्रीय भाग राजधानी भएको सबैको लागि स्वीकार्य पनि हुने अपनत्व पनि हुने बिबादरहित साझा नाम नेपाल नै एकीकृत राज्यको नाम चुने। जनताले पनि नेपाल भने राजाले पनि नेपाल भने भन्दाभन्दै पुन एकीकृत भएको राज्यले लोप भएको राज्य र नाम एकैपटक पायो।
नेपाल नामले नेपालको प्राचीन इतिहासलाई पुनर्जिवित गराउँथ्यो। यसले नेपालको जीवन इतिहासलाई लामो बनाउँथ्यो। पृथ्वीनारायणले भनेको गोरखनाथ भन्नु र पशुपतिनाथ भन्नु एकै हुन् को मर्मलाई पनि समात्थ्यो।
पशुपतिनाथको काखमा रहेको कुनै समयको नेपाल राज्यलाई अझ विशाल रुपको एकीकृत राज्यलाई नेपाल नाममा पुनर्जिवन दिनु सबै किसिमले उचित ठानेको हुनपर्छ पृथ्वीनारायण शाहले। यसमा पृथ्वीनारायण शाहको दूरदर्शीत पनि देखिन्छ।
राज्यको नाम नेपाल रहनुमा पृथ्वीनारायण शाहको सोचाइको दायरा फराकिलो हुनु पनि एउटा महत्वपूर्ण कारण हो। यदि उनी संकिर्ण भएको भए एकीकृत नेपालको नाम नेपाल नभएर गोरखा हुनसक्थ्यो।
पृथ्वीनारायण शाह नाममा मात्र होइन कि झण्डामा पनि त्यतिकै उदार र दूरदर्शी देखिन्छन्। वैदिककाल, किरातकाल लिच्छवीकाल मल्ल कालमामा समेत त्रिकोण आकारको ध्वजा कुनै न कुनै रुपमा फहराइएको इतिहास भेटिन्छ। कुनैमा चन्द्र सूर्य भएको र कुनैमा नभएको पाइन्छ। जे भए पनि त्रिकोणत्मक झण्डाको इतिहास पनि नेपाल जस्तो अझ नेपाल भन्दा लामो छ।
मल्ल राजवंशका अन्तिम उत्तराधिकारी भक्तपुरका राजा रणजित मल्ल हुन्। भक्तपुर राज्यमा फहराइने ध्वजा अर्थात् झण्डा त्रिकोण आकारको चन्द्र सूर्य अंकित रातो रङको थियो। यहाँ पनि पृथ्वीनारायण शाह नेपाल नाममा जस्तै दूरदर्शी भए।
उनले गोरखाका शाह राजाले फहराउने झण्डा फहराउन अर्थात् नेपाल राज्यको झण्डा फहराउन लोभ गरेनन्। उनले इतिहासको लोभ गरे गरिमाको लोभ गरे। यतिलामो इतिहास र निरन्तरता भएको झण्डा सायदै अन्य विश्वमा होला।
अकारमा, रुपमा, चिन्हमा केही परिमार्जन भयो होला तर छुट्टै विशेषता भएको त्रिकोणत्मक आकारमा केही परिवर्तन भएन। जो अहिले हामी रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो भनेर गीत गाउँदै चन्द्र सूर्य अंकित झण्डा फहराउँदै आफूमा उर्जा भर्छौं। त्यो पृथ्वीनारायण शाहको उदार र दूरदर्शी निर्णयले सम्भव भएको हो।
प्राचीन ग्रन्थ पुराणमा समेत नाम भएको नेपाल र वैदिक कालमा फहराइएको त्रिकोणात्मक झण्डा आफैंमा गौरव हो। यो नेपाल नाम र झण्डा आफैंमा सम्मानित इतिहास र उचाई हो।
नेपाल नाम र त्रिकोणत्मक चन्द्र सूर्य अंकित झण्डा यो आफैंमा पुरातत्विक महत्वको प्राचीन सम्पदा पनि हो। यो आफैंमा विश्वको लागि पनि आश्चर्य हो। यति लामो इतिहास भएको नाम र झण्डामा गर्व गर्न पाउने विश्वमा विरलै देश छन्।
यसको यही गौरवशाली इतिहास र महत्व बुझेका बाह्य तत्वहरुले नेपालका केही नेता तथा दलहरुमा लगानी गरेर उक्साएर देशको नाम नेपाल हटाउने र अर्कै नाम राख्ने र झण्डा पनि फेर्ने अभियान चलाउन लगाए।
उनीहरुले यसै गरे संविधानसभाको निर्वाचनमा, संविधानसभा र यसका समितिहरुमा। त्यसको अलवा दलको वैठकमा सार्वजनिक सभा र अन्तरवार्ताहरुमा समेत यस्ता अभिव्यक्ति दिएका हुन्थे। उनीहरुले नेपालको नाम र झण्डा फेर्न भएभरको सबै तागत लगाए।
तर देशभक्त नेपाली जनताले देशको नाम नेपाल र चन्द्र सूर्य झण्डाको ऐतिहासिक गरिमा र महत्व पृथ्वीनारायण शाहले बुझे जस्तै बुझेका थिए। नेपाल नाम र नेपालको चन्द्र सूर्य अंकित झण्डा आम नेपालीको मनमा मुटुमा गाडिएको थियो। देशभक्त नेपाली जनताको व्यापक बिरोध र दबाबको कारणले नेपाल नाम हटाएर देशको नाम अर्को राख्न सकेनन्। त्यस्तै किसिमले झण्डा पनि फेर्ने आँट गर्न सकेनन्।
यस तथ्यले जाहेर गर्दछ कि पृथ्वीनारायण शाहले नेपाल एकीकरण मात्रै गरेनन् कि एकपल्ट बिलिन भएको नेपाललाई पुनर्जीवन पनि दिएका हुन्।
फराकिलो छाती बनाएर ऐतिहासिक महत्वको छुट्टै बनोट र आकार भएको मौलिक विशेषताको प्राचीन त्रिकोणात्मक रातो चन्द्र सूर्य अंकित झण्डालाई समेत नेपालको आधिकारिक झण्डा बनाएर देशको नाम र झण्डामार्फत पनि नेपालको गरिमालाई उच्च बनाए। नेपालले एकैपल्ट पुर्नएकीकरण र पुनर्र्जीवन पायो। यसको श्रेय पृथ्वीनारायण शाहलाई जान्छ।
हामी पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे मात्रै पढ्दै र भन्दै आएका छौं। तर उनले नेपाललाई पुनर्जीवन दिएको पढेका पनि छैनौ र भनेका पनि छैनौं।
तर अब पृथ्वीनारायणको नेतृत्वमा नेपालले एकीकृत हुन पनि पायो र पुर्नर्जीिवत हुन पनि पायो भनेर भन्नु पनि पर्छ पढ्नु पनि पर्छ। एकीकरणले भूगोल र भावनालाई जोड्यो भने नेपाल नामले इतिहास र सभ्यातालाई जोड्यो।
पृथ्वीनारायणको प्रभावशाली नेतृत्व र जनताको रगत,पसिना र बलिदानले नेपालले एकीकृत भएर विशाल हुन पायो भने पृथ्वीनारायणको उदार र दूरदर्शी चेतले नेपालले पुनर्जीवन पायो। र सदा चन्द्र सूर्य फहराएर देशभक्त नेपालीले नेपाललाई जीवन दिइरहेको हुनेछन्।
Facebook Comment