महोत्सवको आकर्षण स्थानीय उत्पादन

डिसी नेपाल
१३ पुष २०८० १३:३८

गलकोट (बागलुङ)। पछिल्ला समय मेला र महोत्सव आयातीत उत्पादन बिक्रीवितरणमा प्रेरित भइरहेका सन्दर्भमा बुधबारदेखि बागलुङमा सुरु भएको बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ।

महोत्सवको मुख्य मञ्चतर्फ ‘मेड इन बागलुङ’ नाम दिएर स्टलमा स्थानीय उत्पादनअन्तर्गत अल्लोका कपडा, नेपाली कागज, भाँगो, गुन्द्रक र सिस्नोको धुलोलगायतका सामग्री बिक्रीका लागि राखिएका छन्।

कृषि ज्ञानकेन्द्रको व्यवस्थापनमा स्थानीय उत्पादन र कृषिउपजको प्रदर्शनी समेतको व्यवस्था मिलाएको छ। उत्कृष्ट कृषिउपज प्रदर्शन गर्ने किसानलाई पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

महोत्सवमार्फत जिल्लाको पहिचान दिने तथा स्थानीय उत्पादनको बिक्रीसँगै प्रचारप्रसार गर्ने उद्देश्यले स्टल राखिएको रुद्रताल सामाजिक उद्यमी महिला सहकारी जैमिनी नगरपालिका-३ दमेकका अध्यक्ष चित्रा छन्त्यालले बताए। उनका अनुसार स्टलमा मकै, भटमास, आलु चिप्स, काँकोको गुन्द्रक, सिस्नोको पाउडर, मङ्सिरे सिमी र भाँगो बिक्रीका लागि राखिएका छन्।

“नगरपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा आलु चिप्स, सिस्नोको पाउडर र गुन्द्रुकको ब्राण्ड बनाएर बिक्रीका लागि महोत्सवमा आएका छौं। बिक्रीभन्दा हेर्नेको भीड छ। कम्तीमा प्रचारप्रसार होस् भन्ने हाम्रो चाहना छ”, छन्त्यालले भने, “महोत्सवले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर स्टल उपलब्ध गराएकामा धन्यवाद दिन चाहान्छौं।” मेलामा आउने धेरैले सिस्नोको पाउडर र बाँकोको गुन्द्रक लिने गरेका उनले बताए।

अध्यक्ष छन्त्यालका अनुसार सहकारीमार्फत स्थानीय उत्पादनको बजारीकरण गर्दा दमेकका महिलालाई आयआर्जनमा सहयोग पुग्नेछ। महोत्सवमा ताराखोला गाउँपालिकामा उत्पादित सेतो र रातो च्याउ, अल्लोको कपडा, धागो, नेपाली हाते कागज, आलु, मकै र सिल्टमुर लगायतका वस्तुलाई स्टलमा राखिएको छ।

गाउँपालिकाको ताराखोला उद्यम विकासअन्तर्गत स्थानीयस्तरमा उत्पादन भएका अग्र्यानिक वस्तुको बजारीकरण गर्न बागलुङ बजार आएको उद्यम विकास सहजकर्ता निरु घर्तीले बताए। उनका अनुसार ताराखोलामा पाइने स्लेट ढुङ्गाको समेत प्रदर्शनीमा राखिएको छ।

“कतिपयलाई यहाँको स्थानीय उत्पादनका बारेमा जानकारी नभएर बजार नपाएको हुनसक्छ। महोत्सवमा बिक्रीसँगै प्रचारप्रसार मुख्य कुरा हो। यसले प्रदर्शनीमा राखिएका स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्नेछ। आगामी नौ दिनमा स्थानीय उत्पादनको बिक्री राम्रो हुनेछ भन्नेमा आशावादी छौं”, घर्तीले भने, “मुख्य स्टल नै स्थानीय उत्पादनका भएकाले धेरैले चासो दिएर खरिद गर्ने र जानकारी लिने गर्नुभएको छ।”

महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको महत्त्व बढाउन सहज हुने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए। महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै जिल्लामा पाइने भाँगो, गुन्द्रक र रातो च्याउलाई नेपालभर चिनाउन आवश्यक रहेको उनले बताए।

महोत्सवमा एक सय २० भन्दा बढी स्टल छन्। महोत्सव अवधिभर १० करोडको कारोबार गर्ने लक्ष्य आयोजकको रहेको छ भने करिब सात लाख दर्शक भित्रिने अपेक्षा गरिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *