ट्रम्पविरुद्ध फैसला दिने न्यायाधीशलाई ज्यान मार्ने धम्की
काठमाडौं । कोलराडोमा राष्ट्रपति निर्वाचनको प्राइमरी मतदानमा डोनल्ड ट्रम्प उम्मेदवार बन्न नपाउने फैसला गर्ने न्यायाधीशहरूलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ।
डेन्भर प्रहरीका अनुसार न्यायाधीशहरूको घर भएको क्षेत्रमा अतिरिक्त गस्ती गर्न थालिएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआईको डेन्भरस्थित कार्यालयले स्थानीय प्रहरीलाई सहयोग गरिरहेको बताएको छ।
गत साता कोलराडोको सर्वोच्च अदालतले संयुक्त राज्य अमेरिकाको संविधानमा भएको एउटा प्रावधानअनुसार राजद्रोहमा संलग्न व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न नपाउने भन्दै ट्रम्पलाई चुनावका लागि अयोग्य ठहर गरेको थियो।
सात न्यायाधीशको इजलासले हेरेको मुद्दाको फैसला ४-३ ले ट्रम्पको विपक्षमा गएको थियो।
ट्रम्प र उनको अभियानले उक्त फैसलालाई “निकै त्रुटिपूर्ण” सङ्ज्ञा दिएका थिए।
ट्रम्पको निर्वाचन अभियानले अमेरिकाको सङ्घीय सर्वोच्च अदालतमा उक्त फैसलालाई चुनौती दिने घोषणा गरिसकेको छ।
अमेरिकी संविधानको चौधौँ संशोधनको तेस्रो खण्डमा आधारित भएर न्यायाधीशहरूले ट्रम्पलाई कोलराडोमा उम्मेदवार बन्न अयोग्य ठहर गरेका हुन्।
गृहयुद्ध टुङ्गिएपछि पुनरेकीकृत अमेरिकामा पृथक्तावादीहरूलाई फेरि शक्तिमा जान नदिन उक्त संशोधन गरिएको थियो।
उक्त प्रावधानका अनुसार “राजद्रोह वा विद्रोहमा संलग्न” अधिकारी सङ्घीय पदभार लिन अयोग्य हुन्छ।
कोलराडो सर्वोच्च अदालतको इजलासको बहुमतले सन् २०२१ को ज्यानुअरी २१ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाका बेला ट्रम्पका गतिविधिहरू राजद्रोहसरह भएको ठहर गरेको थियो।
ट्रम्पको विपक्षमा फैसला आएको समाचार सम्प्रेषित भएपछि न्यायाधीशहरूलाई लक्षित गरेर अनलाइन माध्यमहरूमा धम्की दिइएको ‘एड्भान्स डिमोक्रसी’ नामक अनुसन्धान समूहले जनाएको छ। कुनै दलसँग आबद्ध नभएको उक्त समूहले ट्रम्प समर्थकहरूको सञ्जालको निगरानी गर्छ।
धम्की दिइएका पोस्टहरूमध्ये केहीमा न्यायाधीशहरूसँग सम्बन्धित निजी विवरण उल्लिखित भएको एड्भान्स डिमोक्रसीले जनाएको छ। त्यस्ता विवरणमा न्यायाधीशहरूको ठेगाना र फोन नम्बर छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मा न्यायाधीशहरूलाई झुन्ड्याउने र गोली हान्ने धम्की पोस्ट गरिएको छ। त्यस्तै धम्की टेलिग्राम, ट्रम्पको स्वामित्वमा रहेको ‘ट्रूथ सोशल’ नेटवर्क र अरू सानातिन वेबसाइटमा छन्।
त्यस्ता केही धम्की हटिसकेका छन् भने मङ्गलवारसम्म अरू धम्की अनलाइन नै थिए।
शान्तिपूर्ण विरोध र राजनीतिक कारबाही गर्नुपर्ने आह्वान भइरहेको भए पनि केही व्यक्तिले हिंसा गर्न आह्वान गरेका थिए।
“यदि तपाईँ कोलराडोमा बस्नुहुन्छ भने [अमेरिकाका] संस्थापक नेताहरूले जे चाहेका हुन् त्यही गर्नुहोस्। राइफल र डोरी बोक्नुहोस्,” एक जनाले लेखेका छन्।
एउटा विज्ञप्ति प्रकाशित गर्दै डेन्भर प्रहरीले “धम्की वा उत्पीडनसँग सम्बन्धित विवरणको अनुसन्धान” गरिने बताएको छ। तर गोपनीयता र जारी छानबिनका कारण प्रहरीले थप विवरण दिएको छैन।
एड्भान्स डिमक्रसीका अध्यक्ष ड्यान्यल जे जोन्सले कोलराडो सर्वोच्च अदालतका न्यायाधीशहरू र उक्त फैसलामा संलग्न भएको ठानिएका अरूविरुद्ध आफूले “निकै हिंसक भाषा र धम्की आइरहेको” देखेको बताएका छन्।
“यस किसिमको हिंसक भाषालाई सामान्य ठानिनु ठूलो चिन्ताको विषय हो। अनि कानुन कार्यान्वयन गर्ने निकालले सुरक्षात्मक कारबाही गर्नु उपयुक्त हुन्छ,” उनले भने।
धम्की र हिंसाको चेतावनी तथा “गृहयुद्ध” को चर्चाबाहेक कानुन पालना गर्ने ट्रम्प समर्थकहरूलाई हिंसा गर्न उत्तेजित पार्ने प्रयासस्वरूप उग्र भाषा प्रयोग भइरहेको आरोप पनि केहीले लगाएका छन्।
“यो सबै जाल हो भन्ने मलाई थाहा छ,” एक जनाले लेखेका छन्। तर न्यायाधीशहरू योजनाबद्ध हिंसामा परेका भए आफू “रमाउने” हुने उनको भनाइ छ।
एउटा उदारवादी निगरानी समूह तथा ट्रम्पविरोधी रिपब्लिकन र स्वतन्त्र मतदाताहरूले कोलराडोमा मुद्दा हालेका थिए।
ट्रम्पले ज्यानुअरी ४ भित्र कोलराडो अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न सक्छन्।
विज्ञहरूका अनुसार परम्परावादी धारको सर्वोच्च अदालतले गर्ने छानबिन खेप्न ट्रम्पलाई त्यति सहज भने हुने छैन।
यो मुद्दामा रिपब्लिकन पार्टीभित्रका उनका प्रतिद्वन्द्वीहरू ट्रम्पको पक्षमा उभिएका छन्।
डेमोक्र्याटिक पार्टीका नेताहरू भने अदालतको फैसलाबाट न्यायिक प्रणालीको अन्यायपूर्ण तारोमा परेको भन्ने ट्रम्पको दाबी अझ चर्किन्छ कि भन्ने आशङ्कामा छन्।
गत सप्ताहान्तमा ट्रम्पले ‘ट्रूथ सोशल’मा दर्जनौँ पटक लेख्दै कोलराडो अदातलको फैसला र आफूविरुद्ध परेका अरू मुद्दाहरूको आलोचना गरेका छन्।
Facebook Comment